Successfully Copied

जसले दिन्छ क्षणभरमै ऊर्जा

दिनभरको थकान एकछिनमै भगाउन केही विशेष खाना खानु आवश्यक छ ।

अफिस, घर, साथीभाइ भेटघाट मानिसको जीवन यस्तैमा बित्ने गरेको छ । यस्तो व्यस्त जीवनमा सबैलाई थकान महसुस हुन्छ । दिनभरको थकान एकछिनमै भगाउन केही विशेष खाना खानु आवश्यक छ । 

दही : दहीमा प्रो बायोटिक्स अर्थात् सकारात्मक ब्याक्टेरिया तथा कार्बोहाइड्रेड हुन्छ । यसले थकान भगाएर फुर्तिलो बनाउँछ । दही बिहानको खानासँग खान सकिन्छ । दहीमा फलफूल मिसाएर खान  सकिन्छ । दहीमा मानिसलाई फुर्तिलो बनाउने शक्तिका साथै प्रशस्त रोगप्रतिरोधक क्षमता हुन्छ । 

सौफ : सौफमा सोडियम, क्याल्सियम, पोटासियम, आइरन आदि पोषक तत्व पाइन्छ । यसले शरीरमा थकान महसुस गराउने हार्मोन्सलाई नष्ट गर्छ । सौफ खाना खाएपछि  खाइन्छ । यसलाई चबाएर खाँदा तथा सौफ हालिएको चिया खाँदा पनि क्षणभरमै थकान गायब हुन्छ र तरोताजा महसुस गर्न सकिन्छ । 

केरा : अफिसबाट आएपछि साँझ धेरै थकान महसुस भएको छ, उठ्न नसक्ने भइएको छ भने २–३ वटा केरा खानुपर्छ । केराबाट पोटासियम प्राप्त हुन्छ । यसले शरीरमा भएको सुगरको इनर्जीमा परिवर्तन ल्याएर थकानलाई टाढा भगाउँछ । 

सुन्तला : सुन्तलामा भएको भिटामिन बी ६ तथा फोलिक एसिडले थकान टाढा भगाएर इनर्जेटिक बनाउँछ । त्यसैले थकान महसुस भए सुन्तला खानुपर्छ । यसको जुस पनि सेवन गर्न सकिन्छ । सुन्तला गर्भवती महिलाहरूका लागि पनि फाइदाजनक हुन्छ ।

मेवा : बिहान–बिहान मेवा खाँदा पाचन प्रणाली ठीक रहन्छ भने यसबाट शरीरमा शक्ति प्राप्त हुन्छ । मेवामा भएको भिटामिन बी ६ तथा फोलिक एसिडले शरीरको थकान  भगाउँछ ।साँझको समयमा भोक लाग्दा पनि मेवा सेवन गर्न सकिन्छ । यसले तुरुन्त इनर्जी प्राप्त हुन्छ । त्यसका अतिरिक्त मेवाले कोलस्ट्रोलको मात्रा नियन्त्रित राख्न एवं तौल घटाउन पनि सहयोग गर्छ । 

अण्डा : अन्डामा प्रशस्त मात्रामा प्रोटिन हुन्छ । दिनहुँ एउटा अण्डा खाँदा शरीरमा ३० प्रतिशत प्रोटिन प्राप्त हुन्छ । व्यायामपछि एउटा अण्डा खानुपर्छ । यसले थकानबाट मुक्ति मिल्छ भने मांसपेशी पनि रिल्याक्स हुन्छ । 

अदुवा : थकान महसुस भए अदुवायुक्त चिया पिउनुपर्छ । पातलो टुक्रा बनाएर नुनका साथ अदुवा खाए तरोताजा महसुस गर्न सकिन्छ । अदुवामा भएको एन्टिअक्सिडेन्टले मांसपेशी रिल्याक्स गर्नुका साथै रोग प्रतिरोधक क्षमता पनि बलियो बनाउँछ । 

पालुंगो : यसमा प्रशस्त मात्रामा म्याग्नेसियम, आइरन तथा पोटासियम हुन्छ । म्याग्नेसियमले शरीरमा ऊर्जा सिर्जना गर्न मद्दत पुर्‍याउँछ । पोटासियमले पाचनक्रिया दुरुस्त राख्छ । पालुंगोको तरकारी खाए दिनभर तरोताजा महसुस गर्न सकिन्छ । 

ज्वानो : ज्वानोको चिया हुन्छ भन्ने कुरा धेरैलाई थाहा नहुन सक्छ । कतिपय मानिसले ज्वानोको चिया सेवन नगरेका हुन सक्छन् । ज्वानोको चिया पिए थकान एकछिनमै टाढा भाग्छ । ज्वानोलाई तातोपानीमा उमालेर चियाजस्तै गरी पिए शरीरमा ऊर्जा प्राप्त हुनुका साथै मस्तिष्कको नसालाई पनि आराम मिल्छ । यसबाट जोर्नीको पीडाबाट पनि छुटकारा प्राप्त गर्न सकिन्छ । 

ओट्स : फाइबर तथा एन्टिअक्सिडेन्टको गुणले भरिपूर्ण ओट्सले धेरै किसिमको रोगबाट जोगाउनुका साथै इनर्जेटिक पनि राख्छ । बिहानको नास्तामा ओटमिल खाए दिनभर फ्रेस महसुस हुन्छ । आफ्नो रुचिअनुसार ओट्समा नुन तथा चिनी हालेर विभिन्न परिकार बनाउन सकिन्छ । 

ओखर : ओखर शक्तिवद्र्धक हुन्छ । ओमेगा ३ फ्याटी एसिडको मात्रा प्रशस्त पाइने ओखरले एकछिनमै थकान भगाउँछ । ओखरको सेवनबाट एन्जाइटी तथा डिप्रेसनबाट पनि राहत मिल्छ । एक्सरसाइज गरेर थाकेका बेला पनि ओखर खाँदा विशेष फाइदा हुन्छ । 

च्याउ : दिनहुँ एक कप च्याउ खाँदा शरीरमा शक्ति प्राप्त हुनुका साथै आइरनको आपूर्ति पनि हुन्छ । मसरुम खाँदा शरीरमा रगतको कमीको समस्या हुँदैन । यसको सेवनले शरीरमा शक्ति प्राप्त हुन्छ । च्याउ उच्च रक्तचाप तथा मधुमेहका बिरामीका लागि पनि फाइदाजनक छ । अन्य तरकारीको तुलनामा च्याउमा प्रोटिन, भिटामिन ई तथा सेलेनियमको मात्रा बढी हुन्छ । 

 Image