Successfully Copied

तीजका लागि डिजाइनर पहिरन

तीज भन्नेबित्तिकै महिलाहरूको श्रृंगारको कुरा आउँछ। जसरी श्रृंगारले महिलाहरूको सुन्दरतामा निखार ल्याउँछ त्यसरी नै पहिरनले

तीज भन्नेबित्तिकै महिलाहरूको श्रृंगारको कुरा आउँछ। जसरी श्रृंगारले महिलाहरूको सुन्दरतामा निखार ल्याउँछ त्यसरी नै पहिरनले पनि महत्वपूर्ण भूमिका खेलेको हुन्छ। डेढ दशकअघिसम्म पनि तीज आयो भन्नासाथ माइती जाने, दु:ख भुल्ने अवसरका रूपमा गाउने, नाच्ने र आफूसँग भएका राता साडी लगाएर राम्री देखिने चाडका रूपमा लिइन्थ्यो तर केही समययता समय आधुनिकतातर्फ ढल्किएसँगै तीज पहिरनले पनि फड्को मारेको छ। अहिले महिलाहरूले महिनौं दिन चल्ने दरदेखि तीज, ऋषि पञ्चमीसम्मको प्लानिङ गरेर पहिरन बनाउने तथा किन्ने गरेको पाइन्छ। तीज भन्नासाथ रातो, साउने सोमबार भन्नासाथ हरियो प्रतिक वा व्राण्ड जस्तै भएका छन् तर यसपटक महिलाहरू त्यो चलिआएको फेसन ट्रेन्डबाट अलि अघि बढेको देखिन्छ। हरेक बुटिक तथा रेडिमेड शोरुमहरूमा हरिया र राता पहिरन मात्र देखिने यो समयमा विभिन्न कलर कम्बिनेसनका पहिरन ह्याङ गरिएको देखिनु यसको ज्वलन्त उदाहरण हो। यसपटक रातो, हरियो र गोल्डेन कमन तीज कलरलाई मोडिफाइ गरी डिजाइन गरिएको देखिन्छ। साडी बढी चल्ने यो तीजमा लेहेंगा, फिक्स साडी तथा लेयरवाला कुर्ताको माग पनि बढ्दो छ।  अनामनगरकी आयशा पौडेल बैंकर हुन्। उनको विवाह भएको ३ वर्ष भयो। पौडेलले यसपटक दर खानका लागि ३ जोर कुर्ता-सुरुवालका साथै तीजका लागि रातो साडी बनाएकी छिन्। उनले बनाएको तीज पहिरनको बजेट झन्डै ६० हजार छ। पौडेलले भन्छिन्, वर्षभरि कमाएको पैसा के गर्ने ? यस्तै चाडपर्वमा आफ्ना लागि खर्च गर्नु पनि राम्रै हो। आयशाजस्ता धेरै महिला छन्, जो तीजका लागि स्पेशल पहिरन बनाउने तथा किन्ने काम गर्छन्।

पहिले आमाहरूको पालामा विवाहको रातो साडी लगाएर तीज मनाइन्थ्यो भने अहिले हरेक तीजका लागि डिजाइनरकहाँ गएर साडी, लेहेंगा, कुर्ता आदि बनाउने चलन बढ्दो छ। साडी भन्दा ब्लाउजमा अझ बढी डिजाइन खोज्नेहरू छन्। अचेल महिलाहरू दसैंमा भन्दा तीजमा राम्रा पहिरन लगाउन खोज्छन्। तीजका लागि बढी प्रयोग हुने फेबि्रक, भेल्भेट, ब्रोकेट, सिफन, जर्जेटलाई मिक्स गरेर तयार पारिन्छ। अहिले तीज निकै फेसनेबल चाडका रूपमा विकसित भैरहेको छ। राम्रा डिजाइनका महँगा पहिरन लगाएर विभिन्न कार्यक्रमका साथै आफन्तकहाँ दर खान जाने, व्रत बस्ने होड बढ्दो छ। टिनएजरदेखि वृद्धाहरूसम्म पनि तीजमा के लगाउने भन्ने तयारीमा जुट्छन्।

