Successfully Copied

बलिउड अभिनेतृको फिटनेस फर्मुला

महिला सौन्दर्यमा जिरो फिगरको विशेष महत्व हुन्छ । यद्यपि यस्तो फिगर बनाउन र त्यसलाई कायम राख्न भने त्यति सहज छैन । यही असहजतामाथि विजय प्राप्त गरेर बलिउड अभिनेतृहरू आफूलाई सधै फिट एण्ड फाइन राख्छन् ।

महिला सौन्दर्यमा जिरो फिगरको विशेष महत्व हुन्छ । यद्यपि यस्तो फिगर बनाउन र त्यसलाई कायम राख्न भने त्यति सहज छैन । यही असहजतामाथि विजय प्राप्त गरेर बलिउड अभिनेतृहरू आफूलाई सधै फिट एण्ड फाइन राख्छन् । 

सोनमको फिटनेस एडिक्सन 

स्टाइलिस अभिनेतृ सोनम कपूरको ध्यान अभिनयमा जति केन्द्रित छ उति नै फिटनेसमा पनि । सोनमले भन्ने गरेकी छिन्–‘फिटनेस मेरो एडिक्सन हो ।’ उनी हप्तामा चार दिन वेट ट्रेनिङका साथ योग पनि गर्छिन् । योगले आफूलाई मानसिक रूपमा शान्ति प्रदान गर्ने कुरा सोनमले बताएकी छिन् । उनी नियमित रूपमा कार्डियो र डान्स पनि गर्छिन् । 

नृत्य एवं पौडी त सोनमको रुचि नै हो । यी दुवैले उनको फिटनेस मेन्टेन गर्न सहयोग पुर्‍याएका छन् । त्यसो त फिटनेसका लागि सोनमले घरमै सानो जिम बनाएकी छिन्, जहाँ उनी बिहान र साँझ व्यायाम गर्छिन् । उनको रुचि वर्क आउटमा छ । सोनम खानपानमा ध्यान दिन्छिन् । त्यसैले उनले आफ्नो शरीरलाई उपयुक्त आकारमा ढाल्न सकेकी हुन् । 

सोनमले फिटनेस आफ्नो जीवनको हिस्सा भएको बताएकी छिन्, जसले उनलाई व्यक्तित्व र सुन्दर लुक दिएको छ । 

सोनम दिनको प्रारम्भ नै फिटनेसबाट गर्छिन् । उनी ३० मिनेट कार्डियो गर्छिन् । त्यसपछि एब्स र मसल्सको व्यायाम गर्छिन् । हरेक दिन नृत्य अभ्यासमा जुट्छिन् । जुन दिन फुर्सद हुन्छ, घरमै आराम गरेर बस्छिन् । उनलाई लाग्छ–शरीरलाई आरामको पनि आवश्यकता हुन्छ । 

आउटडोर गेममा श्रद्धा  

फिटनेसको चर्चा गर्दा छुटाउन नहुने अर्को नाम हो–श्रद्धा कपूर । बिहान र मध्यान्हको समयमा वर्क आउट गर्न रुचाउने श्रद्धा डाइट चार्टअनुरूप स्वस्थ, सन्तुलित र नियन्त्रित खाना खान्छिन् । 

श्रद्धाले ब्रेकफास्टका रूपमा  एकदमै थोरै तेलमा बनाइने दक्षिण भारतीय परिकार उपमा तथा अण्डाको सेतो भागको अमलेट खाने गरेकी छिन् । खानामा चिया, हरियो तरकारी र दाल खान्छिन् । लन्चमा ब्राउन राइस र फिस करी पनि हुन्छ । श्रद्धा हरेक दुई घन्टाको अन्तरमा केही न केही खाइरहेकी हुुन्छिन् । 

श्रद्धा विद्यार्थी जीवनमा एथलेटिक्सकी राम्री खेलाडी थिइन् । उनी बास्केटबल र हेन्डबलमा पनि दख्खल राख्छिन् । अहिले पनि मौका मिल्नासाथ आउटडोर गेम खेल्छिन् । उनी जिम जानुभन्दा आउटडोर गेम खेल्न रुचाउँछिन् । 

ग्रिन टीमा रमाउने सोनाक्षी 

‘दवंग गर्ल’ सोनाक्षी सिन्हाको वजन ९० किलो थियो, जतिबेला उनले फिल्मी करियर सुरु गरेकी थिइनन् । यद्यपि जब सलमान खानको को–स्टारका रूपमा ‘दवंग’ मा देखा परिन्, उनी निकै स्लिम देखिइन् । आखिर यो कसरी सम्भव भयो ? सोनाक्षीले त्यसको रहस्य पनि खोलेकी छिन् । 

नियन्त्रित खानपान र नियमित वर्क आउटले नै आफू ‘फिट एण्ड फाइन’ बनाएको सोनाक्षीले बताएकी छिन् । सोनाक्षीको ब्रेकफास्टमा गहुँको टोस्ट र दूध हुन्छ । ११ बजेपछि उनी केही ड्राइ फुड र ग्रिन टी पिउँछिन् । उनलाई लाग्छ–ग्रिन टीले तौल घटाउँछ र छाला पनि राम्रो बनाउँछ । लन्चमा उनी रोटी, तरकारी र फ्रेन्च सलाद खान्छिन् । साँझ फलफूलका साथ ग्रिन टी पिउँछिन् ।  

