Successfully Copied

बालबालिकाहरूका लागि स्टाइलिस्ट पहिरन

दसैंमा सबैभन्दा बढी बालबालिकाहरू नै रमाउँछन् । दसैंलाई बालबालिकाहरू लामो बिदा, घुम्न जाने, मीठो खाने, दक्षिणा पाइने र राम्रो लुगा लगाइने

दसैंमा सबैभन्दा बढी बालबालिकाहरू नै रमाउँछन् । दसैंलाई बालबालिकाहरू लामो बिदा, घुम्न जाने, मीठो खाने, दक्षिणा पाइने र राम्रो लुगा लगाइने पर्वका रूपमा लिन्छन् । त्यसैले आमाबुबाहरू पनि आफ्ना लागि भन्दा नानीहरूका लागि सकेसम्म राम्रा पहिरन किन्न खोज्छन् । बालबालिकाहरूका पहिरन आकर्षक देखिनुका साथै सजिला पनि हुनुपर्छ । उनीहरू धेरै खेल्ने-दगुर्ने भएकाले लामो, सल भएको तथा हेभी इम्ब्रोइडरीयुक्त पहिरन किनिदिनु हुँदैन । हेर्दा र लगाउँदा हल्का तर फेस्टिभ लुक्स भने चाहिन्छ । भरेकै पहिरन लगाउने हो भने फ्लावर तथा लेसहरू प्रयोग गर्न सकिन्छ । बालबालिकाहरूको दसैं पहिरनमा फ्लावर बनाएर टल्किने फेब्रिक मात्र प्रयोग गरे पनि राम्रै देखिन्छ । दसैंमा बालबालिकाहरूलाई पनि ट्रेडिसनल ड्रेस नै खुल्छ । बालकहरूलाई दौरा-सुरुवाल, पटियाला कुर्ता तथा बालिकाहरूलाई लेहेंगा, कुर्ता-सुरुवाल वा साडी स्टाइलको एट्याच सल भएको साडी पनि उपयुक्त हुनसक्छ ।  

६ महिनादेखि १ वर्षसम्मका लागि

यो उमेरका नानीहरू सारै क्युट हुन्छन् । उनीहरू भर्खरका फूलजस्तै कोमल देखिन्छन् । भेल्भेटको कपडामा ग्याडर चोली भएको फ्रकमा मोतीको ह्यान्ड वर्क, गोल्डेन स्प्रिङ, विड्स तथा स्टोन प्रयोग गरे नानीहरू सुन्दर देखिन्छन् । भेल्भेटकै फ्लावर एट्याच हेडब्यान्ड तथा क्लिपहरू बनाएर लगाइदिँदा बालिकाहरू साना परीजस्तै हुन्छन् । बालकहरूका लागि पनि भेल्भेट फेब्रिक नै उत्तम हुन्छ । भेल्भेट फेब्रिकमा वेस्ट कोट, टाउजर तथा टिसर्ट बनाइएको छ भने वेस्ट कोटमा मोती वा हल्का गोल्डेन स्प्रिङ वर्क गराउँदा आकर्षक देखिन्छ  ।

२ वर्षदेखि ४ वर्षका लागि

यो उमेरका छोरीले जे लगाए पनि सुहाउँछ । टिस्यु वा नेटका कपडामा वान पिस गाउन जसमा सिक्वेन्स विड्स तथा क्रिस्टल वर्क गरिएको पहिरन लगाइदिँदा बालिकाहरू निकै आकर्षक देखिन्छन् । उनीहरूलाई भेल्भेट र नेट  फेब्रिक मिक्स गरेर गाउन स्टाइलको अनारकली पनि सुहाउँछ । छोराहरूका लागि सर्ट, पाइन्टमा भेल्भेट वा ब्रोकेटको वेस्ट कोट उपयुक्त हुन्छ । दौरा-सुरुवालमा ढाका वा भेल्भेटकै वेस्ट कोट पनि आकर्षक देखिन्छ ।

५ वर्षदेखि ७ वर्षका लागि

यो उमेरका बालिकाहरूका लागि चोली डिजाइनमा वान पिस फ्रक जसमा डबल लेयरमा विड्स वर्क गरिएको उपयुक्त हुन्छ । त्यसमा टिस्यु, नेट वा सिक्वेन्स वर्क फेब्रिक प्रयोग गरेर पहिरनलाई फेस्टिभ मुडमा ढाल्न सकिन्छ । यो उमेरकाहरूले फेसन ट्रेन्ड अथवा आमाहरूको नक्कल पनि गर्ने भएकाले आफूले बनाएको जस्तै कुर्ता, लेहेंगा, वान पिस वा साडीमा सजिलो हुने गरी डिजाइन गराउन सकिन्छ । लेगिन्स र स्कर्ट, पेन्सिल स्कर्ट, डिभाइडेट स्कर्ट सारै राम्रो देखिन्छ । स्कर्टमा भने कलर कम्बिनेसन र फ्लावर, विड्स, मोती, थ्रेड वर्क प्रयोग गराउन सकिन्छ । साना बालकहरूका लागि सफारी सुट उपयुक्त हुन्छ जसमा हाफ बाहुलामा बेल्ट एट्याच भएको डिजाइन छ भने साधारण सफारी सुटभन्दा फरक देखिन्छ । यो उमेरका बालकहरूलाई वेस्ट कोट र पाइन्ट पनि राम्रै देखिन्छ भने रंगमा मास ग्रीन, ब्ल्याक तथा क्रिम सुहाउँछ ।  

८ वर्षदेखि १२ वर्षका लागि

यो उमेरका साना बालिकाहरूका लागि अम्रेला कुर्ता एकदमै राम्रो देखिन्छ । अम्रेला कुर्तामा नेट र भेल्भेट फेब्रिक मिक्स गरेर विड्स एण्ड सिक्वेन्स तथा स्टोन वर्क गराउनुपर्छ । यो उमेरका बालिकाहरूका लागि अलि हेभी वर्क भएको लेहेंगा, अनारकली तथा गाउन पनि उपयुक्त हुन्छ । चुडीदार सुरुवालमा अनारकली वा फ्लोर लेन्थवाला बोर्डर राखिएको गाउन स्टाइलको अनारकली उत्तम हुन्छ तर पनि यो उमेरका बालबालिकाहरू आफ्नो रोजाइ आफैले भन्न सक्ने हुँदा उनीहरूको रुचिमा पनि ध्यान पुर्‍याउनुपर्छ । यो उमेरका बालकहरूका लागि पठानी र शेरवानी निकै राम्रो देखिन्छ । पठानीमा हल्का प्लेन कपडाको कुर्ता र सलवार अनि वेस्ट कोट चाहिँ भेल्भेट फेब्रिकमा विड्स तथा स्प्रिङ वर्क गरेर बनाउनुपर्छ । जसमा ब्लु, मरुन, क्रिम, खादी ब्राउन कुर्ता-सुरुवालका लागि प्रयोग गर्दा बालकहरू सुन्दर देखिन्छन् । वेस्ट कोटका लागि डार्क पर्पल, डार्क रोयल ब्लु तथा मरुन सुट गर्छ । दौरा-सुरुवालमा कम्मर पेटी डिजाइन गरेर टोपीसमेतको सेट बनाउन सकिन्छ ।

- परी श्रेष्ठ, सनपरी, न्यूरोड

 Image