Successfully Copied

तिहारको राम्रो र नराम्रो पक्ष

अहिलेको डिजिटल युगमा सबैजना कम्प्युटरजस्तै छरितो बन्दैछन् । पहिलेजस्तो परिवार तथा दाजुभाइ, दिदीबहिनीहरूको भेटघाट पनि निकै पातलिइसकेको छ ।

सीमा पुन शाह, गायिका

राम्रो पक्ष : अहिलेको डिजिटल युगमा सबैजना कम्प्युटरजस्तै छरितो बन्दैछन् । पहिलेजस्तो परिवार तथा दाजुभाइ, दिदीबहिनीहरूको भेटघाट पनि निकै पातलिइसकेको छ । कसैसँग कसैका लागि प्रशस्त समय छैन । यस्तो अवस्थामा तिहारको महत्व अझ बढेको छ । तिहारको भाइटीका दिदीभाइको सम्बन्ध सुमधुर बनाउने, एक–अर्काप्रतिको माया दर्साउने अवसर पनि हो । तिहारका सबै दिन झिलिमिली बत्ती देख्दा मनै आनन्दित हुन्छ । वर्षका केही दिन देउसी–भैलो खेलेको हेर्दा ती पुराना भाकाहरू सुन्दा मन रमाउँछ । तिहारमा बली चढाउनु पर्दैन । यसमा काग, कुकुर एवं गाईको पूजा गरिन्छ । समग्रमा तिहार मानवीय भावनाको पर्व हो । 

नराम्रो पक्ष : साथीभाइसँग जुवा–तास खेलेर पैसा हार्ने र झगडा हुने हुँदा मन खल्लो हुन्छ । जाँड तथा रक्सी, मिठाईं तथा बढी चिल्लो पदार्थ खाने हुँदा स्वास्थ्य बिग्रन्छ । 

सागरिका श्रेष्ठ, भिजे

मलाई चाडपर्वमध्ये सबैभन्दा मनपर्ने चाड नै तिहार हो । तिहारका पाँचै दिन महत्वपूर्ण र विशेष हुन्छन् । तिहारभरि चारैतिर झिलिमिली बत्ती, रंगीबिरंगी फूलहरूले घर–पसलहरू सजाइन्छ । सयपत्री तथा मखमलीजस्ता फूलले वातावरण नै मनमोहक बनाइदिन्छ । राति चौरासी व्यञ्जन बनाई लक्ष्मीको पूजा गरिने, मण्डप बनाई म्ह पूजा गरिने कुरा पनि रमाइलो लाग्छ । तिहारमा घरमा पनि विशेष मिठाईंहरू खान पाइन्छ । तिहार परिवारका सबैजनासँग भेट्ने विशेष अवसर पनि हो । भाइटीका तथा म्ह पूजामा गरिने पूजाका विधिले हाम्रो संस्कृति जोगाइरहेको छ । मलाई देउसी–भैलो खेलेको पनि मनपर्छ । संयमित एवं अनुशासित ढंगले मनाउने हो भने तिहार निकै रमाइलो पर्व हो ।

नराम्रो पक्ष : कहिलेकाहीँ वातावरणमा खैलाबैला मच्चिन्छ । आगलागीजस्ता घटनाहरू घट्छन् र राति डिस्टर्ब पनि हुन्छ । तास, कौडा तथा रक्सी बढी भएर झैझगडा एवं काटमारसमेत हुन्छ ।  

प्रमी शाक्य, आरजे

राम्रो पक्ष : तिहारका पाँचैं दिन विशेष लाग्छन् । आफन्त तथा परिवारसँग भेटघाट हुँदा टाढिएका आफन्तबीच पनि आत्मीयता बढ्छ । दियो, मैन तथा झिलिमिली बत्तीले गर्दा पूरै सहर उज्यालो तथा रंगीबिरंगी हुन्छ । काग पूजा, कुकुर पूजा, लक्ष्मीपूजा, गोवर्धन पूजा, म्ह पूजा तथा भाइटीका सबै उत्तिकै रमाइला लाग्छन् । त्यसमा पनि मलाई म्ह पूजा तथा भाइटीका अझ विशेष लाग्छ । भाइटीकाले दिदीभाइको सम्बन्ध अझ बलियो हुन्छ । म्ह पूजाकै दिन नेपाल सम्बत् पनि मनाइन्छ । त्यसैले नेवार समुदायका लागि यो दिन अझ विशेष हुन्छ । तिहारमा देउसी–भैलो खेलिन्छ जसले हाम्रो संस्कृतिको प्रतिनिधित्व गर्छ । 

नराम्रो पक्ष :  बालबालिकाहरू पटाका पड्काउँछन् । कतिपय ठाउँमा पटाकाले दुर्घटना पनि निम्त्याउँछ वातावरणमा प्रदूषण बढ्छ । मिठाईंमा पनि मिसावट गरिन्छ जसले स्वास्थ्य खराब हुन्छ । तिहारमा मानिसहरू जाँड–रक्सी खाएर जुवा–तास पनि बढी नै खेल्छन् । रमाइलोका नाममा घर तथा साथीभाइमा झैझगडा पनि भएको देख्न सकिन्छ । अहिले देउसी–भैलो खेल्दा पनि बढी पैसा माग्छन् र दिएन भने तोडफोड गर्नसमेत पछि पर्दैनन् । यस्ता कुराले तिहारकै बदनाम गराउन सक्छ । 

