Successfully Copied

पुष अंकको नारी अंकलाई प्राप्त चिठी

नारी पत्रिकाले प्रकाशित गर्ने हरेक कुरा महिलाका लागि प्रेरणादायी छन् । त्यसैले म नारी नियमित रूपमा पढ्छु।

नारी पत्रिकाले प्रकाशित गर्ने हरेक कुरा महिलाका लागि प्रेरणादायी छन् । त्यसैले म नारी नियमित रूपमा पढ्छु ।  

प्रतिमा थापा, जोरपाटी 

नारीले उदाहरणीय काम गर्ने नेपाली महिलाका विषयमा धेरैभन्दा धेरै जानकारी प्रदान गर्नु राम्रो हो तर कतिपय महिला नारीमा नियमितजसो आइरहनु र नयाँ कोही नभएजस्तो गरिनु भएन । उदाहरणीय काम गर्ने नयाँ–नयाँ महिलाहरूको खोजी गरेर उनीहरूलाई थप हौसला तथा पाठकवर्गलाई प्रेरणा दिने काम गर्नु नारीको दायित्व हो ।

शीताष्मा न्यौपाने, बाग्लुङ

गतांकको नारीमा प्रकाशित विवाहसम्बन्धी लेख–रचनाहरू उपयोगी छन् ।

वसुधा वाग्ले, नुवाकोट

गत महिना नारीमा प्रकाशित विवाहका राम्रा–नराम्रा पक्ष विषयक बहस सान्दर्भिक छ ।  

बालिका केसी, नेपालटार

नारी टिप्स तथा प्रश्नोत्तरको विषय अर्थात् क्षेत्र अझ बिस्तार होस् ।

सुनीता नेवा, गल्कोपाखा, काठमाडौं

नारी पत्रिकाले मूल्य वृद्धि गरेर भए पनि तस्बिर तथा कागजको गुणस्तरमा सुधार ल्याउनुपर्‍यो । 

रीता कायस्थ, त्रिपुरेश्वर

नेपाली महिलाहरूमा चेतनाको विकास गराउने कुरामा नारीले अझ बढी काम गर्नुपर्ने खाँचो छ ।   

सविता बगाले, एकान्तकुना

नारी पत्रिकाले समेट्न खोजेका हरेक कुरा उपयोगी एवं ग्रहणशील छन् । विशेषगरी तस्बिर प्रकाशित गर्दा त्यसको गुणस्तरमा ध्यान दिनु आवश्यक छ । 

शिला बम्जन, काभ्रे 

उपत्यकाबाहिरका क्रियाकलापलाई ठाउँ दिनुपर्‍यो 

म नारीको नियमित पाठक हँु । यद्यपि मलाई यो पत्रिकाका केही कुरा खट्किन्छन् । मुख्य कुरा त नारी राजधानी केन्द्रित देखिन्छ । यसमा राजधानीकै क्रियाकलाप बढी समेटिएका हुन्छन् । उपत्यकाबाहिरका कामकुरा कमै प्रकाशित हुन्छन् । उपत्यकाबाहिर बसेर संघर्ष गरिरहेका नारीहरूलाई समेट्न सके नारीको दायरा फराकिलो हुने थियो भने राजधानीबाहिरका महिलाहरूले पनि पत्रिकामा अपनत्व भेट्ने थिए । तसर्थ  नयाँ स्तम्भहरू थप गरेर भए पनि नारीलाई अझ रोचक एवं पठनीय बनाउन मोफसलका कार्यक्रम तथा त्यहाँ बसेर काम गर्ने महिलालाई स्थान दिइनु आवश्यक छ ।

राजधानी तथा राजधानीबाहिर आयोजना हुने महिलासम्बन्धी कार्यक्रमका झलक तथा जानकारीहरू बढीभन्दा बढी समेटेर महिलाहरूको प्रिय पत्रिका नारीलाई अझ सशक्त बनाउन सके यसले थप लोकप्रियता प्राप्त गर्न सक्थ्यो कि ? नेपाली नारीवर्गको जीवनशैलीलाई आकर्षक ढंगले प्रस्तुत गरेर, मनोरञ्जक समाचार एवं विविध जानकारी थपेर तथा देशका कुनाकुनाबाट टाउको उठाई आफ्नो गर्विलो इतिहास कोर्ने सपना बोकेका महिलाहरूका क्रियाकलाप समेटेर नारीलाई थप आकर्षक बनाउन सकिन्छ ।

