Successfully Copied

छालाको समस्या र समाधान

घरपालुवाको छालामा अनेकौं समस्या देखापर्छन् । त्यसैले छालाको उचित रेखदेख वा स्याहार गर्नुपर्छ ।

डा. शरद सिंह यादव

एडभान्स पेट हस्पिटल

विशालनगर, विशाल बस्ती

घरपालुवाको छालामा अनेकौं समस्या देखापर्छन् । त्यसैले छालाको उचित रेखदेख वा स्याहार गर्नुपर्छ । घरभित्र तथा बाहिर हुर्कने कुकुरमा अहिले देखिएको सबैभन्दा ठूलो समस्या नै छालासम्बन्धी समस्या हो । समयमा उपचार नगर्दा छालाको समस्या जटिल हुन सक्छ । समयमै केही सावधानी अपनाए घरपालुवालाई छालामा लाग्ने रोगबाट जोगाउन सकिन्छ । घरपालुवा जनावरको छालाको प्रकृतिका सम्बन्धमा वैज्ञानिक जानकारीको अभावमा उनीहरूलाई सफा तुल्याउन हप्तैपिच्छे नुहाइदिने चलन छ । यसले उनीहरूको छालाको समस्या अझ बढ्छ । छालालाई पनि शरीरको महत्वपूर्ण अंशका रूपमा लिइन्छ । घरपालुवाको छालामा मानिसको जस्तो पसिना आउने ग्रन्थि हुँदैन तर एक किसिमको तैलीय पदार्थको तह हुन्छ जसले छाला तथा रौंलाई पोषण प्रदान गर्छ ।

के–कस्ता समस्या हुन सक्छन् ?

छालाका समस्याको प्रमुख कारक तत्व किर्ना वा उपियाँलाई मानिन्छ । छालाका समस्यामध्ये एलर्जी डर्मटाइटिस, एलोपेसिया, मेन्ज, रिंग वर्ग, फोलिकलाइटिस फुरुन्कलोसिस, सेबोरिसा आदि प्रमुख छन् ।

जोगाउन के गर्ने ?

घरपालुवाका रौं कम्तीमा दिनको एकपटक ब्रस वा काइँयोले कोरिदिनुपर्छ । कुकुरका रौंअनुसारका (लामा तथा छोटा रौंका लागि) ब्रस बजारमा उपलब्ध हुन्छन् । कुकुर दुईदेखि चार महिनाको भएपछि नियमित रूपमा काइँयो वा ब्रस लगाउने बानी बसाल्नुपर्छ ।

कुकुरलाई दुई–तीन साता वा महिनामा एकपटक कुकुरकै लागि बनाइएका साबुन अथवा स्याम्पुले नुहाइदिनुपर्छ । धेरै फोहोर भए पानीले भिजाइएको तौलिया राम्रोसँग निचोरेर केश पुछ्न सकिन्छ । पानीले नुहाउँदा साबुन र स्याम्पुको फिँज राम्रोसँग पखालेपछि भुवादार कपडाले शरीर पुछेर सुकाउनुपर्छ । कुकुरलाई धेरै नुहाइदिनु हुँदैन । बढी नुहाउँदा उसको छालामा भएको तैलीय पदार्थ नष्ट हुँदै जान्छ र छालामा समस्या देखा पर्न सक्छ । नुहाइदिँदा कुकुरका आँखा र कानमा पानी पर्न दिनुहुँदैन ।

कुकुरको खानपानमा ध्यान पुर्‍याउनुका साथै उसलाई आवश्यक खनिज पदार्थ तथा भिटामिन दिनुपर्छ । कुकुरका लागि मासु, अण्डा, तरकारी, फलफूल आदि लाभदायक साबित हुन्छन् भने गुलियो (चकलेट) तथा चिल्लो पदार्थ हानिकारक हुन्छ । वयस्क कुकुरलाई दिनमा दुईपटक निर्धारित समयमा खाना ख्वाउनुपर्छ ।

किर्ना तथा उपियाँबाट जोगाउन कुकुर बस्ने ठाउँ सधैं सफा राख्नुका साथै किर्ना, उपियाँ देखिनेबित्तिकै पशु चिकित्सकको सल्लाहअनुसार उपचार गराउनुपर्छ ।

कुकुरलाई ४–४ महिनामा जुकाको औषधि ख्वाउनुपर्छ ।

लक्षण

कुकुरको छालामा लाग्ने रोग धेरै भए पनि सामान्य भाषामा त्यसलाई लुतो भनिन्छ । रोग लागेको पहिचान गरी राम्रोसँग उपचार गराएको खण्डमा सजिलै निको पार्न सकिन्छ । जति ढिलो गर्‍यो रोग उति बिग्रने सम्भावना हुन्छ । अहिले बजारमा पशुहरूका लागि विभिन्न किसिमका औषधि उपलब्ध छन् । ख्वाउने, लगाउने औषधि तथा सुईको माध्यमले रोग निको पार्न सकिन्छ । त्यसैले समयमै पशु चिकित्सकसँग सल्लाह लिएर उपचार गराउँदा रोग निको हुन्छ ।

 Image