सोनाक्षीले चिल्लो वा मसालेदार खानेकुरा कटौती गरेकी छिन् । उनी चामल र मिठाईं खाँदिनन् भने रक्सी र चुरोटको सेवनबाट टाढै रहन्छिन् । उनले नियन्त्रित खानपानका साथै वर्क आउट र व्यायामलाई पनि उत्तिकै महत्व दिएकी छन् । तौल नियन्त्रण गर्न, मोटोपन घटाउन र शरीरलाई चुस्त राख्न नियमित रूपमा व्यायाम गर्छिन् । सोनाक्षी बिहान उठेपछि वेट लस ट्रेनिङ गर्छिन् । 

योग क्रेजी करिना 

युवतीहरूको सौन्दर्यको मानक हो–जिरो फिगर । जब जिरो फिगरको प्रसंग आउँछ, कुनै न कुनै रूपमा करिना कपूर जोडिन्छिन् । फिल्म ‘टसन’ मा उनको जिरो फिगरले युवतीहरूमाझ बहस नै सिर्जना गरेको थियो । उनको त्यो लुक्स देखेर कतिपय युवती आफूलाई जिरो फिगरमा ढाल्न लालायित भए । बलिउडमा जिरो फिगरको चलन नै करिनाबाट प्रारम्भ भएको मानिन्छ । 

करिना फिटनेस विज्ञको सेड्युलअनुसार वर्क आउट गर्छिन् । जुन समय करिना धेरै व्यस्त रहन्छिन् तब केवल प्राणायाम र योगासन गर्छिन् । उनी एकै समयमा ५० पटकसम्म सूर्य नमस्कार गर्न सक्छिन् भने हरेक आसनमा ३० सेकेन्डभन्दा बढी टिक्न सक्छिन् । 

करिना बिहान उठ्नासाथ तातोपानी पिउँछिन् । त्यसमा मह र कागती मिसिएको हुन्छ । त्यसको केही समयपछि ग्रिन टी पिउँछिन् । उनको ब्रेकफास्ट अलि हेभी हुन्छ । त्यसपछि हरेक दुई घन्टामा केही न केही खाइरहन्छिन् । फिल्म सुटिङमा घरबाटै ड्राइ फ्रुट्स, चना आदि लान्छिन् । मध्याह्नमा उनी नरिवलको अचारसँग डोसा खान्छिन् । साँझको खानामा सेन्डबिच, राति ओलिभ ओयल र फ्रेस सससँग स्पाइगेटी हुन्छ । करिना सुत्नुभन्दा दुई घन्टाअघि नै खाना खान्छिन् । 

कंगनाको व्यायाम र सन्तुलित खाना

कंगना रणावत बिहान चाँडै उठेर पावर योग, प्राणायम तथा ध्यान गर्छिन् अनि त्यसपछि मार्सल आर्टको अभ्यास गर्छिन् । स्टामिना बढाउन उनी किक बक्सिङ पनि खेल्छिन् । कंगना व्यायाम र सन्तुलित भोजनमा निकै ध्यान दिन्छिन् । 

हप्तामा चार दिन जिम जान्छिन् जहाँ स्ट्रेथ ट्रेनिङ, कार्डियो गर्छिन् । कंगना हरेक दिन ४५ मिनेट योग गर्छिन् भने १० मिनेट मेडिटेसन गर्छिन् । जिमले भन्दा योगले शरीरलाई फिट राख्ने उनको विश्वास छ । योगगुरु सूर्यनारायणले उनलाई विगत ९ वर्षदेखि योग सिकाइरहेका छन् । राम्रो स्वास्थ्यका लागि ७–८ घन्टा राम्रोसँग निदाउँछिन् । 

लन्चमा उनी उमालेको तरकारी, सलाद, दाल, भात वा रोटीका साथ चिकेन खान्छिन् । रातको खाना पनि यस्तै हुन्छ । सुत्नुभन्दा तीन घन्टाअघि नै खाना खाने उनको बानी छ । 

फिटनेस आइकन दीपिका 

नायिका ज्याकलिन फर्नान्डिसले दीपिका पादुकोणलाई फिटनेस आइकन भनेकी छिन् । हुन पनि दीपिका जिममा प्रशस्त वर्क आउट गर्छिन् । फिटनेसका सम्बन्धमा उनको सामान्य फन्डा छ–‘हेल्दी खाऔं–हेल्दी रहौं ।’ उनी फिटनेसलाई स्लिम हुनु मात्र होइन, शारीरिक रूपमा बलियो हुनु भनेर अथ्र्याउँछिन् । व्यायामका साथै स्वस्थ खानपानले नै आफूलाई फिट एण्ड फाइन राखेको उनको भनाइ छ । 

स्टाइलिस अभिनेतृ दीपिका फिटनेसका लागि ब्याडमिन्टन खेल्छिन् । उनी ब्रेकफास्टमा अण्डाको सेतो भाग र टोस्ट खान्छिन् । त्यसको दुई घन्टापछि फलफूल खान्छिन् । लन्चमा रोटी, सागपात र दाल हुन्छ भने साँझ स्यान्डबिच खान्छिन् । दीपिकाले डिनरमा चिकेन, तरकारी तथा रोटी खाने गरेकी छिन् ।

 Image