मौसम परिवर्तनसँगै घरपालुवाको रेखदेखमा पनि परिवर्तन ल्याउनुपर्ने हुन्छ । चिसोका कारण घरपालुवामा विभिन्न किसिमका समस्या देखा पर्छन् । स्वास्थ्यका कतिपय समस्या जाडो महिनामा मात्र देखिन्छन् । जाडो महिना सुरु हुनुअघि जसरी हामी आफ्ना लागि न्याना ओढ्ने, ओछ्याउने तथा पहिरनको प्रबन्ध मिलाउछौं त्यसैगरी घरपालुवाका लागि पनि न्यानो वासस्थान, लुगा तथा ताजा खानेकुराको व्यवस्था गर्नुपर्छ । साना तथा पाका उमेरका घरपालुवाको स्याहार चुनौतीपूर्ण हुन्छ ।
हुन त प्रकृतिले प्रत्येक जनावरलाई चिसोबाट जोगिन त्यहीअनुरूपको क्षमता प्रदान गरेको हुन्छ । यद्यपि घरपालुवा जनावरमा चिसोसँग लड्ने क्षमता कम हुन्छ । त्यसैले पनि जाडोमा घरपालुवाको रेखदेखमा विशेष ध्यान पुर्याउनु आवश्यक छ ।
जाडोमा घरपालुवा जोगाऔं
घरपालुवालाई जाडोमा हुने समस्या
निमोनियाँ : चिसोले छाउरा–छाउरी तथा पाका उमेरका कुकुर–बिरालामा यो समस्या देखिनसक्छ ।
बाथ रोग : पाका उमेरका घरपालुवामा जोर्नीसम्बन्धी समस्या देखा पर्नसक्छ ।
मोटोपन : शारीरिक परिश्रम कम तथा पोषिलो खाना धेरै हुँदा जाडोमा
मोटोपन बढ्छ ।
छालाको समस्या : छाला सुख्खा हुनुका साथै चायाँ आउने समस्या हुनसक्छ ।
पानीको कमी : वातावरण चिसो हुनाले घरपालुवाले कम पानी खान्छन् भनेर पानी नदिँदा उनीहरूको शरीरमा पानीको कमी हुन्छ ।
आगोले पोल्ने : जाडोमा आगो, बिजुली एवं हिटरको राम्रो व्यवस्थापन नहुँदा
दुर्घटना हुनसक्छ ।
डा.शरद सिंह यादव
एडभान्स्ड पेट हस्पिटल
विशालनगर, काठमाडौं