Successfully Copied

लक्ष्मीलाई खुसी तुल्याउने उपाय

लक्ष्मीलाई धनकी अधिष्ठात्री देवीका रूपमा पूजा गर्ने चलन छ ।

लक्ष्मी शब्द हामीकहाँ धनको पर्याय बनेको पाइन्छ । लक्ष्मीलाई धनकी अधिष्ठात्री देवीका रूपमा पूजा गर्ने चलन छ । समग्र विश्व नै धनको पछि लागिरहेको सन्दर्भमा हरेकको मनमा जसरी भए पनि पैसा कमाउने सोच पाइन्छ । ‘एनी हाउ, पैसा कमाऊ’ भन्ने सिद्धान्त बोकेर मानिसहरू पैसा कमाउन दौडिरहेका हुन्छन्, तर के पैसा कमाउन सजिलो छ त ? अनि पैसा कमाउने उपाय के होला ? पैसा त कमाउने तर कसरी ? जस्ता अनेक प्रश्न मानिसको मनमा सल्बलाइरहेको हुन्छ । हिन्दूहरूको महान् पर्व दीपावली अर्थात् तिहारको सम्बन्ध धनकी देवी लक्ष्मीसँग गाँसिएको पाइन्छ ।

यो पर्वमा लक्ष्मीलाई खुसी तुल्याउनकै लागि अनेकौं काम गरिन्छ । पूजाआजा, यज्ञ–अनुष्ठान एवं जपध्यान आदिका अनेकौं प्रकार सामाजिक प्रचलनमा छन् । तिहारको तेस्रो दिन अर्थात् लक्ष्मीपूजाका दिन नेपालभरि धनकी देवी लक्ष्मीको पूजाआजा गरी घरभित्र लक्ष्मी भित्राइन्छ । निराहार व्रत बसेर पूजा गरेपछि लक्ष्मी प्रसन्न भै धनधान्यपूर्ण गरिदिने हिन्दूहरूको विश्वास छ । यही विश्वासका कारण उनीहरू वर्षमा एकपटक आउने लक्ष्मीपूजाका दिन लक्ष्मीलाई खुसी तुल्याउन भरमग्दुर प्रयास गर्छन् । यद्यपि लक्ष्मी ज्यादै चञ्चल हुन्छिन्, जो सितिमिति वशमा आउँदिनन् ।

लक्ष्मीलाई वशमा पार्न सफल धनीहरू पनि एक दिन लक्ष्मीपूजा गर्दैमा लक्ष्मी दाहिना नहुने बताउँछन् । चाणक्य नीतिमा पनि लक्ष्मीलाई खुसी पार्न पूजाभन्दा परिश्रम गर्नु उपयुक्त हुने अर्थात् पूजा भन्नु नै परिश्रम भएको बताइएको छ । चाणक्यका अनुसार फोहोर वस्त्र लगाउने, शारीरिक सरसफाइमा ध्यान नदिने, कटुभाषी, क्रोधी, सूर्योदय एवं सूर्यास्तका बेला सुत्ने व्यक्ति स्वयं नारायण नै भए पनि उसलाई लक्ष्मीले त्याग गर्छिन् ।  

लक्ष्मीलाई रिझाउन त्यति सजिलो छैन । इमान्दार, लगनशील, कर्तव्यनिष्ठ, परिश्रमी एवं समयको महत्व बुझ्ने, लगानीको क्षेत्र पहिचान गर्न सक्ने तथा शिक्षित व्यक्ति धनी हुने सम्भावना हुन्छ । धन कमाउन संस्कारी पनि हुनुपर्छ । देखावटी पूजा गरेर मात्र हुँदैन, कर्तव्य पालनमा पनि दृढतापूर्वक लाग्नुपर्छ । जुनसुकै क्षेत्रमा लागे पनि लक्ष्मीलाई खुसी पार्न सकिन्छ भन्ने कुराको उदाहरण आजको विश्वमा अनेकौं अर्बपतिले प्रमाणित गरिदिएका छन् । सामान्य परिवारमा जन्मिएकाहरू आफ्नो कर्मशीलताकै कारण अर्बपति बन्न पुगेका हुन् ।

काल्पनिक लक्ष्मीको पूजामा अल्मलिनुभन्दा वास्तविक लक्ष्मीको उपासनामा कटिबद्ध भएकै कारण बिल गेट्स, अम्बानी आदि शून्यबाट सुरु गरेर पनि सबैभन्दा धनी व्यक्ति बन्न सफल भए । धनाढ्यहरूका अनुसार पैसा कमाउन संस्कारी मात्र नभई आफूसँग भएको सम्पत्तिलाई सही ठाउँमा लगानी गर्न सक्नुपर्छ । बढेको सम्पत्तिको दुरुपयोग नगरी लगानी गर्दै गए पैसा पनि बढ्दै जान्छ । लक्ष्मीलाई एकपटक खुसी पार्न सजिलो हुन सक्छ तर निरन्तर खुसी पार्न भने गाह्रो छ ।

