Successfully Copied

प्राकृतिक तरिकाबाट बच्चा जन्माउँदा धेरैलाई पिसाब चुहिने समस्या देखा पर्दछ -डा. रोजी शर्मा

पिसाब चुहिने समस्यालाई मेडिकल भाषामा स्ट्रेस युरिनरी इनकन्टिनियन्स (एसयूआई) भनिन्छ ।



डा. रोजी शर्मा
कन्सल्टेन्ट गाइनोलोजिस्ट

एस्थेटिक गाइनोकोलोजीको प्रयोग सौन्दर्य बढाउन गरिन्छ । सौन्दर्य बढाउन मात्र नभई महिलासम्बन्धी समस्याको उपचार गर्न पनि प्रयोग हुन्छ । पिसाब चुहिने समस्यामा पनि यसको प्रयोग हुन्छ । पिसाब चुहिने समस्यालाई मेडिकल भाषामा स्ट्रेस युरिनरी इनकन्टिनियन्स (एसयूआई) भनिन्छ । खोकी लाग्दा, हाच्छ्युँ गर्दा, हाँस्दा वा शारीरिक गतिविधि हुँदा पेटभित्र दबाब पर्न गई पिसाब चुहिन्छ ।

के कारणले हुन्छ ?
पिसाब चुहिने समस्या पेल्भिक र स्पिन्चर मांसपेशीले राम्रोसँग काम नगर्नाले हुन्छ । प्रसव पीडाबाट (प्राकृतिक तरिका) बच्चा जन्माएपछि धेरैलाई यो समस्या देखिन्छ । उमेर बढ्दै जाँदा हुने परिवर्तनले पनि पिसाब चुहिने समस्या हुन सक्छ । कतिपयलाई भने महिनावारी सुकेपछि देखिन्छ । लामो समयदेखि खोकी लागेको, मोटोपन, मद्यपान, धूम्रपान, कतिपय औषधि सेवनका कारण पिसाब चुहिने समस्या देखिन सक्छ ।


उपचार के छ ?
यसको उपचार शल्यक्रिया र विनाशल्यक्रिया गर्न सकिन्छ । यसमा शल्यक्रिया नै गनुपर्छ भन्ने हुँदैन । समस्या हेरेर शल्यक्रिया गर्ने नगर्ने निर्धारण हुन्छ । सामान्य समस्यामा लेजर तथा पिआरपी प्रविधिबाट पनि धेरै हदसम्म ठीक पार्न सकिन्छ । लेजर प्रविधि सुरक्षित हुन्छ । यसबाट शल्यक्रिया गर्नु र बेहोस पार्नु पर्दैन । दुखाइ धेरै नुहुनुका साथै समय पनि धेरै लाग्दैन । लेजर प्रविधिबाट उपचार गर्दा तीन चरणमा चारदेखि छ हप्ताको फरकमा गरिन्छ ।

बिरामीले केकुरामा ध्यान दिनुपर्छ ?

–प्रशस्त मात्रामा पानी पिउनुपर्छ ।
–एक हप्तासम्म यौन सम्पर्क गर्नुहुँदैन ।
–सरसफाइमा ध्यान दिनुपर्छ ।
–अलि–अलि सेतो पानी बग्नु सामान्य हो ।
–एक हप्तामा फलो अपमा जानुपर्छ ।
–ज्वरो आएमा, धेरै दुखाइ भएमा चिकित्सकसँग परामर्श लिनुपर्छ ।

 Image