Successfully Copied

बदलिँदो तस्बिर

निकै माया–प्रेमले हुर्काएर बढाएका चेलीलाई विवाह गरेर बिदा गरिन्छ । जन्मघरबाट कर्मघर जाँदा चेलीको मनमा अनेकौं प्रश्न हुन्छन् ।

निकै माया–प्रेमले हुर्काएर बढाएका चेलीलाई विवाह गरेर बिदा गरिन्छ । जन्मघरबाट कर्मघर जाँदा चेलीको मनमा अनेकौं प्रश्न हुन्छन् । नयाँ परिवेश तथा नयाँ परिवारमा हरेक कुरालाई आत्मसात् गर्न कठिन हुन्छ तर अहिले पहिलेजस्तो आफ्ना विवाहित छोरीलाई पराइ मानिँदैन किनभने समयसँगै यस्ता धेरै कुरामा ठूलो परिवर्तन देखा परिसकेको छ ।

सकारात्मक परिवर्तन

समयको गतिसँगै आमाबुवाले छोराछोरीलाई हेर्ने दृष्टिकोणमा पनि परिवर्तन आएको छ । आजका छोरीलाई निकै माया तथा स्नेहका साथमा लालनपालन गरिन्छ । उनीहरूको लालनपालन छोरासरह नै हुन्छ । अभिभावकहरू आफ्ना चेलीको शिक्षा तथा करियरमा विशेष ध्यान दिन्छन् । आजका छोरीहरू शिक्षित तथा आत्मनिर्भर हुन्छन् । उनीहरू जीवनसँग जोडिएका महत्वपूर्ण निर्णय गर्न पनि सक्षम भैसकेका छन् । त्यसैले सासू–ससुराले आफ्नी बुहारीलाई हेर्ने दृष्टिकोण परिवर्तन गरेका छन् ।

अहिले आत्मविश्वासी छोरीहरू विवाह गरेर कर्मघर जान हिच्किचाउँदैनन् । पहिले कुरा छिन्ने बेलामा मात्र भेटघाट भएर विवाह तय हुन्थ्यो तर अहिले भने भेटघाट तथा राम्रोसँग चिनजान भएपछि मात्र विवाह गरिन्छ । त्यसैले नयाँ वातावरणमा भिज्न समय लाग्दैन । अहिले इन्टरनेट तथा इमेलले संसारलाई निकै सानो बनाएको छ तसर्थ हरेक कुरामा दूरी कम भएको छ । 

सम्बन्धको संवेदनशीलता 

समयका साथसाथै सम्बन्धप्रतिको संवेदनशीलता पनि बढिरहेको छ । अहिलेको पुस्ताले आफ्नो भावी पुस्ताबाट बढी आशा राख्दैन । त्यसैले पारिवारिक सम्बन्धमा सहजता कायम रहन्छ । अहिले परिवारमा एक–दुई बालबालिका हुन्छन् । छोराछोरीको बीचमा कुनै भेदभाव हुँदैन । समयका साथमा जागरुक र शिक्षित हुँदै जाँदा सम्बन्ध पनि सहज हुँदै गएको छ ।

अहिले सासूहरू आफ्नी बुहारीको भावना बुझ्ने प्रयास गर्छन् । त्यसैले विवाहपछि युवतीहरूलाई नयाँ वातावरणमा घुलमिल हुन सजिलो भएको छ । आवश्यकता तथा कुनै समस्या आए उनीहरू सीधै गएर आफ्ना सासू–ससुरालाई बताउन धक मान्दैनन् जुन कुरा पहिले कल्पना पनि गर्न सकिँदैनथ्यो । अहिलेका युवतीहरू माइती तथा घरको सम्बन्ध सहज बनाउन सक्षम छन् । 

व्यस्त जीवनशैली

अहिलेको अति व्यस्त महानगरीय जीवनशैलीमा केही समस्या पनि उत्पन्न भएको छ । यसले मानिसहरूलाई मेसिनजस्तै बनाएको छ । अहिले सासू–ससुराले आफ्ना छोरा तथा बुहारीलाई कुनै प्रतिबन्ध लगाउँदैनन् । निजी जीवनमा हस्तक्षेप गर्दैनन् । उनीहरू युवालाई आफ्नो ढंगले जिउन पूरै स्वतन्त्रता दिन्छन् । अहिले कसैलाई बिनाकाम सल्लाह दिने फुर्सद पनि छैन । पहिले छोरीलाई माइती जान पनि निकै सकस हुन्थ्यो तर अहिले त्यस्तो रोकतोक हुँदैन ।

पहिलेका बुहारीहरू माइत जान सधैं आतुर हुन्थे तर अहिले स्थिति त्यस्तो छैन ।  त्यसैले अहिलेका बुहारीहरू निश्चिन्त भएर आफ्नो जिम्मेवारी बहन गर्न सक्छन् । आफ्नो एवं आफ्नो घरको जिम्मेवारी राम्रोसँग वहन गर्न सक्छन् । 

हेरचाह तथा आदान–प्रदान 

अहिले पुरानो पुस्ताले केही प्राप्त गर्न केही दिन पनि जान्नुपर्छ भन्ने कुरा बुझिसकेको छ । नयाँ पुस्तालाई माया दिनुपर्छ भन्ने कुरा जानेको छ । यसका साथै छोराछोरीले पनि आफ्ना आमाबुवाको मन राम्रोसँग बुझेका छन् । आजका सन्ततिसँग समय नभए पनि उनीहरू आफ्ना आमाबुवालाई स्याहार गर्न उनीहरूको हेरचाहमा कतै चुक्दैनन् । आजका सासूहरूले पनि बुहारीलाई छोरीको दर्जा दिइसकेका छन् । उनीहरूको पनि आफ्ना आमाबुवाप्रति जिम्मेवारी रहन्छ भन्ने कुरा थाहा छ ।

कतिपय परिवारमा छोरी मात्र हुन्छन् र उनीहरूले घर तथा माइतीको व्यवहारलाई समान रूपले हेर्नुपर्छ । त्यसका लागि घरपरिवारबाट बुहारीले सहयोग पनि पाइरहेका छन् । सम्बन्धका लागि अहिले पुरानो तथा नयाँ पुस्ताको सहकार्य एवं मायाको आदान–प्रदान निकै राम्रो मानिएको छ ।

 Image