Successfully Copied

महिनावारी किन गडबड हुन्छ ?

सिनामंगलकी १९ वर्षीया सृष्टि कार्कीको महिनावारी जहिले पनि ३ महिनाको फरकमा हुन्छ । उनको जस्तो समस्या धेरै किशोरीलाई हुन्छ । यसैगरी बालाजुकी कृषा प्रधानको पहिलो महिनावारी भएपछि दुई महिनाको अन्तरमा हुने गरेको छ । यसमा आत्तिहाल्नुपर्ने स्थिति नभएको स्त्री तथा प्रसूति रोग विशेषज्ञ

सिनामंगलकी १९ वर्षीया सृष्टि कार्कीको महिनावारी जहिले पनि ३ महिनाको फरकमा हुन्छ । उनको जस्तो समस्या धेरै किशोरीलाई हुन्छ । यसैगरी बालाजुकी कृषा प्रधानको पहिलो महिनावारी भएपछि दुई महिनाको अन्तरमा हुने गरेको छ । यसमा आत्तिहाल्नुपर्ने स्थिति नभएको स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. उर्मिला कार्की बताउँछिन् । हार्मोनको असन्तुलनका कारण यस्तो भएको डा. कार्कीले बताइन् । उनका अनुसार इन्डोक्राइन ग्ल्यान्डले उत्सर्जन गर्ने हार्मोनको सन्तुलन बिग्रिए महिनावारी गडबड हुन्छ । कहिलेकाहीँ खानपान तथा बसाइ सराइका कारण पनि महिनावारी गडबड हुन्छ । पोषण तथा सन्तुलित खानाको अभावमा महिलाहरू कमजोर हुन्छन् साथै धेरै मोटाउँदा तथा दुब्लाउँदा पनि शरीरमा महिनावारी गराउने तत्व घटबढ भै महिनावारी अनियमित हुन्छ । 

यसैगरी तनावका कारण पनि महिनावारीमा उतारचढाव आउँछ । बढी तनाव हुँदा पनि महिनावारीमा उतारचढाव आउँछ । पाठेघरको विभिन्न समस्याका कारण पनि महिनावारी गडबड हुन सक्छ । महिनावारी सुरु भएको ४–५ वर्षसम्म यस्तो समस्या पर्न सक्छ । महिनावारी सुक्नुभन्दा १–२ वर्ष पहिले पनि गडबडी देखा पर्न सक्छ । यसमा आत्तिनुपर्ने अवस्था भने नभएको डा. कार्की बताउँछिन् । 

अहिले धेरै महिलाले आकस्मिक गर्भनिरोधक चक्की प्रयोग गर्न थालेका छन् । परिवार नियोजनका साधनको प्रयोगले महिलाको महिनावारी छिटो तथा ढिलो हुने र रगत धेरै बग्ने यसको प्रयोग गर्ने महिलाहरूको अनुभव छ । यस्ता साधनको बढ्दो प्रयोगले महिनावारी गडबड हुनुका साथै अन्य स्वास्थ्य समस्या पनि देखापर्ने सम्भावना हुन्छ । 

कुनै महिलाको महिनावारी २८ दिनमा भैरहेको थियो तर कुनै महिना १० दिन ढिला भए त्यसलाई गडबडी मानिन्छ । कसैको महिनावारी ३५ दिनमा हुने गरेको छ भने अर्को महिना पनि ३५ दिनमै भए त्यसलाई गडबडी मानिँदैन । महिनावारी ३–४ दिन तलमाथि हुनुलाई गडबडी मानिँदैन । अनियमित महिनावारीले जीवनमा असर पार्ने भएकाले यसबाट जोगिन पोषण तत्व तथा सन्तुलित खानामा ध्यान पुर्‍याउनुपर्छ । कहिलेकाहीँ मधुमेह तथा थाइराइडले गर्दा पनि महिनावारी तलमाथि पर्न सक्छ । त्यसैले समय–समयमा यसको जाँच गराउनुपर्छ भने तनावमुक्त जीवन जिउनुपर्छ ।

कतिपय अवस्थामा महिला खेलाडीहरूले महिनावारी रोक्ने औषधि सेवन गर्छन् । शारीरिक व्यायामका कारण पनि यस्ता महिलाको महिनावारी गडबड हुने गरेको छ । एस्ट्रोजन तथा प्रोजेस्टेरोन हार्मोनको कमीका कारण पनि महिनावारी गडबड हुन्छ । 

 Image