Successfully Copied

बलात्कार महिलाको मात्र समस्या होइन

बलात्कार यौनजन्य हिंसामध्ये पनि घोर आपराधिक, अमानवीय, असामाजिक तथा अनैतिक कार्य हो तसर्थ हाम्रो देशको मूल कानुनले नै महिलाविरुद्ध शारीरिक, मानसिक वा अन्य कुनै किसिमको हिंसाजन्य कार्य गरे त्यो कानुनद्वारा दण्डनीय हुने घोषणा गरेको छ त्यसैगरी नेपाल पक्ष भएका महिला अधिकार महासन्धि, बालअधिकार

बलात्कार यौनजन्य हिंसामध्ये पनि घोर आपराधिक, अमानवीय, असामाजिक तथा अनैतिक कार्य हो तसर्थ हाम्रो देशको मूल कानुनले नै महिलाविरुद्ध शारीरिक, मानसिक वा अन्य कुनै किसिमको हिंसाजन्य कार्य गरे त्यो कानुनद्वारा दण्डनीय हुने घोषणा गरेको छ त्यसैगरी नेपाल पक्ष भएका महिला अधिकार महासन्धि, बालअधिकार महासन्धिलगायतका अन्तर्राष्ट्रिय कानुनअन्तर्गत पनि यौन हिंसाजन्य कार्यबाट सुरक्षित हुन पाउने अधिकारको प्रत्याभूति गरेको छ । तथापि व्यवहारमा भने महिलाहरू लैंगिक हिंसाबाट मुक्त हुन सकेका छैनन् । प्राकृतिक प्रकोपजन्य कठिन परिस्थितिमा त महिलाहरूको अझ विजोग भएको पाइन्छ । हाम्रो समाजमा यसलाई महिलाको मात्र समस्या मान्ने परिपाटीका कारण पनि स्थिति जटिल भएको हो । सामाजिक व्यवहार नसुधारिएसम्म जतिसुकै कठोर कानुन भए पनि यस्ता घटनामा कमी आउँदैन । त्यसैले यसका विरुद्धमा आममनोविज्ञान तयार हुनु र समस्यालाई साझा समस्याका रूपमा लिने वातावरण तयार पार्नु आवश्यक छ ।

सविता कार्की, भैंसेपाटी

सीपमूलक शिक्षा आवश्यक

देशलाई सीपमूलक शिक्षा आवश्यक छ भन्ने कुरा अहिलेको हाम्रो आवश्यकताले प्रस्ट पार्छ । प्रविधि र सीपको अभावमा हामीले अहिलेको विपत्तिमा विदेशीका सामु लाचार हुनुपर्‍यो । कुनै बेला यो भन्दा ठूलो विपत्ति नआउला भन्न सकिँदैन, अनि त्यतिबेला के गर्ने ? आगलागी भैसकेपछि कुवा खनेर केही हुँदैन तसर्थ अहिलेको विपत्तिबाट पाठ सिकेर हामीले आफ्नो शिक्षानीति र पद्धति उत्पादनमूलक बनाउन सक्नुपर्छ । हामीले युवापुस्तालाई व्यावहारिक, प्राविधिक एवं समयानुकूल शिक्षा प्रदान गरेर जस्तोसुकै संकटको पनि सामना गर्नसक्ने जनशक्ति निर्माण गर्नु आवश्यक छ ।

बबिना गुरागाईं, हेटौंडा

सामान्य हुने कहिले ?

अहिले भूकम्पपछि बन्द भएका विद्यालयहरू खुलेका छन् । कतिपयले अलिअलि चर्किएका भवनमै टालटुल पारेर त कसैले पाल वा टहरामै राखेर पनि पढाइ सुरु गर्ने जमर्को गरेका छन् । विद्यालयहरूमा अनुगमन टोलीले सुरक्षित भनेर दिएको प्रमाण देख्नेगरी झुन्ड्याइएका छन् । यो क्रम त यसैगरी चल्ला, भूकम्प तत्काल आउला–नआउला त्यो बेग्लै कुरा हो तर बालमस्तिष्कमा गएको भूकम्पप्रति भने सरोकारवालाहरूको ध्यान त्यति राम्रोसँग पुग्न सकेको देखिएन । भूकम्प आउँदा अग्ला घरका माथिल्ला तल्लामा रहेका बालबाालिकाहरू जो अझैसम्म पनि घरभित्र पस्न डराइरहेका छन्, जसले भूकम्पले हल्लाउँदा पनि के भएको हो भन्ने मेसो पाएनन् बरु पछिमात्रै सबैतिरको हल्लाले त्रासदी झेले । त्यस्ता बालबालिकाहरू सामान्य रूपले विद्यालय गएर अध्ययन गर्न सक्लान् ? भूकम्पबाट अति प्रभावितका अतिरिक्त अन्य बाहिरी जिल्लामा घर भएका धेरैजसो बालबालिकामा काठमाडौं भन्नासाथ भूकम्प गएर मर्ने ठाउँ भन्ने छाप परेको छ । त्यो कसरी मेटिएला ? कतिपयका अभिभावक बालबालिकाभन्दा बढी डराएका छन् । यस्तो स्थितिमा बालबालिकाहरूले कसरी चित्त बुझाउलान् ?

