Successfully Copied

सासको ताजापनका लागि

सासको दुर्गन्धले सामाजिक एवं निजी सम्बन्धमा नकारात्मक प्रभाव पार्छ । तनमन र अन्य सम्बन्धमा ताजापन कायम राख्न दुर्गन्धरहित सास हुनु आवश्यक छ । दुर्गन्धित सासले सबैलाई आफूबाट टाढा राख्छ फलस्वरूप व्यक्तित्वमा नकारात्मक प्रभाव पर्छ । सास दुर्गन्धित बन्नुका अनेक कारण हुन सक्छन् ।

सासको दुर्गन्धले सामाजिक एवं निजी सम्बन्धमा नकारात्मक प्रभाव पार्छ । तनमन र अन्य सम्बन्धमा ताजापन कायम राख्न दुर्गन्धरहित सास हुनु आवश्यक छ । दुर्गन्धित सासले सबैलाई आफूबाट टाढा राख्छ फलस्वरूप व्यक्तित्वमा नकारात्मक प्रभाव पर्छ । सास दुर्गन्धित बन्नुका अनेक कारण हुन सक्छन् । यस विषयमा सचेत रहनुपर्छ । 

बिहान उठिसकेपछि र राति सुत्नुअघि ब्रस गर्नुपर्छ । प्रतिदिन दुईपटक ब्रस गर्नुका साथै हरेक भोजनपछि ब्रस गर्नु राम्रो हुन्छ । यसका साथै जिब्रो पनि सफा गर्नुपर्छ ।

–खाना खाइसकेपछि मुख कुल्ला गर्नुपर्छ । दाँत र गिजाबीच खाना अड्कन सक्छ, जुन ब्रसले सफा गरे पनि निस्कँदैन । स्वस्थ दाँत एवं ताजा सासका लागि कुल्ला गर्नु तथा दाँतका बीचमा फसेर सडेका कुरालाई निकाल्नु आवश्यक छ । फसेका–सडेका कुरा निकाल्न स्वच्छ, मसिनो र बलियो धागो प्रयोग गर्नुका साथै फ्लसिङ पनि गर्नुपर्छ । 

–एसिडिटीको समस्या छ भने पनि सास फेर्दा दुर्गन्ध निस्कन्छ । यो अवस्थामा सासलाई ताजा राख्न एन्टासिड उपयोगी हुनसक्छ । 

–दाँतको सरसफाइ गर्ने तथा प्याज, लसुन, बन्दागोभीजस्ता शरीरमा सल्फर बनाउने कुराहरू सेवन कम गर्नुपर्छ । यी कुराहरू मन पर्छन् भने यिनको सेवनपछि मुखमा सुप, अलैंची वा ल्वाङ राख्नुपर्छ । 

–संभव भएसम्म आफूसित सुगरफ्री मिन्ट वा अलैंची फ्लेवर्ड चुइँगम राख्नुपर्छ । यसको प्रयोग खानापछि गर्नुपर्छ । मुखमा दुर्गन्धको अनुभव हुनेबित्तिकै यिनको प्रयोग गर्नु राम्रो हुन्छ ।

–माउथवास प्रयोग गर्नुपर्छ । यसले मुखमा बन्ने ब्याक्टेरिया मारेर दुर्गन्ध हुन दिँदैन । 

–पानी धेरै पिउनुपर्छ । दिनभरिमा अलिअलि गर्दै पानी पिउनाले दाँतका बीचमा फसेका अन्नका स–साना कण पेटमा जान्छन् । 

–सन्तुलित आहार लिनुपर्छ । यसबाट अपचको समस्या हट्छ र मुखबाट दुर्गन्ध आउँदैन । 

–मुख सुख्खा राख्नु हुँदैन । सुख्खा मुखबाट दुर्गन्ध आउँछ । 

–कतिपय मानिसको सास प्राकृतिक रूपमै दुर्गन्धित हुन्छ । केही विशेष बानी–व्यवहारलाई आफ्नो दिनचर्यामा समावेश गरेर यसलाई हटाउन सकिन्छ । मेथीको चिया पिउँदा पनि सास गन्हाउँदैन । मेथीलाई आधा लिटर पानीमा थोरै तताएर छानेपछि पिउनुपर्छ । यसमा चिनी पनि प्रयोग गर्न सकिन्छ । यसबाहेक दुई लिटर पानीमा थोरै ज्वानो र २–४ वटा ल्वाङ उमालेर त्यसलाई चिसो बनाई कुल्ला गर्दा पनि दुर्गन्ध हटाउन सकिन्छ । कागती पानीले मुख कुल्ला गर्दा पनि फाइदा पुग्छ । 

–हिजोआज फिटनेसका लागि कम कार्बोहाइड्रेटयुक्त आहार लिने परिपाटी छ । कम कार्बोहाइड्रेटका कारण शरीरमा ऊर्जाका लागि कार्बोहाइड्रेटको साटो फ्याट बर्न हुन्छ । फलस्वरूप किटोन वा एसिटोन नामक दुर्गन्धित पदार्थ निर्माण हुन्छ । यसबाट बच्न केरा खानुपर्छ । 

–कुनै कारणवश शरीरले ट्राइमिथा एलामाइन नामक रसायनलाई तोड्न सकेन भने त्यो तत्व सलाईवमा घुल्छ र सासमा दुर्गन्ध उत्पन्न हुन्छ । यसबाहेक यो रसायन पसिनामा मिसिएर त्यसलाई पनि दुर्गन्धित बनाउँछ । यो स्थितिलाई ट्राइमिथायलासाइनुरिया भनिन्छ । त्यसैले आफूलाई अचानक सास एवं शरीरमा दुर्गन्ध महसुस भयो भने चिकित्सकको सहयोग लिनुपर्छ । 

–अनियमित खानपानका कारण कब्जियत हुन्छ । यसले पनि सासलाई दुर्गन्धित बनाउँछ । अत: कब्जियत हटाउने उपाय गर्नुपर्छ । 

–नाकको समस्या भएका व्यक्तिको सासमा दुर्गन्धको समस्या हुन्छ । यसबाट छुटकारा पाए सासको दुर्गन्धबाट पनि छुटकारा पाउन सकिन्छ । 

–औषधिको साइड इफेक्टबाट पनि सास दुर्गन्धित हुन्छ । गलत औषधि वा औषधिको साइड इफेक्टबाट मुख सुक्ने समस्या हुन्छ । परिणामस्वरूप सासबाट दुर्गन्ध आउँछ ।

 Image