Successfully Copied

सुनका गहनाको संसार

महिलाहरूको सौन्दर्य वृद्धिमा गहनाको भूमिका महत्त्वपूर्ण हुन्छ भने गहनालाई धन सञ्चयको राम्रो माध्यम पनि मानिन्छ ।

महिलाहरूको सौन्दर्य वृद्धिमा गहनाको भूमिका महत्त्वपूर्ण हुन्छ भने गहनालाई धन सञ्चयको राम्रो माध्यम पनि मानिन्छ । विवाहित हुन् वा अविवाहित हरेक नारी गहनामा आकर्षक देखिन्छन् । त्यसैले पनि अहिले बजारमा विभिन्न प्रकार तथा स्टाइलका गहना उपलब्ध छन् । सुनका परम्परागत तथा आधुनिक गहना दुवैको ट्रेन्ड उत्तिकै छ । नेपाली समुदायको पहिचान झल्काउनेदेखि लिएर सुन-चाँदी तथा हीराका आधुनिक गहनाले अहिले फेसनको बजार तताएको छ । चाडपर्वमा लगाउने गहनादेखि लिएर सामान्य स्तरका नियमित लगाउन सकिने सबै प्रकारका गहना बजारमा सहजै उपलब्ध हुन्छन् । आजभोलि कतिपय महिलाले गहनालाई अत्यावश्यक वस्तुका रूपमा पनि लिन थालेका छन् । महिला प्राय:जसो गहना नलगाई बाहिर निस्कदैनन् । गहनाले आफ्नो सुन्दरता बढाउने अनुभव उनीहरूको छ ।

हिजो गहनाको महत्व जस्तो थियो, आज पनि उही र उस्तै छ । यद्यपि हिजोआज गहनाको स्वरूप आधुनिक हुँदै गएको छ । एकातिर परम्परागत गहनाले परिमार्जित रूप प्राप्त गरिरहेका छन् भने आधुनिक गहनाहरू भित्रिने क्रम पनि जारी छ । महिलाहरू तुलनात्मक रूपमा गहनाप्रति अझ बढी सचेत हुँदै गएको व्यवसायीहरू बताउँछन् । फेसनेबल तथा ट्रेन्डका गहनाहरूको पनि विकास एवं बिस्तार हुँदै गएको छ । अहिले खासगरी सुनका नेकलेस, क्रिस्टल माला, पोते पेन्डेन, कण्ठ, चोकर, रानीहार, जन्तर, चन्द्रमा, टप, सिक्री, चुरा, मंगलसूत्र, तिलहरी, चन्द्रमा, औंठी, लकेट, ब्रासलेट, नौगेडी, नत्थी, फूली, मारवाडी आदि बढी खरिद-बिक्री हुने गरेका छन् । जसमा घाँटीमा लगाउने जन्तर, चन्द्रमा, बुङ्गो चुरा, सिक्री, असर्फीका आंैठी, कानमा लगाउने टप तथा झुम्का सर्वाधिक चलेका गहनामा पर्छन् ।

केही वर्षअघि परम्परागत गहनाको आकर्षण घटेको थियो तर अहिले फेरि परम्परागत गहनाकै फेसन सुरु भएको छ । उदाहरणका रूपमा जन्तरलाई लिन सकिन्छ । कम तौलमा बनाउँदा पनि ठूलो देखिने हुनाले जन्तर सबैको पहुँच तथा ट्रेन्डको गहना बन्न सफल छ । यो गहना ४ आनादेखि माथि १ तोलासम्ममा तयार पार्न सकिन्छ । जन्तर सामान्य अवस्थामा भन्दा विशेष पार्टी, समारोह वा पर्वहरूमा लगाइएको पाइन्छ । जन्तर अहिले विवाहित महिलाहरूबीच सर्वाधिक प्रिय गहना मानिन्छ । यसैगरी रामलीला अहिले चलेको अर्को गहना हो । अहिले ठूल्ठूला गहना लगाउने फेसन आएकाले पनि रामलीलाको ट्रेन्ड छ । बलिउड चलचित्र रामलीलामा नायिकाले लगाएजस्तो गहनालाई अहिले उक्त चलचित्रकै नामबाट चिनिन्छ । अहिले मारवाडीको चलन पनि बढेको छ भने पुराना स्टाइलका गहनाको फेसन पनि मौलाउँदै गएको व्यवसायीहरू बताउँछन् । यसैगरी अहिले चलेको पुरानो डिजाइनको गहना पिंजडा पनि हो । हेभी देखिने भएकाले अहिले पिंजडाको माग बढ्दो छ । नेपालमा हाल अन्तर्राष्ट्रिय स्तरका सुनका गहना पनि उपलब्ध छन् जसमा हङकङ डिजाइनका फेन्सी नेकलेस तथा बल चेन प्रमुख छन् । बल चेन मेसिनबाट बनेको सुनको आकर्षक गहना हो । भारतको दिल्लीबाट आयात गरिने यो गहना २२ क्यारेटको हुन्छ जुन आधादेखि १ तोलासम्ममा तयार गराउन सकिन्छ । घाँटीमा लगाइने यस्तो चेन विवाहित तथा अविवाहित दुवैले प्रयोग गर्न सक्छन् । दैनिक प्रयोग गर्न सकिने यो गहना अहिले महिलाहरूको आकर्षणमा परेको प्रमुख गहनाहरूमध्येको एक हो । यसैगरी फेन्सी नेकलेस पनि ट्रेन्डमा आएको अर्को फेसनेबल गहना हो । यो गहना एक तोला सुनमा मात्र पनि बनाउन सकिन्छ । यस्तो गहना  पार्टी, पर्व वा विशेष समारोहमा मात्र लगाइन्छ । डाइमण्ड सेट उच्च घरनाका महिलाहरूले लगाउने गरेका छन् । चोकर फेसनबाट हराउँदै गएको गहना हो । जुन गहना बढी चल्तीमा छ आममहिला त्यतै आकषिर्त हुन्छन् । त्यसैले पनि अहिले चोकरको माग घटेको छ । यो वर्षको चाडपर्वमा सबैभन्दा बढी सिक्री, चुरा तथा टप बिक्री भैरहेको ज्वेलरी सञ्चालकहरू बताउँछन् ।

