सूर्यबहादुर थापाको आत्मकथा आवरण सार्वजनिक
काठमाडौंमा आयोजित कार्यक्रममा पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाको आत्मकथा आवरण ‘मेरा नौ दशक : पाँच व्यवस्था, पाँच राजा र पाँचपटक प्रधानमन्त्री’सार्वजनिक गरिएको छ ।

नेपालका यौनिक तथा लैिंगक अल्पसंख्यकहरूका पीडा थुप्रै छन् । पारिवारिक र सामाजिक हेला मात्र होइन राज्यको विभेद, प्रहरी–प्रसाशनको दुर्व्यवहार र रोजगारीको अभावसमेत उनीहरूले झेलिरहेका छन् । यसले आफूहरूलाई मनोविषाद, एन्जाइटी, डिप्रेसनमा पुर्याएको उनीहरूको भनाइ छ । उनीहरूले यी समस्यहरूबाट छुट्कारा पाउन नागरिकता, वैवाहिकलगायतका अधिकार, पहिचान तथा सीपमूलक प्रशिक्षण र रोजगारीका अवसर दिनुपर्ने माग गरिरहेका छन् । आफूहरूसँग क्षमता र सीप भएपनि जागिर पाउन कठिन भएको दुखेसो उनीहरूको छ । यसो त यौनिक तथा लैिंगक अल्पसंख्यक समुदायका मानिस यौन पेसा मात्रै गर्छन् भन्ने आम बुझाइ छ । तर, यो बुझाइलाई उनीहरूले ठाडै अस्वीकार गर्दै भन्छन्, ‘हाम्रो समुदायभित्र सीप, क्षमता र दक्षता भएका थुप्रै व्यक्तित्व छन् । धेरैले आफ्नै बलबुँतामा समाजमा नाम, दाम, इज्जत र प्रतिष्ठा पनि कमाएका छन् ।’ ‘नारी’ले यो अंकमा तिनै अब्बल प्रतिनिधि पात्रहरूलाई समेटिएको छ :
पिंकी गुरुङ
संस्थापक, ब्लु डायमण्ड सोसाइटी
बहुमुखी प्रतिभाकी धनी पिंकी गुरुङ २१ वर्षअघि यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायको हक–हित, अधिकार र संरक्षणका लागि आवाज उठाउने व्यक्तित्वमध्येका एक हुन् । सन् २००१ मा ‘ब्लु डायमण्ड सोसाइटी’ स्थापनामा उनको उल्लेख्य योगदान छ । त्यही सोसाइटीका कारण आज यौनिक तथा लैङ्गिक अल्पसंख्यकले थोरै भए पनि सजिलो गरी श्वास फेर्न पाएका छन् । पछिल्लो समय उनी यो समुदायको हक–अधिकारका लागि नीति बनाउने, सरकारसँग वकालत गर्ने, समुदायमा गएर पीडामा परेकाहरूको उद्धार गर्ने तथा समुदायका लागि राष्ट्रिय–अन्तर्राष्ट्रिय समुदाय र संघसंस्थासँग सहकार्यका लागि पहल गर्नमा व्यस्त छिन् । अघिल्लो निर्वाचनमा प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दिएकी थिइन् । पराजय भएपनि उनको हिम्मत टुटेको छैन । ‘म हारसँग डराउने मान्छे होइन, जहिले पनि मैले यस्ता परिस्थितिलाई शक्तिमा बदलेर अगाडि बढिरहेकी छु’ उनी भन्छिन्, ‘धेरै संघर्ष र हन्डर–ठक्करसँग जुध्दै म यो समुदायका लागि निरन्तर लागिरहेँ र त आज हाम्रो समुदाय क्रमशः अधिकारतर्फ उन्मुख छ ।’ उनी विगतलाई सम्झिदै थप्छिन्, ‘मेरो समयमा जस्तो हाल चौतर्फी चुनौती छैन । हाम्रा कतिपय अधिकार स्थापित भइसकेका छन् । सरकारले यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदाय पनि छ भनेर मनन गरी नीति तथा कार्यक्रमलगायत बजेटमा उल्लेख गरेको छ । संविधानमै हाम्रा बारेमा लेखिएको छ । कति साथीहरूले नागरिकता र वैवाहिक विषयमा कानुनी अधिकार प्राप्त गरिसकेका छन् । भलै यसले समग्र समुदाय नसमेटेको किन नहोस् तर नजिर बनिसकेको छ ।’
सञ्जीव गुरुङका रूपमा लमजुङमा जन्मिएकी पिंकीले सुरुवाती दिनमै विभेद, हेय तथा हिंसा खेप्नुपर्यो । उनी जन्मिनुअघि उनका दुई दाइको निधन भएकाले सेनामा कार्यरत बुवाले पिंकीलाई बच्चैदेखि केटाकै वेशभूषामा देख्न रुचाए । उनी भन्छिन्, ‘परिवारबाट भन्दा पनि मैले सामाजिक हिंसा बढी खेप्नुपर्यो । म जन्मिएको केही महिनामै बुवाले हामी सबैलाई काठमाडौं लिएर आउनुभयो । मेरो अधिकांश समय लैनचौरमा बित्यो । त्यो जमानामा सहरकै बसाइ भए पनि हामीजस्ता मान्छे कोही देखिँदैनथे । उमेर बढ्दै जाँदा मेरो शरीरको लचकता केटीको जस्तै हुन थाल्यो । घरमा किन केटीको जस्तो हाउभाउ गर्छस् भन्थे । जब मेरो दाह्रीको रेखी बस्न थाल्यो तब मलाई भित्रैदेखि असाध्यै पीडा हुन थाल्यो । शरीर केटाको, मन केटीको किन भएको होला मेरो ? भन्ने चिन्ता र द्विविधाले जहिले पिरोल्थ्यो ।’ पिंकीले समाज, छरछिमेक, विद्यालय, विशेष गरी शौचालयहरूमा नमीठो विभेद र दुर्व्यवहार सहनुपरेको बताइन् । त्यसको पीडाले अझै पनि उनलाई पोलिरहन्छ ।
कामकै सिलसिलामा उनले दर्जनभन्दा बढी मुलुकको भ्रमण गरिसकेकी छन् । त्यहाँ आफूजस्ता अन्य व्यक्तित्वहरू देखेर उनीमा झनै साहस र हौसला थपियो । उनी विदेशमै पनि बस्न सक्थिन् तर नेपाल फर्केर आफूजस्ताको हक–अधिकारबारे लड्ने उनको अठोटले उनलाई बाँधेको रहेछ । यसै सन्दर्भमा उनले भनिन्, ‘म एक्लैले सहज जीवन यापन गरेर के गर्ने ? म त कुनै कारणका लागि जन्मिएकी हुँ । म जत्तिको पढेलेखेको, संसार देखेको, बुझेको र आवाज उठाउन सक्ने मान्छे विदेश पलायन भयो भने हाम्रो समुदायको निमुखाको आवाज बनेर को अघि सर्ने ? त्यही सोचेर जति पटक विदेश गए पनि गन्तव्य भने नेपाल नै बन्यो ।’