लक्ष्मीलाई लगातार खुसी राख्न इमान्दारीपूर्वक सही ठाउँमा लगानी गर्न जान्नुपर्छ । परिश्रमका साथ इमान्दारीपूर्वक काम गर्न सके शून्यबाट सुरु गरे पनि अर्बपति बन्न सकिन्छ । त्यसका लागि क्षेत्रगत ज्ञान अति आवश्यक हुन्छ । आफूलाई ज्ञान नभएको क्षेत्रमा लगानी गरेर पैसा कमाउन सकिँदैन ।

फेरि पैसाको गलत ठाउँमा उपयोग पनि हुनुहुँदैन, लक्ष्मीलाई परिचालन गर्ने मान्छे अनुशासित हुनुपर्छ अन्यथा लक्ष्मीले साथ छाडेर जान्छिन् । पैसालाई आदर गर्नुपर्छ । धेरै महत्वाकांक्षी हुनुहुँदैन । भ्रष्टाचार गर्नुहुँदैन किनभने त्यस्तो आम्दानी धेरै दिन टिक्दैन । त्यसको साटो आफूमा सामथ्र्य, ज्ञान एवं सीपको विकास गर्नुपर्छ । सामथ्र्यलाई उपयोगमा ल्याउन परिश्रम गर्नुपर्छ । व्यवसायबाट दायाँ–बायाँ नलागी स्थिर हुनुपर्छ । 

लक्ष्मीलाई प्रसन्न तुल्याउन माथि उल्लेख गरिएका गुण त आवश्यक छन् नै तीबाहेक स्वधर्मप्रतिको निष्ठा पनि आवश्यक हुन्छ । यसका कारण व्यक्तिमा आत्मबल वृद्धि हुन्छ । आत्मबल भएपछि जस्तोसुकै कठिन काम पनि सहजै सम्पन्न गर्न सकिन्छ । लगातार गरिने बुद्धिमत्तापूर्ण एवं कुशलतापूर्ण कर्मले नै लक्ष्मीको नजिक पुर्‍याउँछ जसका लागि मन बलियो हुनु आवश्यक छ । मन सबल तुल्याउन लक्ष्मीको आराधना गर्नु आवश्यक छ भन्ने कुरा शास्त्रमा बताइएको छ ।  

शास्त्रीय आधारमा लक्ष्मीलाई खुसी तुल्याउने केही विधि

  • घरमा कुवेरको मूर्ति राख्दा लक्ष्मी खुसी हुने विश्वास गरिन्छ । खासमा कुवेर पनि धनका मालिक हुन् र उनले लक्ष्मीको रक्षा गर्छन् भन्ने मान्यता छ ।
  • श्रीफल अर्थात् नरिवल चढाउँदा लक्ष्मी खुसी हुन्छिन् । श्रीफलको अर्थ पनि लक्ष्मी नै हो । 
  • पारद अर्थात् पारोले बनाइएका जुनसुकै चित्र वा तस्बिर लक्ष्मीका लागि प्रिय मानिन्छन् । घरमा पारोले बनेको लक्ष्मीको मूर्ति राख्नु फाइदाजनक हुन्छ ।
  • लक्ष्मी समुद्रबाट उत्पत्ति भएकी हुन् । मुंगा, कौडा, शंख आदि पनि समुद्रकै उत्पादन भएका कारण यस्ता वस्तु लक्ष्मीलाई चढाउँदा धन प्राप्त हुने विश्वास गरिन्छ ।
  • त्यसैगरी चाँदीले बनेका लक्ष्मी र गणेशको मूर्ति सँगै राख्दा पनि धनागम हुने विश्वास गरिन्छ । यस्ता मूर्ति राखिसकेपछि नियमित रूपमा पूजा गर्नुपर्छ । 
  • लक्ष्मी खुसी पार्ने विशेष उपाय श्रीयन्त्रको प्रयोग पनि हो । श्रीयन्त्रको विधिवत् स्थापना गरेर पूजा गर्दा लक्ष्मी खुसी हुने जनविश्वास छ ।
  • लक्ष्मीलाई कमलको फूल वा गमलगट्टा चढाउँदा फलदायक हुने बताइन्छ । यसले घरमा धनको वृद्धि हुन्छ भनिन्छ । लक्ष्मीको वास कमलपुष्पमा हुने विश्वास गरिन्छ ।

 Image