Successfully Copied

कार किन्दा विचार पुर्‍याऔं

यातायातको सुलभतामा केवल बिलासितासँग दाँजेर पनि हेर्नु हुँदैन । यसले हाम्रो जीवनशैलीमा पुर्‍याएको सहजतालाई पनि विचार पुर्‍याउनुपर्छ ।

व्यस्त जीवनशैलीमा कार अत्यावश्यक वस्तु भएको छ । यातायातको सुलभतामा केवल बिलासितासँग दाँजेर पनि हेर्नु हुँदैन । यसले हाम्रो जीवनशैलीमा पुर्‍याएको सहजतालाई पनि विचार पुर्‍याउनुपर्छ । यद्यपि कार खरिद गर्दा हामी कुनै प्रकारको बित्तीय योजना तयार गर्दैनौं । किनभने हामीले लोन लिनुपर्ने बाध्यता हुन्छ । नबिल बैंकका लोन विभागका भरत शर्माका अनुसार अटो लोन नितान्त व्यक्तिगत प्रयोजनका लागि लिइन्छ ।  घर तथा जग्गा खरिद गर्दा त्यसको भ्यालु बढ्दै जान्छ तर कारको भ्यालु बढ्ने सम्भावना निकै कम हुन्छ । यसको मूल्य निरन्तर घट्दै जान्छ । त्यसैले कार खरिद गर्दा केही कुरामा ध्यान पुर्‍याउनुपर्छ । 

 

बचत गर्न थाल्नुपर्छ 

 

आफूलाई १ देखि २ वर्षको अन्तरालमा कार खरिद गर्नुपर्छ भन्ने लाग्छ भने सुरुदेखि नै बचत गर्नुपर्छ । त्यसका लागि लगानी पनि गर्न सकिन्छ । आफ्नो पैसालाई फिक्स डिपोजिटमा पनि लगाउन सकिन्छ । 

कार डिलरहरूसँग मोल भाव

कार खरिद गर्ने मनसाय बनाएको भए केवल एउटै शोरुममा मात्र कार हेर्नु हुँदैन । त्यसका लागि अन्य शोरुमहरू पनि चहार्नुपर्छ । अन्य शोरुममा गएर मोडल तथा मूल्यको जानकारी लिनुपर्छ । एउटै सहरमा भएर पनि कारको मूल्यमा निकै उतारचढाव हुन सक्छ । कतिपय डिलरले बिक्री बढाउन मार्जिन घटाएर डिस्काउन्ट प्रदान गरिरहेका हुन्छन् । 

पुरानो कार खरिदमा फाइदा 

वाहन खरिद लगानीको श्रेणीमा आउँदैन । वाहनको मूल्य घट्दै जान्छ । नयाँ कार खरिद गरेर शोरुमबाट बाहिर निकाल्नेबित्तिकै त्यसको मूल्य १० देखि १२ प्रतिशत कम हुन्छ । यतिमात्र होइन २ वर्षमा यसको मूल्य २५ प्रतिशतबाट ४० प्रतिशतसम्म घट्छ । त्यसैले २ वर्ष पुरानो गाडी खरिद गर्नु लाभदायक हुन्छ ।

सही सवारी साधनको छनोट 

अविवाहित र केवल अफिस जाने–आउनेहरूका लागि ठूलो कार आवश्यक छैन । पहिले आफ्नो ५ वर्षे योजनालाई ध्यानमा राखेर कार खरिद गर्नुपर्छ । आफ्नो आवश्यकताभन्दा बढी महँगो कार खरिद गरिएको छ भने त्यो पैसालाई जाम गर्नु हो । 

कारसँग जोडिएर आउने खर्च 

कार खरिद गर्दा त्यसको मूल्यमा पनि ध्यान पुर्‍याउनुपर्छ भने कार खरिद गर्दा आउने खर्चको पनि आँकलन गर्नुपर्छ । महँगो कार खरिद गर्दा इन्स्योरेन्स पनि महँगो हुन्छ । इन्स्योरेन्सका अतिरिक्त कारको मेन्टिनेन्सका सम्बन्धमा पनि विचार पुर्‍याउनुपर्छ । कारको इन्धन, एअर फिल्टर, टायर, ब्रेक वा अन्य उपकरणहरूमा पनि प्रशस्त खर्च हुन्छ । त्यसैले महँगो कार खरिद गर्दा यसको मेन्टिनेन्समा बढी खर्च गर्नुपर्छ । 

ऋणको बीचमा कार बेच्नु हँुदैन 

कार ऋणमा खरिद गरिएको छ भने लोन पूरा हुनुअघि नै त्यसलाई बेच्नु हुँदैन । लोन पूरा हुनुभन्दा पहिले कार बिक्री गरे त्यसबाट त्यति फाइदा लिन सकिँदैन । 

 Image