सुनका गहनामा विविधता पाइन्छ अर्थात् धेरै प्रकारका सुनका गहनाको विकास हुँदै गएको छ । न्यूरोडस्थित श्री महालक्ष्मी ज्वेलर्सका प्रोपराइटर राजेन्द्र रिजालका अनुसार राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा सुनका गहनाको व्यापक विकास एवं बिस्तार हँुदै गएको छ । ८ वर्षअघिसम्म हातले बनाइएका सुनका गहनाको फेसन थियो तर अहिले हातले भन्दा पनि मेसिनले गहना तयार गरिने रिजालले बताए । हातले बनाइएका गहना रसायनयुक्त हुन्थे । २४ क्यारेटको सुनमा रसायन प्रयोग गरेपछि ग्राहकहरूलाई घाटा हुने भएकाले मानिसहरू अहिले रसायन प्रयोग नगरिएका सुनका गहनातर्फ आकषिर्त हुँदै गएका छन् । रसायन प्रयोग नभएका गहना पछि गएर बेच्दा पनि ग्राहकहरूलाई घाटा नहुने रिजाल बताउँछन् । सुन पसलहरूमा पनि अहिले रसायनयुक्त गहना बिरलै पाइन्छ । यसैगरी २२ क्यारेटका सुनका गहनामा महिलाहरूको आकर्षण बढेको पाइन्छ । २२ क्यारेटमा जुनसुकै स्टाइलको गहना बनाउन सकिने भएकाले यसको माग बढेको न्यूरोडस्थित न्यू श्रीनाथ ज्वेलरीका व्यवसायी बताउँछन् । अहिले महिलाहरूको आकर्षण ठूला आकारका गहनामा छ । २२ क्यारेटको सुनमा ठूला आकारका गहना तयार गर्न सकिनेे र जुनसुकै स्टाइलको पत्थर जडान गर्दा अडिने हुन्छ । त्यसैले पनि २२ क्यारेटको सुन नै बढी खरिद-बिक्री हुने कान्तिपुर ज्वेलर्सका प्रोपाइटर सम्पूर्ण ज्योति बज्राचार्यले बताए । २४ क्यारेटको सुन शुद्ध भए पनि पत्थर राख्न बढी सुन आवश्यक पर्ने भएकाले खर्च धेरै हुन्छ । सुनको गुणस्तरलाई क्यारेटमा मापन गरिन्छ । हाल नेपाली बजारमा सेतो, पहेंलो तथा रोज कलरका १० क्यारेटदेखि २४ क्यारेटसम्मका सुन उपलब्ध छन् ।

सुनका गहनाका लागि उपयुक्त स्थान न्यूरोड मानिन्छ । त्यहाँका सुनका गहना पसलहरूमा सरकारले बेलाबेलामा अनुगमन गरिरहने भएकाले विश्वासिला गरगहना मात्र खरिद-बिक्री हुने व्यवसायी राधा श्रेष्ठ बताउँछिन् । सरकारी निगरानीका कारण सुनको गुणस्तर एवं शुद्धतामा कमी-कमजोरी नभएको श्रेष्ठको दावी छ । न्यूरोडका ज्वेलरीहरूमा जस्तोसुकै प्रकारका गहना पनि उपलब्ध हुन्छन् । विश्वमा चलेका सुनका गहनाको जस्तोसुकै स्टाइल यहाँका ज्वेलरीहरूमा तयार गर्न सकिने गहना भण्डार सञ्चालकहरू बताउँछन्  ।

गहना खरिदमा ध्यान दिनुपर्ने कुरा

-    सुनको तौल मापन गर्ने तरिका पारदर्शी छ कि छैन ध्यान दिनुपर्छ अन्यथा घाटा व्यहोर्नुपर्ने स्थिति आइलाग्न सक्छ ।

-    ज्वेलरीले वेवसाइट सञ्चालन गरी सुनका गहना तथा आफ्नो आउटलेटका सम्बन्धमा विस्तृत जानकारी प्रस्तुत गरेको छ कि छैन ध्यान दिनु आवश्यक छ ।

-    आफूले खरिद गर्न लागेको गहना कति क्यारेटको हो निश्चित हुनुपर्छ ।

-    आफूले तिरेको मूल्य र किनेको सुनको तौल तथा क्यारेट समान छ कि छैन ध्यान दिनुपर्छ ।

-    आफूले रुचाएको कलर छान्नुपर्छ । सेतो, पहेंलो वा रोज कुन प्रकारको सुनको गहना खरिद गर्ने हो निश्चित हुनुपर्छ ।

-    खरिद गर्नुपूर्व आफूले खोजेअनुरूपको डिजाइनका बारेमा विभिन्न्ा पसलमा पहिले नै बुझेर भरपर्दो पसल

छनोट गर्नुपर्छ ।

-    सुन खरिद गरेको आवश्यक कागजात लिनुका साथै रिटर्न पोलिसीका बारेमा राम्रोसँग बुझ्नुपर्छ ।

 Image