Successfully Copied

वर्क आउटका लागि सही आउटफिट

मौसम, ठाउ अनुकुल पहिरन लगाउने चलन छ ।

मौसम, ठाउ अनुकुल पहिरन लगाउने चलन छ । जाडो मौसममा बाक्ला तथा न्याना पहिरन तथा गर्मी मौसममा पातला तथा हल्का पहिरन लगाइन्छ । यसैगरी एक्सरसाइज गर्ने बेलामा सही फिटिंग आउटफिट लगाउनु जरुरी हुन्छ । यसो गर्दा आरामदायी रुपमा एक्सरसाइज गर्न सकिन्छ । साथै एक्सरसाइज गर्ने समयमा हुने असहजताबाट बच्न सकिन्छ । वर्कआउटका लागि कस्ता पहिरन लगाउनुपर्छ भन्ने कुरामा ध्यान दिनु जरुरी भएको फिटनेस प्रशिक्षक अञ्जु घिमिरे बताउँछिन् । 

एउटा शोधका अनुसार ४५ प्रतिशत मानिस एक्सरसाइज तथा वर्कआउट गर्ने समयमा सही पहिरन लगाउदैनन् । यसले गर्दा हिड्दा असहज हुनुका साथै एक्सरसाइजमा पनि ध्यान जादैन । उचित पहिरन लगाउँदा मात्र वर्कआउटमा ध्यान जान्छ । तसर्थ शरिर तथा पहिरनको बीचमा ब्रिदिङ स्पेस हुनुपर्छ । 

फेब्रिक 

वर्कआउटको समयमा पसिना धेरै आउने भएकाले पसिना छिटो सुक्ने किसिमको फेब्रिक छनोट गर्नु राम्रो हुन्छ । कटन, लाइक्रा जस्ता फेब्रिकमा आजकल धेरै किसिमका स्पोटर्स वेयर प्राप्त गर्न सकिन्छ । आफूलाई मन पर्ने तथा आवश्यकता अनुसारको पहिरन छनोट गर्नुपर्छ । वर्कआउटका समयमा शुद्ध कटनका पहिरन लगाउनुहुदैन । यो फेब्रिकमा पसिना सुक्न धेरै समय लाग्छ ।  

फिटिंगमा ध्यान 

आफूले जस्तो एक्सरसाइज गर्ने हो, त्यसैअनुसारको फिटिङ पहिरन हुनु आवश्यक छ । हेभी एक्सरसाइज गर्ने हो भने कसरत गर्ने बेलामा खुकुलो तथा लोअर टीसर्ट लगाउनुपर्छ । योगको लागि स्ट्रेचेबल तथा फिटिङ आउटफिट लगाउनुपर्छ । यसका अलावा जिम प्यान्ट तथा योग प्यान्ट पनि ट्राई गर्न सकिन्छ । जगिङ, साइक्लिङ जस्ता एक्सरसाइजका लागि सट्र्स लगाउन सकिन्छ जुन लुज हुनुहुदैन । 

मौसमअनुसार पहिरन

मौसम अनुसार एक्सरसाइजका पहिरन लगाउनुपर्छ । यसो गर्दा मौसमका कारण स्वास्थ्यमा असर पर्दैन। गर्मी मौसममा धैरै पसिना आउने तथा गर्मी हुने भएकाले यसबाट बच्नका लागि हल्का तथा पसिना सोस्ने पहिरन लगाउनु उचित हुन्छ । यो मौसमका लागि पोलिस्टर, लाइक्रा तथा सिन्थेटिक ब्लेंड जस्ता आउटफिट राम्रो हुन्छ । किनकी यो छिटो सुक्छ । साथै यस्तो फेब्रिकले जाडोमा तातो तथा गर्मीमा शितल बनाउँछ । जाडो मौसममा वर्क आउटका लागि चिसोबाट बच्नु जरुरी हुन्छ । एक्सरसाइज गर्दा पसिना आउने भएकाले जाडो छ भन्दैमा धेरै गुम्सिने गरि आउटफिट लगाएर वर्क आउट गर्नुहुदैन । यसो गर्दा एक्सरसाइजको समयमा बेचैनी तथा उकुसमुकुस हुन्छ । वर्षात्को समयमा नरम तथा पसिना सोस्ने खालको फेब्रिक छनोट गर्नु प्रभावकारी हुन्छ । 

 Image