        निकिता श्रेष्ठ, सामाखुसी

महिला अघि बढ्नुपर्छ

देश विकासको लक्ष्य पूरा गर्न अब महिलाहरू अघि बढ्नुपर्ने बेला आएको छ । आफ्ना कमीकमजोरीहरू पन्छाएर वा सुधार गरेर आर्थिक क्रियाकलापमा अग्रसर हुनुपरेको छ । त्यति नगरे महिलालाई बेवास्ता गर्ने परिपाटी अन्त्य हुने छाँट देखिँदैन । महिला सहभागिताबिना निर्माण गरिने पुनर्निर्माण तथा विकास योजना अपरिपक्व एवं त्रुटिपूर्ण हुन्छन् किनभने महिलाबिना पुरुष पूर्ण हुनै सक्दैनन् । महिलालाई समावेश गराएर बनाइएका शिक्षा, स्वास्थ्यदेखि आर्थिक विकाससम्मका योजनाले मात्र अपेक्षित परिणाम दिनसक्छन् । अहिले देखापरेको प्राकृतिक संकटबाट पार पाउन पनि महिलाहरूले कम्मर कस्नैपर्छ भने पुरुषहरूले पनि उनीहरूलाई आवश्यक सहयोग गर्नुपर्छ । आधाभन्दा बढी आकाश ढाकेका महिलाहरू नजुर्मुराएसम्म देशको उन्नति हुन सक्दैन, आर्थिक विकास हुन सक्दैन । त्यसकारण महिलाहरूलाई राष्ट्रिय विकासको मूलधारमा कसरी ल्याउन सकिन्छ भन्ने दिशातिर सबैले सोच्नुपर्छ र महिला स्वयंले पनि आफूलाई अघि बढ्न रोक्ने परम्परागत मान्यतालाई पन्छाउँदै कार्यक्षेत्रमा लाग्ने साहस जुटाउनुपर्छ ।

सुनीता त्रिपाठी, कीर्तिपुर

भूकम्पपछिका नानाथरी हल्लाले गर्भवतीहरूमा त्रास बढाएको छ जसले गर्दा उनीहरू अन्योलको सिकार भएका छन् । यस्तो बेला हल्लाका पछि नलागी विशेषज्ञको सेवा लिनु बुद्धिमानी हो ।

सृष्टि शाक्य, पाटन

अब नेपालीहरूमा बिमा गर्ने संस्कृति बढ्ला जस्तो छ । सबैलाई बिमाको महत्व बुझाइदिने भूकम्पलाई धन्यवाद ।

शान्ता पाण्डे, सीतापाइला

अब नेपालीहरूले नयाँ जोस–जाँगरका साथ राष्ट्र निर्माण गर्ने अवसर जुरेको छ ।

कविता सुनार, धादिङ

गतांकको नारीमा सेलिब्रेटिङ वुमनहुड (नवदेवी सम्मान–२०७२) प्राप्त गर्ने महिलाहरूका सम्बन्धमा जानकारी पाइयो । उहाँहरूको प्रेरणादायी एवं प्रशंसनीय कार्यप्रति हार्दिक नमन ।

सरस्वती भण्डारी, नारायणस्थान

अपार्टमेन्ट संस्कृति जोगाउन प्रभावकारी कदम चाल्नु आवश्यक छ किनभने भविष्यमा पनि सुरक्षित अपार्टमेन्टको विकल्प छैन ।

विनीता काफ्ले, धुम्बाराही

गत महिनाको नारी कभर निकै फरक लाग्यो । समयसान्दर्भिक उक्त आवरण तस्बिर प्रेरणामूलक पनि छ ।

पिंकी अधिकारी, नुवाकोट

धराशायी भएका राष्ट्रिय धरोहरहरूको पुनर्निर्माण गरी पुरानै रूपमा फर्काउनु हामी सबैको दायित्व हो ।

रमिला अवाले, भक्तपुर

गत महिनाको नारीमा प्रकाशित प्रश्नोत्तर स्तम्भका सबै सामग्री समयसान्दर्भिक, जानकारीमूलक एवं रोचक लागे ।

सफला विष्ट, गोकर्ण

मिस नेपाल–२०१५ का सुन्दरीहरूले भूकम्पका कारण उचित चर्चा पाउन नसकेकोमा खल्लो लाग्यो ।

कृपा लामा, काभ्रे

नारीहरू अदम्य साहस एवं धैर्यका प्रतिमूर्ति हुन् । विपत्तिका बेला देशलाई सम्हाल्ने जिम्मा उनीहरूकै काँधमा छ ।

गरिमा आचार्य, म्हैपी

 Image