Successfully Copied

स्टार्ट स्कुटी (तयार)

कामकाजी महिलासँग समय कम छ । पछिल्लो समयमा महिलाले घरभित्र र बाहिरको दुवै जिम्मेबारी सम्हाल्नुपर्दा यस्तो चटारो बढेको एक निजी संस्थामा कार्यरत प्रतिभा खड्का बताउँछिन् । व्यस्त समयमा हरेकलाई आफ्नो गन्तव्यसम्म पुग्ने हतार हुन्छ तर समय भने कम । समय व्यवस्थापन र सन्तुलित

कामकाजी महिलासँग समय कम छ । पछिल्लो समयमा महिलाले घरभित्र र बाहिरको दुवै जिम्मेबारी सम्हाल्नुपर्दा यस्तो चटारो बढेको एक निजी संस्थामा कार्यरत प्रतिभा खड्का बताउँछिन् । व्यस्त समयमा हरेकलाई आफ्नो गन्तव्यसम्म पुग्ने हतार हुन्छ तर समय भने कम । समय व्यवस्थापन र सन्तुलित जीवनयापनका लागि सवारी साधनले निक्कै ठूलो भूमिका खेल्छ । त्यति मात्र होइन स्ट्याटस वृद्धिका लागि पनि आजका मानिसलाई सवारी साधनको आवश्यकता छ । जति आधुनिक भए पनि महिलालाई घरभित्रको कामले अझै नछोडेको हुँदा स्कुटर उनीहरूको सर्वत्र काम भ्याउने सहज साधन बनेको छ ।

निजी बैंकमा कार्यरत अनिता थापा भन्छिन्–अफिस घरभन्दा निक्कै टाढा छ । सानो बाबुलाई समय दिनुपर्ने भएकाले यसै वर्ष स्कुटर खरिद गरें । त्यसअघि हरेक दिन अफिस ढिला, त्यसमाथि बोसको किचकिच फलस्वरूप अफिसमा फितलो परफरमेन्स । न अफिसमा दक्षता देखाउन भ्याइने न घरमा बच्चालाई समय दिन सकिने । जब मैले स्कुटर खरिद गरें आधा समय बचेको छ । अफिसको काम मात्र होइन बाहिरी काम भ्याएर बच्चालाई समेत समय निकाल्न सकेकी छु । 

कमलादीस्थित एक ट्राभल एजेन्सीमा कार्यरत यशोदा अधिकारी स्कुटर आफ्ना लागि वरदान साबित भएको बताउँछिन् । कार्यस्थलदेखि घर निक्कै टाढा भएकाले पहिले उनलाई कुन बेला घर पुगिने हो भन्ने चिन्ताले पिरोलिरहन्थ्यो । स्कुटर किनेदेखि ढिलै भए पनि उनको मन डराउँदैन । अफिसबाट झन्डै १७ किलो मिटर दूरीको घर पुग्दा सधै बेलुकी ८ बज्थ्यो तर अहिले उनको काम र यात्रालाई स्कुटरले सहज मात्र बनाएको छैन परिवार र समाजमा उनको स्ट्याटस पनि उँचो बनाएको छ ।

व्यावसायिक महिलाका लागि मात्र होइन गृहिणी तथा स्कुल–कलेजका टिनएजरहरूलाई समेत लक्षित गरी विभिन्न कम्पनीले विविध रंग र मोडलका स्कुटर बजारमा ल्याएका छन् । भिएस अटोमोबाइल्स (भिएस सुजुकी)  ले रातो, नीलो, कालो, सेतो र सिल्भर कलरका स्कुटर बजारमा उतारेको छ । स्टाइलिस्ट, डायनामिक, ब्राइट हेडल्याम्प, स्ट्राइकिङ ड्युल कलर मिटर कन्सोल, मोबाइल चार्जर, सेन्ट्रल लकिङ, ट्युबलेस टायरजस्ता सुविधा यी स्कुटरमा रहेको भिएस अटोमोबाइल्स (भिएस सुजुकी) की सेल्स एक्ज्युकेटिभ भारती पोखरेल बताउँछिन् । यो कम्पनीका स्विस, एक्सेस तथा लेट्स स्कुटर अहिले सर्वाधिक माग भएका स्कुटर हुन् ।

हनी बेल इन्टरनेसनल टेकुले १ सय १० सिसीको सीआईटीआई एस स्कुटर बजार ल्याएको वर्ष दिन बिते पनि यसको माग उच्च छ । रातो, नीलो, सेतो र ग्रे रंगमा उपलब्ध कोरियन ब्रान्डका यी स्कुटर तुलनात्मक रूपमा सुलभ र बलिया भएको कम्पनीको दाबी छ ।

विबिचकी संगीता थापा स्कुटरले जीवन सहज बनाएको तर्क गर्छिन् । उनका अनुसार एकदिन मात्र स्कुटर बिग्रियो वा सर्भिसिङ गर्न दिइयो भने पनि उनको दिनभरिको काम चौपट हुन्छ । कामको तालिकालाई स्कुटरले साथ दिन्छ । संगीता भन्छिन्–यो मेरो व्यक्तिगत एवं व्यावसायिक जीवनलाई सन्तुलित गर्ने प्रमुख अस्त्र हो ।