नवदुलहीको तीज पहिरन

तीजमा नवदुलही हुन् वा विवाह भएको ३० वर्ष कटेका जोकोही पूर्णरूपमा सिंगारिन्छन्। टाउकोमा राखिने चन्द्रमा, क्लिप आदिदेखि लिएर चुरा, पोते, टीका, धागो, जुत्ता, पहिरन सबै उत्तिकै महत्वका साथ छनोट गरी शृंगार गरिन्छ। त्यसमाथि नवदुलहीका लागि त यो एउटा त्यस्तो पर्व हो जसमा उनीहरू आफू सजिने पर्खाइमा रहन्छन्।  यद्यपि कामकाजी महिलाहरूका लागि शृंगार आफैमा चुनौती पनि हुन्छ। कस्तो पहिरन छनोट गर्ने, कसरी छिटो लगाउने अनि कसरी बढीभन्दा बढी आकर्षक बन्ने भन्ने होड हुन्छ। यस्तो प्रतिस्पर्धात्मक स्थितिमा नवदुलहीलाई लक्षित गरेर ५ मिनेटभित्रै लगाउन सकिने फिक्स्ड साडीको माग बढ्दो छ। फिक्स साडी प्रिन्टेड लेस, नेट ब्रोर्डर, जर्जेट, सिफन, सिमर आदि फेबि्रकमा डिजाइन गरिएको छ जसमा रातो, हरियो, गोल्डेन, रानी, अरेन्ज, पर्पल आदि कलर प्रयोग गर्न सकिन्छ। फिक्स साडी लगाउन कुनै कठिनाइ हुँदैन किनभने साडीको मुजा पहिले नै राखिएको हुन्छ। यसको ब्लाउजका लागि क्रेप सिल्क, समर भेल्भेट, जर्जेट आदि उपयुक्त हुन्छन्। नवदुलहीका लागि हाफ सिल्भ वा कुहिनासम्मको बाहुला राम्रो खुल्छ भने अगाडि जिपर लगाइएको मिरर ह्यान्ड इम्ब्रोइडरी गरिएको ब्लाउजले सौन्दर्यमा निखार ल्याउँछ। साडी नै लगाउने बानी छ र साडीलाई सम्हाल्न सकिन्छ भने लेस प्याच गरेर वा मोटीको वर्क गरेर ब्लाउजलाई समर भेल्भेट वा प्रिन्टेड नेटमा हाफ बाहुला बनाउँदा पनि हुन्छ। साडीमा रातो कलर नै उपयुक्त हुन्छ यद्यपि रातोमा विभिन्न रंगलाई कन्ट्रास्टका रूपमा प्रयोग गर्न सकिन्छ।

- सविना महर्जन अवाले, फेसन डिजाइनर

टिनएजर तीज पहिरन

तीज जति विवाहित महिलाहरूका लागि महत्वको चाड हो त्यति नै अविवाहित टिनएजरहरूका लागि पनि हो। राम्रो, असल श्रीमान् पाऊँ भनेर व्रत बसिने हुँदा यसको महत्व पनि उत्तिकै छ। यसपटकको तीजमा किशोरीहरूका लागि लेहेंगा चोली फेसनमा छ। लेहेंगामा सफ्ट नेट, ओपल सिल्क, जर्जेटमा बढी रुचाइएको छ। ब्लाउज तथा लेहेंगा एउटै कलरको रहन दिएर सल मात्र फरक कम्बिनेसनमा बनाउँदा टिनएजरहरू निकै आकर्षक देखिन्छन्। यो उमेरका लागि तीजमा रातो, हरियोका साथमा पिच, रोयल ब्लु, लाइट अरेन्जमा रेड मिक्स गरेर बनाइएका लेहेंगा निकै रुचाइएको छ। टिनएजरहरू रातो भन्दा कलरफुल तथा अरूभन्दा भिन्न देखिन कलर र फेबि्रकमा नयाँपन खोज्ने भएकाले यसपटक रातोलाई हल्का डिजाइनमा प्रयोग मात्र गरेर कलरफुल रंगलाई तीजको पहिरनका रूपमा प्रस्तुत गरिएको पाइन्छ। फेबि्रकमा सेल्फ डिजाइन तथा वर्क टिनएजरहरूको पहिलो च्वाइस भएको छ जसमा हेभी इम्ब्रोइडरी गरिरहनु पर्दैन, लाइटमा एलिगेन्ट लुक्स दिने भएकाले यसपटक यो फेबि्रकमा बनेका लेहेंगा, वान पिस तथा कुर्तीहरू प्रयोग हुँदैछन्। कोट स्टाइलको ब्लाउजमा लेहेंगा पनि रुचाइएको छ जसमा सलको झन्झट गर्नुपर्दर्ैन। टिनएजरहरूले बोर्डे नेकको ब्लाउज, हाफ नेट तथा हाफ फेबि्रक राखेर बनाइएका ब्लाउज पनि रुचाउँछन्।  

