Successfully Copied

दृष्टिविहीन दुई नारीले विद्यावारिधि पूरा गरी नयाँ इतिहास रचे

दृश्यविहीन दुई नारीले विद्यावारिधि पूरा गरी नयाँ इतिहासको रचना गरेका छन् । लक्ष्मी पोख्रेल र श्वेता सिंहले आफ्ना नामका अगाडि डा. थप गरी आफ्ना नामका अगाडि झुण्डिएका दृष्टिविहीन भन्ने शब्द सदाका लागि अन्त्य गरिदिए ।

 

दृश्यविहीन दुई नारीले विद्यावारिधि पूरा गरी नयाँ इतिहासको रचना गरेका छन् । लक्ष्मी पोख्रेल र श्वेता सिंहले आफ्ना नामका अगाडि डा. थप गरी आफ्ना नामका अगाडि झुण्डिएका दृष्टिविहीन भन्ने शब्द सदाका लागि अन्त्य गरिदिए । समाजले जहाँ गए पनि लाञ्छना लगाउँथ्यो ‘यिनका त आँखा छैन, के गर्न सक्छिन् र ?’त्रिवि, मानविकी तथा समाजशास्त्र अध्ययन सस्थानबाट इतिहास विषय अन्तर्गत ‘देवघाटको धार्मिक तथा ऐतिहासिक महत्व’का विषयमा पोख्रेलले भर्खर विद्यावारिधिको प्रमाण लिएकी हुन् । यसैगरी भारतको जवाहरलाल नेहरु विश्वविद्यालयबाट ‘जेन्डर एण्ड मिडिया’ विषयमा सिंहले विद्यावारिधि प्राप्त गरिन् ।आँट गरे के सकिँदैन, उनीहरु पथप्रदर्शक बने । ती दुई विश्वविद्यालयबाट विद्यावारिधि गर्ने पहिलो दृष्टिविहीन महिलाको नामा समेत लेखाउन सफल भए उनीहरु । तेह्र र नौ वर्षीया छोरीकी आमा पोख्रेलले भनिन्–‘अध्ययन, अनुसन्धान गर्न आँखाको दृष्टि नै चाहिँदैन, सुनेर गर्न सकिन्छ । यसका लागि आफूमा आँट र सहयोग गर्ने सहृदयी मनहरु आवश्यक पर्छ ।’त्रिविवि अन्तर्गतका विभिन्न संकायबाट स्नातकोत्तर पूरा गर्नेको संख्या हालसम्म एक सय नाघ्न सकेको छैन । बालकुमारी उमावि नारायणघाटबाट पोख्रेलले विसं २०४६ मा प्रवेशिका परीक्षा उत्तीर्ण गरेकी थिइन् । यसैगरी वीरेन्द्र बहुमुखी क्याम्पसबाट विसं २०५५ मा इतिहास विषयमा स्नातकोत्तर तह पूरा गरेकी पोख्रेलले विसं २०५७ देखि सोही क्याम्पसमा अस्थायी प्राध्यापनरत रहेकी छन् ।

यसैगरी जन्मजात दृश्यविहीन अविवाहिता सिंहले छ वर्षका उमेरमा अक्षर आरम्भ गरेकी थिइन् । उनले भनिन्–‘दिदी र भाइले नपढेर बुबाको गाली खाँदा म पढ्न विद्यालय जान पाएँ भने गाली खाँदिन होला, यो कुरा सुटुक्क आमालाई सुनाएँ ।’आमाले बुबालाई सुनउनुभएछ । तत्काल बुबाले आफैँ बोकेर विद्यालय भर्ना गरिदिनुभयो । काठमाडौँ चाबहिलकी रैथाने सिंहको मस्तिष्क तीक्ष्ण रहेछ । ल्याबोरेटरी विद्यालय कीर्तिपुरबाट उनले प्रवेशिका परीक्षा प्रथम श्रेणीमा उत्तीर्ण गरिन् ।‘उच्च शिक्षाका लागि म दिल्ली विश्वविद्यालयमा गएँ । त्यहाँबाट स्नातकोत्तर र एमफिल पूरा गरेँ । सन् २०१२ मा जवाहरलाल विश्वविद्यालयबाट ‘जेन्डर र महिला’ विषयमा विद्यावारिधि पूरा गरेँ र हाल इन्दिरा गान्धी ओपन विश्वविद्यालयमा सहायक क्षेत्रीय निर्देशक पदमा कार्यरत छु ।’–सिंहले कुराकानीका क्रममा भनिन् । जवाहर विश्वविद्यालयका नेपाली मूलका प्रा.डा.महेन्द्र पी लामाले उनलाई शोध निर्देशन गरेका थिए । आफ्नी आमाको नाममा अक्षयकोष स्थापना गर्न नेपाल आएकी सिंहले थपिन्–‘समाजले हामीलाई महिला र दृष्टिविहीन भन्छन्, केही गर्न नसक्ने भन्दछन् । यसो होइन, हामी केही गर्न सक्छौँ । दृष्टिविहीनहरु दृष्टि हुनेका लागि उदाहरणीय बन्नुपर्छ ।’सिंहले आफ्नो सफलताका लागि आमाको योगदान उच्च रहेको सम्झिन् । ‘आमा मलाई भन्ने गर्नुहुन्थ्यो–‘नानी म मरेको छैन, तिमीलाई पढ्ने इच्छा जति छ पढ, खर्च पुयाउँछु ’उनले भनिन् । तर हालसालै आमा गुमाएकी सिंहले भक्कानिँदै अब आमाको सपना पूरा गर्छु भनिन् । उनले आफ्नो कमाइको अधिकांश भाग दृष्टिविहीनकै उच्च शिक्षाका लागि खर्च गर्छु भन्ने योजना सुनाइन् । उसो त सिंहले आफ्नो आम्दानीमध्ये रु एक लाख आमाका नाममा स्थापित कोषमा जम्मा गरिदिएकी छिन् । कोषले प्रवेशिका परीक्षा उत्तीर्ण गरी उच्च शिक्षा अध्ययन गर्ने दृष्टिविहीन महिलालाई सीप सिकाउन सहयोग गर्ने लक्ष्य राखेको छ ।

 Image