Successfully Copied

वेव पेज डिजाइनमा रोजगारी

प्रविधिको सुलभताले गर्दा आफूलाई चाहिएको सूचना, जानकारी लिन सम्बन्धित निकायमा पुगिरहनुपर्ने बाध्यता अब छैन।

प्रविधिको सुलभताले गर्दा आफूलाई चाहिएको सूचना, जानकारी लिन सम्बन्धित निकायमा पुगिरहनुपर्ने बाध्यता अब छैन। इन्टरनेट जोडिएको कम्प्युटरमा ती सामग्री सजिलै पाउन सकिन्छ । संसारभरका कुनै पनि जानकारी वेव पेजमा फेला पार्न गाह्रो छैन । नेपाली समाज पनि यसमा अभ्यस्त हुने क्रममा छ। कुनै उद्योग, कलकारखाना, सरकारी–गैरसरकारी निकाय, निजी संघसंस्था, व्यापारिक संस्थालगायतसँग सम्बन्धित जानकारी वेव पेजमै उपलव्ध हुन्छन् । सेवा, सुविधा, उत्पादन आदिका सम्बन्धमा जानकारी दिनुका साथै नयाँ घटना क्रमका बारेमा जानकारी दिन यो माध्यम अपनाउने क्रम बढ्दो छ । 

यसरी वेव साइट संचालन गर्ने नयाँ ट्रेन्डले युवापुस्तालाई रोजगारीको अवसर त खोलिदिएको छ नै । यही क्षेत्रमा रोजगारी गरेर जीवनयापन सहज बनाउन पनि सकिन्छ । यो सिर्जनशील काम महिलाहरूका लागि बढी उपयुक्त हुन्छ ।

के हो वेव डिजाइनर ?

वेव साइटको खाका तयार गर्नेदेखि त्यसलाई अनलाइनमा संचालन गर्नेसम्मको काम गर्ने व्यक्ति नै वेभ डिजाइनर हो । सामन्यतया वेव साइट पनि पत्रपत्रिकाकै साजसज्जामा प्रस्तुत गरिन्छ । यसलाई विद्युतीय पत्रिका पनि भनिन्छ । 

सर्भर साइट, स्क्रिप्टिङ र होस्टिङसम्मको काममा दक्षता हासिल गरेपछि वेव डिजाइनर बन्न सकिन्छ। वेव साइटको डमी तयार गर्ने, आकर्षक साजसज्जा दिने, विभिन्न प्राविधिक फङ्सन मिलाउने र अनलाइनमा लाने काम वेव डिजाइनरले गर्नुपर्छ । 

कसरी बन्ने ? 

कम्प्युटरमा आधारभूत ज्ञान लिएपछि एउटा छुट्टै प्याकेजअन्तर्गत वेव डिजाइनरको कोर्स गर्न सकिन्छ । राम्रो कम्प्युटर इन्स्टिच्युटबाट छोटो वा लामो अवधिको तालिम प्राप्त गरेर वेव डिजाइनर सम्बन्धी ज्ञान हासिल गर्न सकिन्छ । त्यसो त एकेडेमिक कोर्सअन्तर्गत बीएस्सी कम्प्युटर साइन्स एवं बीसीए कोर्समा पनि वेव डिजाइन अध्ययन गर्न सकिन्छ । तालिम केन्द्रबाट यो कोर्स गर्दा न्यूनतम २० हजार रुपियाँ खर्च गर्नुपर्ने हुन्छ । यति खर्चले वेव डिजाइनमा डिप्लोमा कोर्स गर्न सकिन्छ । 

के सिक्नुपर्छ ?  

यो एउटा प्राविधिक कोर्स हो । यो कोर्स गर्नुअघि कम्प्युटरको आधारभूत ज्ञान लिएको हुनुपर्छ । छुट्टै प्याकेजअन्तर्गत पनि वेव डिजाइनको कोर्स सिकाइन्छ । सुरुमा पेज तयार गर्न विगिनर प्रोगामिङ सिक्नुपर्छ । यसमा एचटिएमएल कोडका सम्बन्धमा जानकारी दिइन्छ । त्यसपछि जाभा स्क्रिप्टमार्फत पेजलाई डाइनामिक बनाउन सिकाइन्छ । 

जाभा स्क्रिप्ट सिकेपछि लेआउट तयार गर्न ग्राफिक्स कोर्स गर्नुपर्छ । त्यसैगरी सर्भर साइट स्क्रिप्टिङअन्तर्गत एएसपी, पिएचपी, जेएसपीमार्फत डाटा वेससँग सम्पर्क गराउने काम सिकाइन्छ । स्टोरेजका लागि डाटा वेस सिक्नुपर्छ । 

एसक्युएल, माइ एसक्युएलको कोर्स गरेपछि त्यसलाई सर्भरमा अपलोड गर्ने काम सिकाइन्छ । 

कुनै पनि कम्प्युटर तालिम केन्द्रबाट यो कोर्स गर्न ६ महिनादेखि २ वर्षसम्म लाग्न सक्छ । वेवडिजाइनिङका सम्बन्धमा गहन अध्ययन पनि गर्न सकिन्छ । 

वेव डिजाइन गर्ने मानिसमा धैर्य र सिर्जनशीलता हुनुपर्छ । अधीर व्यक्तिले वेवडिजाइनजस्तो झन्झटिलो काम गर्न सक्दैनन् । यसमा एउटा सानो काम गर्न पनि लामो समय लगाउनुपर्ने हुन्छ र मेहेनत पनि उत्तिकै गर्नुपर्छ । 

कहाँ पाइन्छ रोजगारी 

आइटी क्षेत्र वेव डिजाइनरका लागि राम्रो प्लेटफर्म हो । सरकारी तथा गैरसरकारी संघसंस्थामा पनि वेवसाइट बनाउन विज्ञको माग हुनसक्छ । अहिले सरकारी संघसंस्था, एनजीओ, आइएनजीओहरूले आफ्नो अफिसियल वेवसाइट बनाउने क्रम तीव्र छ । कुनै उद्योगमा पनि वेवडिजाइनरको माग हुन्छ । कम्पनीले आफ्नो उत्पादनका सम्बन्धमा जानकारी दिन वेवसाइट संचालन गर्ने भएकाले यस्ता क्षेत्रमा वेव डिजाइनरको आवश्यकता परेको हो । संचार गृहदेखि कमर्सियल रूपमा वेवसाइट संचालन गर्नेहरूमा पनि वेव डिजाइनरको माग हुन्छ । कुनै पनि संस्थामा आबद्ध भएर वा स्वतन्त्र रूपमा वेवडिजाइनरका रूपमा रोजगारी प्राप्त गर्ने प्रशस्त अवसर छन् । 

 Image