Successfully Copied

बाँझोपन के हो ?

कुनै पनि दम्पतीको विवाह भएको एक वर्षसम्म परिवार नियोजनका कुनै पनि साधन प्रयोग नगरी सहवास गर्दा गर्भ बसेन वा भएन भने त्यसलाई बाँझोपन भनिन्छ ।

महिला स्वास्थ्य

डा. स्वस्ति शर्मा, भेनस आइ भी एफ सेन्टर, मध्य बानेश्वर

बाँझोपन के हो ?

कुनै पनि दम्पतीको विवाह भएको एक वर्षसम्म परिवार नियोजनका कुनै पनि साधन प्रयोग नगरी सहवास गर्दा गर्भ बसेन वा भएन भने त्यसलाई बाँझोपन भनिन्छ । यसलाई अंग्रजीमा इनफर्टिलिटी भनिए पनि हिजोआज सबफर्टिलिटी शब्द प्रयोग हुन थालेको छ । उपचारपछि गर्भ रहेन भने त्यसलाई इनफर्टिलिटी र उपचार सम्भव भएको अवस्थालाई सबफर्टिलिटी भनिन्छ ।

महिला वा पुरुष कुनमा बढी बाँझोपन देखिने गरेको छ ?

हाम्रो समाज पुरुषप्रधान भएकाले बाँझोपन भए दोष महिलालाई मात्र दिइन्छ । यसमा महिला-पुरुष दुवै बराबर जिम्मेवार हुन्छन् ।

बाँझोपन हुने कारण के-के हुन् ?

बाँझोपनका धेरै कारण छन् । महिलामा महिनावारी गडबड अर्थात् अनियमित हुँदा समयमा अण्डा बन्दैन, जसले गर्दा बाँझोपन हुने सम्भावना रहन्छ । यसैगरी पाठेघरमा ट्युमर पलाउने, पाठेघरको नली बन्द हुने आदि कारणले पनि बाँझोपन हुनसक्छ । पुरुषमा सहवासको समयमा लिङ्ग उत्तेजित नहुने, पर्याप्त मात्रामा वीर्य नहुने, मद्यपान तथा धूम्रपान आदिका कारण पनि बाँझोपन हुन्छ । विदेश -खाडी मुलुक) गएर आएका कतिपय पुरुषमा पनि बाँझोपनको समस्या देखिएको छ । त्यहाँ बढी गर्मी हुने हुँदा शरीरमा वीर्यको मात्रा कम हुने भएकाले बाँझोपन हुनसक्छ । कतिपय नवविवाहित दम्पतीले करियरका लागि विवाह गरेको धेरै समयपछि मात्र सन्तान जन्माउने सोच राखेका हुन्छन् । यसले पनि शिशु नहुने सम्भावना वृद्धि हुन्छ । जंक फुड तथा अस्वस्थकर जीवनशैलीका कारण पनि बाँझोपन बढ्नसक्छ ।

कुन उमेर शिशु जन्माउन उपयुक्त हुन्छ ?

ढिलो शिशु जन्माउने दम्पतीमा बाँझोपनको सम्भावना हुन्छ । नेपालको सन्दर्भमा २५ देखि ३५ वर्षको उमेर महिलाले शिशु जन्माउने उपयुक्त उमेर हो ।

बाँझोपनको रोकथामका लागि के गर्न सकिन्छ ?

विवाह गर्नासाथ करियरका साथै शिशुका बारेमा पनि निर्णय लिनुपर्छ । स्वस्थ जीवनशैली जिउनुपर्छ ।

फेसन

समा बानु, फेसन डिजाइनर

यसपटकको ब्राइडल वेयरमा कस्तो डिजाइन गर्ने सोचमा हुनुहुन्छ ?

