Successfully Copied

शुभको प्रतीक रंगोली

एक दशकयतादेखि लक्ष्मीपूजाको दिन घर–आँगनमा रंगोली बनाउने चलन निकै बढिरहेको छ। रंगोलीलाई शुभको प्रतीक मानिन्छ।

एक दशकयतादेखि लक्ष्मीपूजाको दिन घर–आँगनमा रंगोली बनाउने चलन निकै बढिरहेको छ । रंगोलीलाई शुभको प्रतीक मानिन्छ । लक्ष्मीको पाइला बनाएर रंगोली तयार पारिन्छ । वरिपरि बत्ती बालेर यसमा थप सुन्दरता थपिन्छ । रंगोली बनाउने स्थानअनुसार ठूलो वा सानो हुनसक्छ । यसमा विभिन्न रंग, गेडागुडी, अन्न तथा फूल आदि प्रयोग गरिन्छ । अहिले विभिन्न संघसंस्थामा रंगोली प्रतियोगितासमेत हुने गरेका छन् । रंगोलीमा विभिन्न आकृति बनाउन सकिन्छ । रंगोलीमा धेरै किसिमका शुभ चिन्ह बनाइन्छ । तिहारबाहेक अरू शुभ कार्यहरूमा पनि रंगोली बनाइन्छ । विशेषगरी गृह प्रवेश गर्ने स्थानमा रंगोली बनाउनुपर्छ । केही वर्षयतादेखि नेपालमा पनि विविध प्रकारका रंगोली देख्न पाइन्छ । रंगोलीमा चोखो तथा आकर्षक रंग प्रयोग गरिन्छ । 

रंगोलीको इतिहास 

प्राचीन कालमा रंगोलीलाई अल्पना भनिन्थ्यो । अल्पनाको अर्थ लेप लगाउनु हुन्छ । प्राचीन कालमा घरमा रंगीन तथा कलात्मक चित्रहरूको लेपनले घरमा धनधान्य हुन्छ भन्ने विश्वास गरिन्थ्यो । त्यसैले विशेषगरी तिहार तथा उत्सवहरूमा रंगोली बनाइन्थ्यो । रंगोलीले समृद्धि तथा खुसियाली ल्याउने विश्वास गरिन्छ । मोहन्जोदडो एवं हरप्पा संस्कृतिमा यस्ता कलाकृतिले घर सजाइन्थ्यो । 

रंगोलीको महत्व 

रंगोलीलाई धार्मिक एवं सांस्कृतिक आस्थाको प्रतीक मानिन्छ । यो पूजापाठको एउटा महत्वपूर्ण अंग पनि हो । त्यसैले कुनै पनि धार्मिक कर्मकाण्ड गर्नुपूर्व रंगोली बनाइन्छ । गाउँघरमा आँगन लिपेर त्यसमा पिठो, अबिर, बेसार आदि प्रयोग गरी रंगोली बनाउने प्रचलन अहिले पनि छ । नेपाली संस्कृतिमा आँगनलाई लिपेर सुन्दर बनाउने चलन लामो समयदेखि चल्दै आएको छ । 

निर्माण विधि     

रंगोली दुई तरिकाले बनाउन सकिन्छ–सुख्खा वा गिलो । चकले आउट लाइन बनाएर त्यसमा रंग भर्दा उत्कृष्ट रंगोली बन्छ । यसमा सेतो रंगले आउट लाइन बनाउन सकिन्छ । रंगोलीमा ज्यामितीय आकृति तथा फूल–पात निकै लोकप्रिय छ । अहिले बजारमा तयारी रंगोली पनि उपलब्ध हुन थालेको छ। आउटलाइन बनाएपछि आफूसँग भएका सामग्रीले रंगोली सजाउन सकिन्छ । 

 Image