एआइटी टेकुले लामो समयदेखि एउटै मोडलका टिभिएस स्कुटरलाई निरन्तरता दिइरहेकोमा अहिले नयाँ मोडलको टिभिएस विगो बजारमा उतारेको छ । १ सय १० सिसीको विगोमा लार्ज अलो ह्विल, सहज सेन्टर स्ट्यान्ड, लिड टेल ल्याम्प विथ लाइट गाइड, टेलिस्कोपिक फ्रन्ट सस्पेन्सन आदि सुविधा भएको एआइटीका सुरेश रायमाझी बताउँछन् । सिजी अटोमोबाइल्सअन्तर्गतको एआइटीले आकर्षक लुक्सका टिभिएस जुपिटर गतवर्ष नै लन्च गरे पनि अहिलेसम्म सर्वाधिक रुचाइनेमध्ये परिरहेको छ । मोर सेफ्टी, मोर स्टायल तथा मोर पावर नारा बोकेको टिभिएस जुपिटरको माइलेज ६२ किलो मिटर प्रतिलिटर छ । भोल्कानो रेड, टिटानियम ग्रे, मिडनाइट ब्ल्याक तथा प्रिस्टाइन ह्वाइट आदि कलरमा उपलब्ध जुपिटर युवतीहरूले बढी मन पराउने सुरेशले बताए ।

एलजी ग्लोबल महिन्द्रा टु ह्विलरको आधिकारिक बिक्रेता हो । पछिल्लो समयमा परिमार्जित भएर आएका महिन्द्राका स्कुटर लोकप्रिय छन् । महिन्द्राका सर्वाधिक बिक्री हुने रोडियो आर जेड, ड्युरो डिजेड र फ्लाइटको माग अत्यन्त राम्रे रहेको एसजी ग्लोबलका राम बोगटीले बताए । सर्वाधिक रुचाइएका होण्डाका डियो र एभिएटर पनि अहिले नयाँ मोडलमा देखापरेका छन् । गत वर्ष सिंगल कलरलाई नयाँ मोडल मानिएको डियो यो वर्षदेखि पुन: मल्टी कलरमा झुल्किएको छ । गत वर्ष रातो, कालो, सेतो र पहेंलो रंग सर्वाधिक बिक्री भएको डियो यो वर्ष कलर कम्बिनेसनसहित मल्टी कलरमा आएकाले अझ स्टाइलिस्ट देखिएको छ । अत्यन्त बलियो मानिने एभियटर पनि अहिले प्रोफेसनल महिलाहरूद्वारा निक्कै रुचाइएको स्कुटर हो । बलियो इन्जिन, राम्रो माइलेज अनि रिसेल भ्यालुका कारण होण्डाका उत्पादन सबैको रोजाइमा परेका छन् । डियोको मूल्य १ लाख ६५ हजार ९ सय पर्छ ।

हिरो होण्डाको प्लेजर सदाबहार स्कुटर मानिन्छ । अहिलेसम्म पनि एकनासले बिक्री भैरहेको प्लेजर हाल नयाँ मोडलमा देखा परेको छ । यो पुरानो मोडलमा राखिएका सुविधा परिमार्जन गरी कम पेट्रोल खपत र राम्रो ग्राउन्ड क्लेयरेन्सका रूपमा अगाडि आएको छ । 

संगीता थापा, संस्थापक निर्देशक–विबिच, कुपन्डोल

स्कुटर नकिनी मैले व्यवसाय नै सुरु गर्न सकिन । कसरी बालबच्चा, घरपरिवार र व्यवसाय व्यवस्थापन गर्ने भनेर सम्झिदा पनि अत्यास लाग्थ्यो । जब सवारी साधनका रूपमा स्कुटर खरिद गरें अनि मलाई बल्ल केही गर्न सक्छु भन्ने आँट आयो । सवारी साधन हाम्रो जीवनलाई सहज बनाउने माध्यम हुन् । आज मसँग स्कुटी हुँदैनथ्यो भने सम्भवत: म व्यवसायमा सफल हुन सक्दिनथें । स्कुटी हामी कामकाजी महिलाहरूका लागि अत्यावश्यक छ । यसको महत्व बुझ्नेहरू अवश्य पनि आफ्नो यात्रामा सफल हुन्छन् । आज मेरो जे हैसियत छ त्यसमा मेरो सवारी साधनको ठूलो भूमिका छ ।

स्कुटर किन्दा ध्यान दिनुपर्ने कुराहरू

राजनराज पुरी, सेल्स एण्ड मार्केटिङ, होण्डा

–सर्वप्रथम त आफ्नो कामको प्रकृति हेरेर सवारी साधन छनोट गर्नु उपयुक्त हुन्छ ।

–साधन किन्दा त्यसमा भएका सुविधा तथा इन्धन खपतका बारेमा पूर्ण जानकारी राख्नुपर्छ ।

–सवारी साधनलाई लुगा, जुत्ता वा एसेसरिज खरिद गरेजस्तो हल्का रूपमा लिनु हुँदैन । लामो समयसम्म प्रयोग गर्नुपर्ने हुनाले यसको सेफ्टी तथा सेक्युरिटीमा जोड दिनुपर्छ । 

–छुट, अफर तथा विविध योजनाको मौका छोप्नु फाइदाजनक हुन्छ ।

–रंग छनोटमा पनि उत्तिकै ध्यान पुर्‍याउनुपर्छ ।

 

 Image