अहिले तीजका लागि स्टाइलिस्ट स्ट्रेट कुर्ताहरू पनि बजारमा छन्। नेकमा हल्का इम्ब्रोइडरी गरिएका प्लेन कुर्ताले स्मार्ट तथा चाडपर्वको लुक्स दिन्छन्। यो उमेरकाहरूलाई वान पिस पनि राम्रो देखिन्छ। रातोमा इम्ब्रोइडरी गरेर ग्रीन टच दिइएका वान पिस, वर्क नेटमा स्ट्रेट निलेन्थ वान पिस पनि आकर्षक देखिन्छ। अलि स्टाइलिस्ट नै लगाउने किशोरीहरूका लागि स्कर्ट टाइपको फिस टेल स्टाइलमा घुँडासम्म टाइट तलबाट फेरि फुक्दै गएको लेहेंगा जसमा सललाई मसिनो स्टाइल गरेर लेसले बेरिएको हुन्छ जसले स्मार्ट लुक्स दिन्छ। ब्लाउज रेड बनाएर मुनिको स्कर्ट गोल्डेन, पर्पल बनाउन सकिन्छ। टिनएजरहरूले मरुन कलर बढी रुचाउने हुँदा यही कलरमा अरू कलर प्रयोग गरी पहिरन डिजाइन गर्न सकिन्छ।

- रोजिना श्रेष्ठ, फेसन डिजाइनर

परिष्कृत तीज पहिरन

तीज भन्नेबित्तिकै रातो पहिरनको झझल्को आउँछ। परम्परागत रूपमा चलिआएको तीजको पहिरन अहिले २१ औं शताब्दीमा आइपुग्दा समयअनुरूप आधुनिक हुँदै गएको छ। अहिलेको समयमा कामकाजी महिलाहरूमा सरल एवं सहज पहिरनप्रति रुचि बढेको छ। महिलाहरूमा हल्का नेकलाइन भरिएका कुर्ती जसलाई पाइन्ट वा लेगिन्ससँग लगाउन सकिन्छ लोकप्रिय छन्। अहिले लामा कुर्ती प्रचलनमा छन्, जसलाई लगाउँदा अग्लो र स्लिम देखिन सकिन्छ। लामो कुर्तीमा चुडीदार पनि उत्तिकै आकर्षक हुन्छ। यस्तो कुर्ती सलबिना पनि लगाउन सकिन्छ। तीजमा साडी नै लगाउने हो भने मुजा फिक्स भएको साडी लगाउन सकिन्छ जसमा साडी र्झने, लत्रिने आदि चिन्ता लिनुपर्दैन। लेहेंगा लगाउने हो भने आफ्नो शरीरको बनावट तथा छाला सुहाउँदो डिजाइन बनाउँदा अझ आकर्षक देखिन्छ। अहिले साडीमा बेल्ट लगाउने चलन पनि बढ्दो छ। साडी तथा ब्लाउजको रंगसँग सुहाउने गरी बेल्ट बनाउँदा अरू भन्दा फरक देखिन्छ। यस्तो बेल्ट भेल्भेटको भए अझ राम्रो हुन्छ।

अहिले साडीमा हाफ इम्ब्रोइडरी गरी हाफ प्याचको चलन बढ्दो छ। हाइट र कम्प्लेक्सनअनुसार प्याचको कलर तथा मोटाइ निर्धारण गर्नुपर्छ। तीजका लागि रातो, गोल्डेन तथा हरियो रंगलाई  साथमा लिएर कुर्तामा नयाँ लुक्स दिन रानी, हरियो, पहेंलो तथा ब्राइट कम्बिनेसन दिनुपर्छ जुन यसपटकको तीजका लागि रुचाइएको कम्बिनेसन हो। रातो साडीमा सिल्भर भेल्भेट प्याचवर्क, रेडमा प्यारोट ग्रीनको कम्बिनेसन वा अरेन्जको कम्बिनेस यसपटकको तीजलाई लक्षित गरी बनाईएको साडीका कलर कम्बिनेसन हुन्। घाम-पानी नभनी दिनभरि भोकै बसेर पूजापाठ एवं नाच-गान गरिने भएकाले धेरै हेभी साडी लगाउन गार्‍हो हुन्छ। हेभी साडी लगाउन नरुचाउनेहरूले प्याच वर्कमा जोड दिनु उपयुक्त हुन्छ। तीजका दिन झलमल्ल परेको हेभी साडी नै लगाउन खोज्नेहरूका लागि सितारा, बोर्डर वर्क तथा लेस प्याच गरिएका डिजाइनहरू उपलब्ध छन्। सिफनको साडी भर्न लगाएर वा कुर्तामा ब्रोकेटको प्याचवर्क दिएर कम मूल्यमै साधारण तर हेभी लुक्स दिन सकिन्छ । पुराना बनारसी साडीलाई मोडिफाइ गरेर पनि नयाँ लुक्स सिर्जना गर्न सकिन्छ।

- मञ्जु बञ्जारा, फेसन डिजाइनर

 Image