Successfully Copied

तीजको तयारी

तीज महिलाहरूले निकै रुचाएको तथा उल्लासपूर्वक मनाउँदै आएको चाड हो। यसले नेपाली दिदीबहिनीहरूमा रमाइलो दिनको आगमनको उद्घोष गर्छ।

तीज महिलाहरूले निकै रुचाएको तथा उल्लासपूर्वक मनाउँदै आएको चाड हो। यसले नेपाली  दिदीबहिनीहरूमा रमाइलो दिनको आगमनको उद्घोष गर्छ। नेपाली महिलाहरूले निकै हार्दिकतासँग तीज मनाउँछन्। अहिले महिलाहरूलाई कुनै जात तथा धर्मको घेराले बाँधेको छैन। हरेक वर्ग तथा धर्मका महिलाहरू तीज मनाउँछन्। त्यसैले अब यो चाड समग्र नेपाली महिलाहरूको चाडका रूपमा देखा परेको छ। महिलाहरू सोर्‍ह शंृगारमा सजिएर आफूलाई सुन्दर रूपमा प्रस्तुत गर्छन्। साउन १५ गतेदेखि नै तीजको लहरले महिलाहरूमा एक प्रकारको उन्माद उत्पन्न गर्छ। हरेक  घरमा तीजको तयारी सुरु हुन्छ। हुन त साउन लागेपछि नेपालमा चाडपर्वको ओइरो लाग्छ तैपनि तीजलाई केही वर्षदेखि दसंै-तिहारपछिको ठूलो चाडका रूपमा मनाइँदै आएको पाइन्छ। तीजमा व्रतलगायत दर, किनमेल, नाचगान तथा सौभाग्यका सामान आदान-प्रदान हुन्छन्। तीजलाई लक्षित गरी महिलामैत्री वस्तुहरू पनि बजारमा ल्याइन्छ। तीजको अवसर पारेर अनेकौं कार्यक्रम आयोजित गरिन्छ भने विभिन्न प्रदर्शनी पनि हुने गरेका छन्। हरेक महिला तीजलाई रमाइलोसँग मनाउन पछि पर्दैनन्। कतिपय महिलाले तीजका लागि केही बजेट छुट्याउँछन् र प्रशस्त मात्रामा किनमेल गर्छन्।

महाराजगंजकी सुष्मा सापकोटा तीज निकै रमाइलो गरी मनाउँछिन्। उनी तीजको तयारीमा करिब १५ दिन खर्च गर्छिन्। सापकोटा भन्छिन्, 'अरु सबै चाड हामीले अरूले मनाउन भनेर तयार गरिदिने हो तर तीज केवल हाम्रो चाड हो।' उनको तीजको तयारी रातो साडी-चोलो सिलाउने कामबाट सुरु हुन्छ। किनभने यतिबेला टेलरमा कामको चापाचाप हुन्छ। अलिक चाँडो सिलाउन नदिए तीजमा लुगा लगाउन पाइँदैन। उनी त्यसपछि फेसियलका लागि पार्लर जान्छिन्। तीजको मेकअप विशेष खुल्नुपर्छ। फेसियलले अनुहार स्मुथ बनाउँछ, मेकअप राम्रो बस्छ। त्यसपछि उनी किनमेलमा केन्दि्रत हुन्छिन्। यसरी कामकाजी हुन् वा गृहिणी हरेक महिलाले तीजका लागि विशेष योजना बनाउँछन्। उनीहरू वर्षमा एकपटक मनाइने रमाइलो चाडको तयारी कमजोर होस् भन्ने चाहँदैनन्। तीजको संकेत बजार तथा वातावरणले दिन्छ। यतिबेला पूजाका सामग्रीदेखि फलफूल एवं मिठाईं पसलहरूमा विशेष भीडभाड देखिन्छ। तीजका दिन मठ-मन्दिरहरूमा राता पहिरनमा महिला दिदीबहिनीहरूको रमाइलो परेड देख्न सकिन्छ। उनीहरूले लगाएका पोसाक, मेकअप तथा गरगहना सबैलाई समान खुलेको देखिन्छ, कसैको भन्दा कसैको कम हुँदैन। तीजको तयारीमा साथीभाइको सहकार्य पनि राम्रै हुन्छ। महिला दिदीबहिनीहरू मिलीजुली किनमेल गर्न जान्छन्।