स्वस्तिका भँडेल, दाङ

राजनीतिक लेख पनि प्रकाशित गरियोस्

म नारीको नियमित पाठक हुँ । मलाई राजनीतिप्रति चासो छ तर नारीमा राजनीतिसम्बन्धी लेख–रचना पढ्न नपाउँदा खल्लो लाग्छ । नारीजस्तो नं. १ महिला पत्रिकाले महिला भनेका सौन्दर्य प्रसाधन प्रयोग गर्ने वा कोरा अधिकारवादी मात्र हुँदैनन् भन्ने कुरा बाहिर ल्याउनुपर्‍यो । चर्चित महिला राजनीतिकर्मीका बारेमा जानकारी प्रदान गर्नुपर्‍यो ।

जब राजनीतिक रूपमा सचेत भइन्छ तब मात्र वास्तविक विकास हुन्छ भन्ने कुरा महिलाहरूलाई बुझाउनुपर्‍यो किनभने आजका महिला राजनीतिमा निकै रुचि राख्न थालेका छन् । अबदेखि सम्भव भएसम्म विचार पृष्ठमा नियमितजसो महिला अधिकारका कुरा मात्र नराखेर राजनीतिका विषयमा चर्चा होस् । यसले राजनीतिक चेतना बढाउन मद्दत गर्नुका साथै अरू पत्रिका नपढ्ने महिलाहरूले समेत राजनीतिक ज्ञान हासिल गर्न सक्नेछन् जसलाई पूरा गर्ने दायित्व नारी मासिकले लिनुपर्छ ।

कृति पाठक, गोंगबु, काठमाडौं

पुरुषको साथ आवश्यक  

आधुनिक महिलाका लागि पछिल्ला दिनमा सिर्जित जिम्मेवारी जीवनकै ठूलो चुनौती बन्दै गएको छ । केही वर्ष पहिलेसम्म पनि महिलाहरू परम्परा, मान्यता एवं संस्कारमा बाँधिएर धेरै कुरा सहेर बस्थे तर आज महिलाहरू त्यस्ता मान्यताबाट टाढिँदै गएका छन् । यस्तै तिमी नभए अरू कोही, यो नभए अरू केही भन्ने फर्मुलामा विश्वास राख्ने आजका महिला हिजोआज एउटै सम्बन्धमा बाँधिन वा रोकिन नचाहेको स्थिति विकास हुँदैछ । समाजमा बढ्दो सम्बन्धविच्छेदको प्रमुख कारण पनि महिलाहरूको अधैर्य हो भन्न थालिएको छ ।

साथै आममहिलाको मानसिकतामा आएको परिवर्तन, जागरुकता, आर्थिक रूपमा आत्मनिर्भर भएकाले स्वनिर्णयको क्षमता बढ्नु आदिलाई महिलाको धैर्य कम हुनुको कारण मान्न थालिएको छ । के हाम्रा आधुनिक महिलाहरू जिम्मेवारी पूरा गर्न नसक्ने भएकै हुन् त ? जिम्मेवारी बढेकै कारण चिडचिडापन, फ्रस्टेसन तथा डिप्रेसनजस्ता समस्या बढ्दै गएका हुन् त ? हो भने पनि यसको सजिलो उत्तर भनौं वा उपाय के हुनसक्छ भने महिलालाई आधुनिक बनाउन पुरुषले पनि उत्तिकै साथ दिनुपर्छ ।

पुरुषहरूले महिलाको प्रगतिबाट आफूलाई हीन सम्झने तथा उनीहरूको कुरा काट्ने नभै सहयोगी भूमिका निर्वाह गर्नुपर्छ अनि मात्र आधुनिक महिलाले आफ्नो जिम्मेवारी सहजतापूर्वक पूरा गर्नसक्छन् । यसबाट सुखी एवं समुन्नत समाजको परिकल्पना पनि साकार हुन्छ । समाजमा महिला र पुरुष प्रतिस्पर्धी नभै सहयात्री हुन् भन्ने चेतना फैलाउनु आवश्यक छ अन्यथा यसको घातक परिणाम देखा पर्नसक्छ ।

कालिका विडारी, सीतापाइला

 Image