हेभी साडी, लेहेंगा, गरारा (पाकिस्तानी पहिरन) एवं हेभी कुर्ता । विवाहमा साडी लगाएर हिँड्न झन्झटिलो हुने भएकाले लेहेंगा स्टाइलको साडी तथा फिक्स्ड साडी उपयुक्त हुन्छ ।

विवाह पहिरनको रंग कस्तो हुनुपर्छ ?

रातो नै जरुरी छैन, पिंक, मरुन तथा ब्लुको सेड पनि प्रयोग गर्न सकिन्छ । पर्पल र ब्लुको कम्बिनेसन वा गोल्डेन पनि लगाउन सकिन्छ ।

ब्राइडल वेयरमा मोडिफाइ गरेर कुनै नयाँ पहिरन बनाउने कल्पना गर्नुभएको छ कि ?

दोपट्टाको साडीलाई एलाइन लेहेंगा बनाएर लगाउन सकिन्छ जसले बडी सेप पनि राम्रो देखिन्छ र साडीको क्लासिक लुक्स पनि आउँछ । लेहेंगा-चोलीमा तासको ब्लाउज बनाउनुपर्छ । नयाँपनका लागि छोटो हेभी कुर्ता-सुरुवालमा घुँडासम्म टाइट र मुनि धेरै ठूलो घेरा हुनसक्छ । यसमा सल र कुर्ताको चोली एकदमै हेभी हुन्छ ।

ब्राइडल वेयरका लागि उपयुक्त फेबि्रक के-के हुन् ?

तास, दोपट्टा, साटन, सिफन, जर्जेट, भेल्भेट, नेट आदि ।

संगीत, मेहन्दी तथा पार्टीका लागि कस्ता पहिरन लगाउन सकिन्छ ?

संगीतमा कलरफुल सल भएको चुँडीदार कुर्ता तथा लेहेंगा सजिलो हुन्छ । मेहन्दीमा पहेंलो वा रातो स्लिभलेस कुर्ता लगाउन सकिन्छ । विवाह पार्टीका बेलामा पर्पल, ब्लु, पिंकजस्ता कलरमा मिरर वर्क, जर्दाेजी, बुलिङ, स्टोन, पर्ल, पोतेको सिक्वेन्स वर्क आदि राम्रो देखिन्छ भने अन्य पार्टीमा लेहेंगा नै उपयुक्त हुन्छ ।

योग

सिर्जना शर्मा, योग गुरू तथा ज्योतिष

दैनिक कति पानी पिउनु उपयुक्त हुन्छ ?

पानी पिउने मानिस कुन ठाउँमा बसेको छ त्यसअनुसार पानी पिउनुपर्छ । पहाड तथा काठमाडौंमा बस्नेहरूले दैनिक दुई लिटर पानी पिउनु उत्तम हो भने तराईमा बस्नेहरूले तीन लिटरसम्म पानी पिउनुपर्छ । आयुर्वेदअनुसार दैनिक ८ गिलास पानी पिउने क्रममा एकपटकमा ८ घुट्कोका दरले पानी पिउनु उपयुक्त मानिन्छ ।

कसरी पानी पिउँदा फाइदा हुन्छ ?

पानी कहिल्यै बोतल वा करुवाले घटघट पिउनु हुँदैन । पानीलाई पनि खानाजस्तै बिस्तारै पिउनुपर्छ । पानी उठेर होइन बसेर आराम साथ पिउनुपर्छ ।

उठेर पानी पिउँदा के हुन्छ ?

उठेर पानी पिउँदा पानीले सीधै शरीरभित्रका हरेक ठाउँमा ठोकेर असर गर्न सक्छ । बसेर सजिलोसँग पानी पिउँदा सजिलै पच्छ र पानीले गर्नुपर्ने काम पनि राम्रोसँग गर्छ ।

पानी धेरै पिउँदा शरीरमा नकारात्मक असर पर्छ ?