कालीमाटीकी दीपा राणा तीजलाई मौैलिक नेपाली चाड भन्न रुचाउँछिन्। उनी तीजमा दिदीबहिनीहरूलाई मीठा-मीठा परिकार बनाएर ख्वाउँछिन्। त्यसो त उनी जति व्यस्त रहे पनि तीजको दरका लागि विशेष तयारी गर्छिन्। उनी त्यसका लागि बजेट बनाएर दिदीबहिनीहरूलाई निमन्त्रणा गर्छिन्। सबैको रुचिअनुसार परिकार तयार गर्छिन्। उनी त्यस दिन गुलिया परिकारलाई प्राथमिकता दिन्छिन्। राणा भन्छिन्-सबै दिदीबहिनी भेला भएर मध्यरातमा खाइने दरका लागि म एक हप्ता अघिदेखि नै तयारी सुरु गर्छु। खानपानका साथमा उनी नाचगानबाट पनि वातावरण तताउँछिन्। दरका दिन सबै काम गर्न भ्याइँदैन, त्यसैले तयारी पहिले नै गर्दा सजिलो हुन्छ।

त्यसो त तीज राम्रा पहिरन लगाउने चाड पनि हो। रातो रंग हरेक महिलालाई खुल्छ। अनिवार्य रूपमा हरेक महिलाले तीजमा एकजोर राता पहिरनको जोहो गर्छन्। आफ्नो रुचिअनुसार कसैले साडी त कसैले कुर्ता-सुरुवाल लगाउँछन्। त्यसैले महिला दिदीबहिनीहरू तीजका लागि केही हप्तादेखि नै योजना बनाउँछन्। तीजमा टेलर तथा बुटिकहरूमा पनि भ्याइनभ्याइ हुन्छ।

कमलपोखरीकी दीपिका पाण्डे हरेक वर्षको तीजमा नयाँ पहिरन सिलाउँछिन्। त्यसका लागि उनी विभिन्न बुटिक धाउँछिन्। सिरियलमा कुनै राम्रो रातो पहिरन देखे उनी त्यस्तै अर्डर गर्छिन्। यसपटक रेडिमेड साडी बनाउने मुडमा छिन् उनी। पाण्डे तीजमा अरू कुरालाई भन्दा पनि राम्रा पहिरनलाई प्राथमिकता दिन्छिन्।

पुतली सडककी पूणिर्मा शाही भने तीजलाई मेकअपको चाड भन्न रुचाउँछिन्। त्यसका लागि उनी विशेष योजना बनाउँछिन्। अहिले तीजको स्वरूप केही परिवर्तन भएको छ। अहिले विभिन्न च्यानलले पशुपतिबाट लाइभ कार्यक्रम प्रस्तुत गर्छन्। तीजको केही दिनअघि उनी सौन्दर्य सामग्री खरिद गरी समय मिले पार्लर तथा समय नमिले घरमै फुल मेकअप गरी पशुपति जान्छिन्। रातो साडीमा रातो मेकअप निकै सुहाउँछ। उनी तीजको तयारीका लागि स्पा तथा पार्लर पनि जान्छिन् । त्यसै दिनका लागि नेल आर्ट पनि गराउँछिन् ।  

हरेक घरका महिलाले तीजका लागि विशेष तयारी गर्छन्। तीजको तयारीमा निकै विविधता पनि देखिन्छ। तीजको तयारीमा एउटा कुरामा मात्र केन्दि्रत हुन सकिँदैन। अझ हिजोआज त महिलाहरू तीजको दिन नृत्य गर्नकै लागि तालिम लिएर आफूलाई पारंगत बनाउन थालेका छन्।

 Image