नानी थापा, रंगकर्मी

राम्रो पक्ष : हामी संस्कृति र पर्वले निकै धनी छौं । त्यसमा पनि दसंै तथा तिहार विशेष पर्वकै रूपमा मान्छौं । त्यसमा पनि तिहार मलाई विशेष मनपर्ने पर्व हो । हामी रेलझैं गुडिरहेका छौं । संसार डिजिटलले सीमित बन्दैछ । अहिले कसैसँग भेटेर भन्दा सामाजिक सञ्जालमार्फत दिनहुँ कुरा गर्न सक्छौं तर डिजिटल युगमा हिँडिरहे पनि हाम्रो संस्कृतिलाई हामी उत्तिकै माया गर्छाैं । तिहार विशेष पर्व हो । त्यसैले काग, कुकुर, लक्ष्मी, गोवर्धन एवं भाइको पूजा गरिन्छ । तिहारको मौसम पनि उत्तिकै रमणीय हुन्छ भने सयपत्री, मखमली फूलहरूले वातावरणमा सुनमा सुगन्ध थपिदिन्छन् । काम विशेषले टाढा बसेका दिदीभाइहरू तिहारकै लागि भए पनि नजिकिन्छन् । तिहारकै लागि भनेर नेपाल फर्कनेहरू पनि छन् । घरमा सफा–सुग्घर गरेर लक्ष्मीको बहानामा भए पनि फूल, दियो बालेर घरलाई सुन्दर बनाइन्छ । मानिसको बफादार कुकुर र सन्देश ल्याउने कागको वर्षको एकपटक तिहारमै पूजा गरिने भएकाले पनि मलाई तिहार मन पर्छ । साथीहरूसँग विभिन्न स्थानमा गएर भैलिनी खेल्दा निकै रमाइलो लाग्छ । 

नराम्रो पक्ष : रमाइलोका लागि मनाइने पर्वमा मानिसहरूले नै थप रमाइलोका लागि खेल्ने तास–जुवा एवं लंगुरबुर्जामा धेरै पैसा लगाउने, झैझगडा गर्ने कुरा मनपर्दैन । देउसी–भैलोजस्तो मीठो भाकालाई तोडमोड गरेर जे पायो त्यही गाउने, पैसा तोकेर माग्ने जस्तो प्रवृत्ति मन पर्दैन ।

शिक्षा संग्रौला, मोडल

राम्रो पक्ष : अहिले म काठमाडौंमा पढ्दै आफ्नो कयियर अघि बढाइरहेकी छु । तिहारमा घर गइन्छ, परिवारसँग बसेर तिहार मनाउनु नै मलाई सबैभन्दा मनपर्ने पक्ष हो । दसैंजस्तो लामो नभए पनि पाँच दिनको यो पर्वमा सबै दिन विशेष लाग्छन् । आफूले पालेको कुकुरलाई टीका, माला लगाई पूजा गर्दा अर्कै मज्जा हुन्छ । लक्ष्मीपूजा र भाइटीका त अझ मनपर्छ । घरलाई सफा–सुग्घर गरी चारैतिर बत्ती बालेर साँझ घरमा पूजा गरिन्छ । भाइटीकामा आफ्ना दाजुभाइलाई सप्तरंगी टीका अनि कहिले नओइलिने मखमलीको माला लगाइदिएर पूजा गरिन्छ । भाइको आरोग्यका लागि पूजा गरी दिदीबहिनीलाई आशीर्वाद दिने यो पारिवारिक पर्व हो । यसले चिसिएको सम्बन्धलाई पनि गाढा बनाउँछ । साथीहरूसँग मिलेर देउसी–भैलो गाउन जाँदा हाम्रो संस्कृति कत्तिको धनी छ थाहा पाउन सकिन्छ । पूरै सहर झिलिमिली हुँदा सबैको मन प्रसन्न हुन्छ ।

नराम्रो पक्ष : हरेक कुरा बढी भयो भने नराम्रो हुने हो । चिनी पनि धेरै खायो भने तीतो हुन्छ भनेझैं लिमिटमा बसेर ड्रिंक्स गर्दा, तास, लंगरबुर्जा खेल्दा रमाइलो हुन्छ तर यहाँ त होसै हराउने गरी पिउँछन् । साथीहरूसँग बसेर जुवा–तास खेल्न थालेपछि खल्ती रित्तिएपछि मात्र उठ्ने बानीले गर्दा तिहार नकारात्मक पनि बन्न पुग्छ । पटाका पनि जता पायो त्यता खेल्दा दुर्घटना हुन सक्छ ।  देउसी–भैलो पनि त्यसको मर्मलाई नबिर्सी खेल्यो भने निकै सुन्दर हुन्छ तर यस्तै कुराले तिहारमा केही विकृति आएको छ जुन राम्रो  होइन । 

 Image