उनी निडर भएर आफ्नो समुदायका लागि आवाज मुखरित गर्छिन् । भर्खरै टिनएज पार गर्दै गर्दा संस्थामा आवद्ध उनी अहिले समुदायका मुद्दामा निखारिएकी छन् । भूकम्प र कोरोनाकालको लकडाउनमा कतिपय यौनिक तथा लैङ्गिक अल्पसंख्यक व्यक्तित्वहरूले आत्महत्या गरे । यसले उनलाई निक्कै दुःखी तुल्यायो । सरकार र विभिन्न संघ–संस्थासँगको पहलमा राहत संकलन गरी वितरण गरिन् । उनी भन्छिन्, ‘हाम्रा थुप्रै मुद्दामध्ये मूल मुद्दा भनेको सीप र क्षमताका आधारमा रोजगारी पाउनुपर्छ भन्ने पनि हो । बेरोजगारीकै कारण कतिपय साथी गलत काम गर्न बाध्य छन् । बाँच्नु त पर्यो ? यत्तिकै मर्न सकिँदैन । तसर्थ सरकार, कर्पोरेट हाउस एवं अन्य संघ–संस्थाले पनि यता सोचिदिनुपर्छ ।’
सोफी सुनुवार
पहिलो ट्रान्स जेन्डर मेकअप आर्टिस्ट
बाल्यकालदेखि नै आर्टमा रुचि भएकी सोफी सुनुवार ‘पहिलो ट्रान्सजेन्डर फिमेल मेकअप आर्टिस्ट’ हुन् । उनले हालसम्म दर्जनौं ‘मिस नेपाल’ तथा ‘ब्युटी प्याजेन्ट’, ‘ग्ल्यामर इभेन्ट’, ‘फेसन शो’ लगायत राष्ट्रिय–अन्तर्राष्ट्रिय सेलिब्रेटीहरूको मेकअप गरिसकेकी छिन् । सुनील नामक केटाका रूपमा काठमाडौंमा जन्मिएकी सोफी जब ‘ब्लु डायमण्ड सोसाइटी’ प्रवेश गरिन् तब उनको रुचि र रहरले पखेंटा भिजाउने मौका पायो । उतिबेला उनी संस्थाले आयोजना गर्ने विभिन्न कार्यक्रमको ‘प्ले कार्ड’ मा आर्ट गर्ने, कलरसँग खेल्ने गर्थिन् । सोफी भन्छिन्, ‘म बोल्न, नाच्न, मेकअप र आर्ट गर्नमा निकै सक्रिय र अब्बल थिएँ, त्यसैले संस्थाभित्र पनि सबैको आँखामा परें ।’ सन् २००८ मा उनी ‘एसिया प्यासिफिक ट्रान्स नेटवर्क’ को बैंककमा भएको कार्यक्रममा जाने मौका पाइन् । त्यहाँ पहिलो पाइला टेक्नेबित्तिकै एयरपोर्टमै आफूजस्तै ट्रान्स जेन्डर एयरहोस्टेज देख्दा मनोबल बढेको उनले अनुभव सुनाए ।
ग्ल्यामर फिल्डमा कोही चिनेजानेका नभएकाले नेपाल फर्केपछि उनलाई यो क्षेत्रमा कसरी यात्रा अघि बढाउने भन्ने लाग्यो । उनको टोलमा मिस नेपाल प्याजेन्टमा मेकअप गर्ने र ब्युटिपार्लर चलाइरहेकी एकजना दिदीकै सहयोगमा सोफी ‘मिस नेपाल प्याजेन्ट’ सम्म पुगिन् । सोफीको कामबाट प्रभावित भएर मिस नेपाल आयोजकले उनलाई सन् २०१५, २०१६ र २०१७ को ‘मिस नेपाल प्याजेन्ट’मा ‘अफिसियल मेकअप आर्टिस्ट’ तथा ट्रेनरका रूपमा अनुबन्ध गरे । त्यसयता यो क्षेत्रमा उनको यात्रा रोकिएको छैन । उनी भन्छिन्, ‘एकदिनमा ६ सय जनालाई मेकअप सिकाएको र ३० घण्टासम्म नरोकिई काम गरेको अनुभव मसँग छ ।’ उनले जीवनको यात्रामा तेस्रोलिंगी भएकै कारण कयौं दुर्व्यवहार, हिंसा, विभेद र लाञ्छना समेत खेपेकी छन् । यी सबका बाबजुद आफूलाई यहाँसम्म ल्याइपुर्याउनुमा आफूभित्रको शक्ति र आत्मविश्वास नै कारक भएको उनी बताउँछिन् ।