चाहिने भन्दा बढी पानी पिउँदा वाटर फ्याट लाग्छ । मानव शरीरमा हावा, पानी र खाना बराबर चाहिन्छ तर पानीको मात्रा पेटभित्र धेरै पुगे उक्त उक्त पानी बोसोभित्र पुग्छ जसले गर्दा शरीरमा बोसो नघट्ने र पानी मात्र खाए पनि कस्तो मोटाएको भन्नेहरू बढेका हुन् । यसरी वाटर फ्याट लाग्यो भने जति योग र एक्सरसाइज गरे पनि घट्न गार्‍हो हुन्छ ।

बिहान उठ्नेबित्तिकै तातोपानी पिउन उपयुक्त हो ?

बिहान उठ्नेबित्तिकै पेटमा अग्नि जागृत भएको हुन्छ, चिसो पानी पिउनासाथ उक्त अग्नि निभ्छ । त्यसैले उठ्नेबित्तिकै कि तातोपानी, कि बेड टि पिउनु उपयुक्त हुन्छ ।

पानीका अरू फाइदा के-के छन् ?

हप्ताको दुई पटक पहिलो पटक तातोपानीले अनि लगत्तै चिसो पानीले धुँदा अनुहारको छाला राम्रो हुन्छ ।

सौन्दर्य

सुनीलजंग मल्ल, जंग स्ट्रङ नेल आर्ट

नेल आर्ट किन जरुरी छ ?

नङलाई सजाउने काम नै नेल आर्ट भएकाले नङलाई सुन्दर तथा आकर्षक बनाउन यो जरुरी छ ।

यसको विकास कसरी भएको हो ? नेल आर्ट गर्दा कुन कुरामा ध्यान पुर्‍याउनुपर्छ ?

नेल आर्ट निकै संवेदनशील काम हो । यसमा रंगसँग खेल्ने कला तथा त्यसको छनोट गर्ने खुबी महत्वपूर्ण हुन्छ । समय सुहाउँदो नेल आर्ट गर्नुपर्छ । विवाहका लागि उपयुक्त हुने नङ अरु बेला असान्दर्भिक हुन सक्छ । नङको आकार तथा हातको रंगअनुसार डिजाइन तथा रंग छनोट गर्नुपर्छ ।

वन स्ट्रोक नेल आर्ट भन्नाले के बुझिन्छ ?

यो लोकप्रिय नेल आर्ट हो । यसका लागि वन स्ट्रोक कलर तथा वन स्ट्रोक ब्रस हुनुपर्छ । यसमा विशेषगरी फूलको आकार नङमा पेन्ट गरिन्छ । यसमा धेरै चमक-दमक हुँदैन ।

नेल आर्टलाई लामो समयसम्म टिकाउन के गर्नुपर्छ ?

राम्रो नेल आर्टिस्टबाट आर्ट गराउनुपर्छ । नेल आर्टका सम्पूर्ण चरण पूरा गरेपछि राम्रो र टिकाउ नेल आर्ट बन्छ । नेल आर्ट गरिसकेपछि आर्टमाथि जेल टप कोट लगाई त्यसलाई युबी ल्याम्पमा सुकाए लामो समय टिक्छ ।

परमानेन्ट नेल आर्टका फाइदा के-के छन् ?

यो लामो समय टिक्छ । यसको लोकप्रियता बढ्दो छ । यो नेल आर्टको निकै नौलो प्रविधि हो । यस्तो खालको नेल आर्ट जेल नेल एक्टेन्सनपछि बनाइन्छ । प्राकृतिक नङमा यो आर्ट गर्ने भए बेस कोट लगाउन सकिन्छ ।

जेल आर्टका लागि कस्ता सामग्री चाहिन्छन् ?

यसका लागि जेल कलर, बेस कोट, डटिङ कोट, युबी ल्याम्प, जेल टप कोट, जेल क्लिन्जर, नेल वाइप्स तथा क्युटिकल तेल आवश्यक हुन्छ ।

 Image