वि.सं. २००९ साल वैशाख १ गते जन्मिएकी अनुराधा बुबा प्रतापसिंह गुरुङ तथा आमा जरिना गुरुङसँग आसाममा हुर्किएकी हुन् । उनी २०२१ सालमा नेपाल आएकी हुन् । काठमाडौंको बसाइका क्रममा दिनेशप्रसाद कोइरालासँग विवाह गरेकी अनुराधा यहाँ आउँदा अंग्रेजी शिक्षालाई प्राथमिकता दिने ट्रेन्ड भर्खरै सुरु भएको थियो । अंग्रेजी भाषामा दख्खल भएकी अनुराधाले अंग्रेजी शिक्षणबाट करियर प्रारम्भ गरिन् । शिक्षण पेसा पनि एक किसिमको समाजसेवा नै हो भन्ने कोइरालाले शिक्षणमा २० वर्ष बिताइन् । बालबालिकालाई खेलाएर पढाइने मन्टेश्वरी शिक्षण विधि जानेकी कोइरालाले न्यू इंग्लिस स्कुल (अमर आदर्श), मार्टियस, बूढानीलकण्ठ, ग्यालेक्सी, युनिभर्सल साइनजस्ता विद्यालयमा शिक्षिकाको भूमिका निर्वाह गरिन् भने त्रिशक्ति विद्यालयमा संस्थापक प्रधानाध्यापकका रूपमा काम गरिन् ।
करिब ५३ वर्षअघि पनि गौशालामा बस्ने कोइराला प्राय: बिहान पशुपतिनाथको दर्शन गर्थिन् । पशुपति जाने क्रममा बाटामा बच्चा अगाडि राखेर भिक्षा माग्नेहरू प्रशस्त देखा पर्थे । त्यस्तो देख्दा उनको मनमा प्रश्न उब्जन्थ्यो । यसरी दिनभरी सडकमा मागेर राति आकाशको ओत लाग्नेहरू यौनजन्य हिंसाबाट मुक्त होलान् त ? यही प्रश्नको उत्तर खोज्ने क्रममा एक मगन्ते महिलासँगको वार्तालापबाट थाहा भयो उनको शंका ठीक रहेछ । यौनजन्य हिंसाबाट मुक्त गर्न उनले भेटिएकामध्ये नौजनालाई सहयोगस्वरूप कोठा लिन तथा नाङ्लो पसल थाप्न प्रतिव्यक्ति १ हजार रुपैंयाँका दरले उपलब्ध गराएपछि उनको समाजसेवा प्रारम्भ भयो ।
बचतका रूपमा जोगाएर राखेको २३ हजार तथा तलबस्वरूप प्राप्त हुने ७ हजार मिलाएर सुरु भएको सहयोगबाट पसल थापेपछि उनी प्रतिदिन २ रुपैंयाँका दरले ती महिलाहरूबाट उठाउँथिन् । उक्त रकमबाट १० जना बालबालिकालाई सहयोग गर्न थालिन् । तलबले तिनलाई ख्वाउन पुग्ला भन्ने आशा राखेकी अनुराधामा ऋण थपिँदै गयो । मेहनत र दु:ख एकसाथ बढ्दा उनलाई क्षयरोगले समात्यो तर पनि उपचारपछि मुलुकको गम्भीर समस्याका रूपमा फैलिएको चेलीबेटी बेचबिखनविरुद्ध चेतना फैलाउने उद्देश्य राखी पद्मकन्याका विद्यार्थी र प्रहरीलाई साथमा लिई बेचबिखनको गढ मानिएका जिल्लाहरू घुम्न थालिन् । सन् १९९३ मा स्थापना भएको माइती नेपालको उद्देश्य बेचिएर फर्किएका चेलीलाई सहयोग गर्नु थियो ।
सन् १९९४ सम्ममा माइती नेपालमा बस्ने चेलीबेटी तथा बालबालिकाको संख्या ८० पुगेको थियो । तिनलाई खान दिन पनि निकै दु:ख थियो । बिस्तारै उनको कामबाट प्रभावित भएपछि सहयोगीहरू देखा पर्न थाले । कोइराला भन्छिन्–बेलायती युवराज चाल्र्स नेपाल आउँदा उनीद्वारा बनाइएका चित्र माइती नेपालका लागि वरदान साबित भए । चाल्र्सद्वारा खिचिएका तस्बिर बेचेर आएको पैसा संस्थालाई सहयोग आएपछि हामीले अझ फैलने अवसर पायौं ।
हाल मुलुकभर शाखा रहेको माइती नेपालले चेलीबेटी बेचबिखन रोकथाम, बेचबिखनमा परेकालाई सहयोग गर्ने, संरक्षण प्रदान गर्ने, रोजगारी दिने, परिवारमा पुनस्र्थापनामा सहयोग पुर्याउने आदि काम गरिरहेको छ । नेपालका सीमामा प्रहरीझैं तैनाथ माइती नेपालका स्वयंसेवकहरूले थुप्रै चेलीबेटीलाई बेचबिखनबाट जोगाएका छन् । नीलो पोसाकमा एक–एक सवारीलाई नियालेर हेर्ने बिनाबर्दीका ती सिपाहीहरूले कैयौं चेलीबेटीका दलाललाई समात्न प्रहरीलाई सहयोग गरिरहेका छन् ।