सोफीले मेकअप नगरेका नेपालका कमै सेलिब्रेटी छन् । मनीषा कोइरालादेखि बिग बोसका विनरसम्मलाई आफ्नो कलाको जादुले विशेष लुक्स दिन सफल सोफीको बाल्यकाल काठमाडौंको असन र बानेश्वरमा बितेको हो । बाल्यकालदेखि नै उनी दिदीको घाँघर–चोली लगाएर कम्मर लच्काउँदै असाध्यै राम्रो नृत्य गर्थिन् । उनी भन्छिन्, ‘मेरो शरीर अत्यन्तै लचिलो थियो । हिँड्दा पनि लच्किएर हिँड्थें । स्कुलमा सबैले छक्का, ‘हिजडा’ भनेर जिस्क्याउँथे । जहिले मेरो सर्ट पछाडि मसीले निथ्रुक्कै भिजाइदिन्थे । हुँदा–हुँदा मेरो मानसपटलमा यस्तो परिसकेको थियो कि, सर्टमा मसी नछर्केको दिन पनि पछाडिबाट झोलाले सर्टलाई छेकेर आउँथे र लुसुक्क घरभित्र छिरेर सर्ट धुन थाल्थें । एकदिन त शिक्षकले पनि अगाडि उभ्याएर ‘हिजडा’ भन्नुभो, जुन स्कुल गएपनि मलाई सबैले यस्तै गर्छन् भन्ने लागेपछि पढ्नै मन लागेन । प्लस टु गरेर छोडिदिएँ । यी सारा कुराले ममा मानसिक समस्या ल्यायो । कतिपटक सलले पासो लगाएर मर्न खोजें तर यहाँसम्म आइपुग्नु रहेछ भगवान्ले बचाउनुभयो ।’ पुरुष प्रधान देशमा तेस्रोलिंगी महिला भएर बाँच्नु अत्यन्तै गाह्रो भएको उनको तर्क छ । सरकारले मूलतः यो समुदायको रोजगारीका लागि आरक्षण गर्नुपर्ने उनको भनाइ छ । भन्छिन्–‘हाम्रो समुदायलाई वैवाहिक, नागरिकता र पहिचानको अधिकारलगायतका मुद्दा सम्बोधन नगरेसम्म हामी सबल हुन सक्दैनौं ।’
पराक्रम राणा
डिजिटल कन्टेन्ट क्रियटर, स्टाइलिस्ट तथा ब्लगर–भ्लगर
पराक्रम राणा सानैदेखि सिर्जनशील थिए । काठमाडौंमा जन्मिएका उनले मुम्बईमा मनीषा कोइराला, सुशान्त सिंह राजपूत, ऋचा चड्डा, अमायरा दस्तुरलगायतका बिग नेम सेलिब्रेटीहरूसँग स्टाइलिङको काम गरिसकेका छन् । अन्तर्राष्ट्रिय बिग ब्रान्ड ‘अमेजन’, ‘जोमिचु’, ‘मिन्ता’ लगायतका कम्पनीमा समेत उनले काम गरिसकेका छन् । कोरोनापछि नेपाल फर्किएका पराक्रमलाई यहाँ आएपछि यही काममार्फत नेपाललाई संसारभरि चिनाउनुपर्छ भन्ने अनुभूति भयो । ‘नेपाल ग्रोइङ मार्केट भएकाले गर्न सक्यो भने यहाँ धेरै कुराको अवसर छ । म संयुक्त परिवारमा बस्ने भएकाले यसको मूल्य र महत्व झल्किने कन्टेन्ट पस्किएँ धेरैले मन पराए’ उनी भन्छन्, ‘हरेक मान्छेको हातमा मोबाइल छ र पनि यहाँ अझैसम्म यो नौलो कुरा छ । यो मल्टी–मार्केटिङ व्यवसाय हो । यसलाई बिजनेसकै रूपमा अगाडि लैजानु पर्छ भन्ने लागेर मैले मेरो टिकटक, इन्स्टाग्राम, अफिसियल साइट, फेसबुकलगायतका सोसल साइटमार्फत उपयोगी कन्टेन्ट पस्किन थालें, धेरैले रुचाए । फलस्वरूप नेपालमा दराज मार्केटप्लेस, फोन पे, सामासुङ, संयुक्त राष्ट्रसंघ, केएफसी, ह्यात होटललगायतका ब्रान्ड र संस्थासँग काम गर्न पाएँ ।’ पराक्रमको मुख्य काम यी ब्रान्डप्रति कसरी विश्वास बढाउने, कसरी यसको नामलाई ठूलो समूहसम्म पुर्याउने, कसरी ब्रान्ड स्थापित गर्ने भन्नेमा सिर्जनशील कन्टेन्ट बनाउनु हो । यसका लागि उनले केकी अधिकारी, आँचल शर्मा, सिम्पल खरेल, अश्मि श्रेष्ठ, रेश्मा घिमिरे आदि सेलिब्रेटीहरूसँग काम गरिसकेका छन् । आफ्नो काममार्फत विश्वव्यापी प्लेटफर्म सिर्जना गर्न लागिपरेका पराक्रम नेपालमा पनि यसको स्कोप राम्रो छ भनेर संसारमा चिनाउन चाहन्छन् ।
प्रतिष्ठित राणा परिवारमा जन्मिएका पराक्रमलाई ९ कक्षा पढ्दाताका महसुस भयो, आफू छुट्टै पहिचान बोकेको मानिस रहेछु भनेर । सुरुमा घरपरिवारमा सेयर गर्न असाध्यै डर लागेको बताउँदै उनी भन्छन्–‘म के हो ? को हो ? किन मलाई केटा नै मन पर्छ भन्ने कुराले निकै सताउँथ्यो । घरमा दिज्जु र म दुई सन्तान अनि एक्लो छोरा भएकाले भन्न डर लागेको थियो तर १२ कक्षा पढ्दा अभिभावकलाई मेरा सबै कुरा सेयर गरें । नसोचेको प्रतिक्रिया आयो, मेरो कुरा सुनेर उहाँहरूले अझ माया र केयर गरेको महसुस भयो । उहाँहरूबाट प्रेरणा र थप हौसला पाएँ । मेरो परिवार मेरा लागि बुस्टर डोज हो ।’ परिवारले त स्वीकार गर्यो तर आफन्तहरू खासखुस गर्न थाले, एक्लो छोरो, यत्रो विरासत, भोलि विवाह गर्नुपर्ला धेरै कुरा आउन थाले तर पराक्रमले यी सब कुराको बेवास्ता गर्दै परिवारको बलमा आफ्नो कामलाई निरन्तर अगाडि बढाइरहे । आज उनी आफ्नो कामसँगै खुसीपूर्वक जीवन बिताइरहेका छन् । त्यसो त उनले समलिंगी भएकै कारण हिंसा भोग्न नपरेको भने होइन । भारतको कलेज पढ्दा उनलाई निकै बुलिङ हुन्थ्यो ।
अवसर नपाएकै कारण यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायका कतिपय व्यक्तिहरू यौन पेसामा लाग्न बाध्य हुनुपरेको यथार्थ खोल्दै उनले भने–‘यो सब हुनुमा अवसरको कमी हो । यो समुदायलाई अवसरको खाँचो छ । अर्को कुरा मूलधारका मिडिया चाहे चलचित्र हुन् वा टेलिभिजन शोमा यो समुदायलाई हाँसोको पात्रका रूपमा मात्रै प्रस्तुत गरिदिनु भएन । आमिर खान, शाहरूख खान, सलमान खानले साडी लगाएर महिलाको भूमिका निभाउँदा वाहावाही पाउने यो समुदायकाले त्यही गरे भने अर्को अर्थ लगाउने वा कमेडी ठानिदिने ?’
पराक्रमले रुपिज स्कुलमा ५ कक्षासम्मको अध्ययन गरेपछि राजस्थानको मायो कलेजबाट ