Successfully Copied

समस्या महिनावारीको

१७ वर्षीया अजुध्या एउटा समस्याबाट पीडित छिन् । हरेक महिनावारीको अन्तिम ४–५ दिन उनलाई धेरै पीडा हुन्छ ।

१७ वर्षीया अजुध्या एउटा समस्याबाट पीडित छिन् । हरेक महिनावारीको अन्तिम ४–५ दिन उनलाई धेरै पीडा हुन्छ । महिलाहरूमा हुने मासिक स्रावमा कसैकसैलाई यस्तो पीडा भएको पाइन्छ जसका कारण उनीहरू चिन्तित हुन्छन् । महिनावारी सुरु भएको केही वर्ष यस्तो समस्या धेरैलाई हुन्छ, जसलाई ‘डिस्मेनोरिया’ भनिन्छ । २० वर्षीया अनु केसीमा पनि महिनावारीको समस्या छ तर उनको समस्या बेग्लै छ । उनलाई महिनावारीमा अत्यधिक तथा लामो समयसम्म रक्तस्राव हुन्छ । अत्यधिक रक्तस्रावकै कारण कमजोरी महसुस गर्ने, चक्कर लाग्ने, वान्ता हुने समस्या उनमा छ ।

महिनावारीमा हुने यस्तो समस्यालाई ‘मेनोरेजिया’ भनिन्छ । टिनएजमा हुने अर्को एउटा समस्या पनि छ, जसलाई ‘एमेनोरियम’ भनिन्छ । एमेनोरिया अर्थात् महिनावारी रोकिने समस्या । महिनावारी सुरु भएको १–२ वर्षपछि महिनावारी रोकिने समस्या (एमेनोरिया) धेरैले भोगेको हुनुपर्छ । महिनावारी सुरु भैसकेका किशोरीको एक्कासि महिनावारी रोकिँदा गर्भवती भइयो कि भनेर डर लाग्न सक्छ । यी समस्याहरू फरक–फरक भए पनि कारण भने उस्तै–उस्तै छन् । प्राय: स्कुल तथा क्याम्पस पढ्ने उमेरका युवतीहरूमा यस्तो समस्या देखा पर्छ । 

महिलाहरूमा सामान्यतया महिनावारी १३–१४ वर्षदेखि नै सुरु हुन्छ तर अण्डको निष्कासन तथा पाठेघरको परिपक्वता केही ढिलो हुन्छ । पाठेघर तथा अण्डाशयमा दुई किसिमका हार्मोन (ओस्ट्रोजन र प्रोजेस्ट्रोन) उत्पादन हुन्छन् । यी दुई हार्मोनले पाठेघरको संकुचन (कन्ट्राक्सन) तथा त्यसका भित्री तह (इन्डोपेट्रियम) बनाउन, भत्काउन तथा महिनावारी गराउन ठूलो भूमिका खेलेका हुन्छन् । यी हार्मोनको उत्पादन पाठेघर र अण्डाशयमा भए पनि यसको उत्पादनको नियन्त्रण मस्तिष्कको हाइपोथालामस र एन्टेरियर पिट्युटरी ग्रन्थिले गरिरहेका हुन्छन् ।

महिनावारी हुनुमा यी हार्मोनबाहेक पोषण, वंशानुगत तथा वातावरणीय पक्षको ठूलो भूमिका हुन्छ । सामान्यतया अण्डाशयले उत्पादन गरेको अण्डको निक्षेदन अर्थात् फर्टिलाइजेसन नभएपछि पाठेघरको भित्री तह (इन्डोमेट्रियम) टुक्रिन्छ र महिनावारी हुन्छ । किशोरावस्थामा कसैकसैमा पाठेघरको परिपक्वता ढिलो हुने तथा यी हार्मोनको उत्पादनमा सन्तुलन कायम नहुने हुन्छ । त्यसैले पाठेघरको बढी संकुचन (कन्ट्राक्सन) भै बढी तल्लो पेट दुख्छ । त्यसैगरी पाठेघरको भित्री तह (इन्डोपेट्रियम) को खराबीले धेरै रक्तस्राव हुन्छ । महिनावारी नै नहुनुका धेरै कारण भए पनि यो उमेरका अविवाहित किशोरीहरूको अण्ड उत्पादनमा आएको कमी नै त्यसको प्रमुख कारण हो ।

महिनावारी महिलाहरूमा हुने सामान्य प्रक्रिया भए पनि कसैकसैमा मात्र पीडादायक हुन्छ । महिनावारी पीडादायक भयो भन्दैमा आत्तिनु हुँदैन । धेरै पीडा अर्थात् ‘डिस्मेनोरिया’ भएको अवस्थामा पीडा कम गर्ने सामान्य औषधि प्रयोग गर्न सकिन्छ । धेरै रगत जाने अर्थात् ‘मेनोरेजिया’ भएको अवस्थामा रगत कम हुन नदिन आइरन चक्की प्रयोग गर्नुपर्ने हुन सक्छ । एमेनोरियामा कुनै औषधि प्रयोग गर्नु नपर्ने पनि हुन सक्छ ।

सामान्यतया धेरै महिलाका यी समस्या आफै ठीक हुन्छन् । लामो समयसम्म ठीक नभए स्त्री रोग विशेषज्ञसँग सम्पर्क गर्नुपर्छ । यस्तो अवस्थामा भिडियो एक्स–रे तथा अन्य परीक्षण पनि गराउनु पर्ने हुन सक्छ । बढी उमेरका महिलामा यस्तो समस्या भए तुरुन्त भिडियो एक्स–रे तथा अन्य परीक्षण गरी कारण पत्ता लगाउनुपर्छ । यस्ता बिरामीको शल्यक्रिया पनि गर्नुपर्ने हुन सक्छ ।

 Image