Successfully Copied

बढ्दो कम्मरमा राखौं नजर

मोटा र ठूला कम्मर भएका महिलाका लागि कम्मर खतराको घन्टी हो । तौल सामान्य तर कम्मर मोटो तथा उमेर कम छ भने त्यसलाई जोखिमपूर्ण मानिन्छ जसलाई हल्का रूपमा लिनु हुँदैन ।

मोटा र ठूला कम्मर भएका महिलाका लागि कम्मर खतराको घन्टी हो । तौल सामान्य तर कम्मर मोटो तथा उमेर कम छ भने त्यसलाई जोखिमपूर्ण मानिन्छ जसलाई हल्का रूपमा लिनु हुँदैन । यस्तो अवस्थामा आफू ओभर वेट नभएकाले कुनै प्रकारको शारीरिक श्रम वा व्यायामको आवश्यकता छैन भनेर सोच्नु गलत हुनसक्छ । एउटा अध्ययनअनुसार महिलाहरूमा तौलको तुलनामा कम्मर ठूलो हुनु खतरनाक साबित हुनसक्छ । एउटी मोटी महिलाको तुलनामा मोटो कम्मर भएकी महिलामा ह्दय रोग, क्यान्सर आदिको सिकार हुने सम्भावना सामान्य र पातलो कम्मर भएकी महिलाको तुलनामा बढी हुन्छ ।

केही समय पहिले अन्तर्राष्ट्रिय स्तरमा गरिएको एक अध्ययनका लागि ४४ हजार ६ सय महिला नर्सलाई छनोट गरिएको थियो, जसको उमेर ४० देखि ६० वर्षबीच थियो । उनीहरूको कम्मर र नितम्ब नापिएको थियो । हरेक दुई वर्षपछि यो नाप लिने कामलाई जारी राखियो । जुन समयमा ती नर्सको छनोट गरिएको थियो त्यतिबेला उनीहरूलाई कुनै प्रकारको गम्भीर रोग थिएन । साधारणतया स्वस्थ महिलाको कम्मर ३४ दशमलव ६ इन्चभन्दा कम हुनुपर्छ । कम्मर र नितम्बको अनुपात एक प्रतिशतभन्दा पनि कम हुनुपर्छ । यो अनुपात निकाल्न कम्मरको नापलाई नितम्बको नापबाट विभाजित गरिन्छ । अध्ययनका क्रममा हरेक दुई वर्षपछि यो नाप लिनुका साथै उनीहरूको जीवनशैली, धूम्रपान, मद्यपान एवं मासिक धर्मसम्बन्धी जानकारी पनि समावेश गरियो । यो अध्ययन १६ वर्षसम्म जारी रह्यो । यसबीच ३ हजार ५ सय ७ जना नर्सको मृत्यु भयो । तीमध्ये ७ सय ५१ जनाको मृत्यु ह्दय रोग तथा १ हजार ७ सय ४८ जनाको क्यान्सरका कारण भएको थियो । अध्ययनबाट जुन महिलाको कम्मर ३४ दशमलव ६ इन्च वा त्यसभन्दा बढी थियो र जसको कम्मर तथा नितम्बको अनुपात बढी थियो, ती महिलामा ह्दय रोगको सम्भावना तीन गुणा बढी पाइयो ।

विशेष कुरा के देख्न पाइयो भने कम्मर सामँन्य तर नितम्ब ठूलो भए कुनै प्रकारको खतरा हुँदैन तर कम्मर पातलो र नितम्ब ठूलो छ भने ह्दय रोगबाट ग्रस्त हुने सम्भावना वृद्धि हुन्छ । अमेरिकामा मोटो कम्मर भएका महिलाहरू बढी गम्भीर रोगको सिकार भएको पाइन्छ । मोटो कम्मर उनीहरूका लागि जीवन जोखिमको विषय बन्न पुग्छ । यहाँ बडी मास इन्डेक्स (बीएमआई) वा लम्बाइ तथा तौलको तुलनामा कम्मर तथा नितम्बको अनुपातले बढी महत्त्व राख्छ । त्यसैले कम्मरलाई कोठा बन्न नदिऔं ।

–रोजिन शाक्य

 Image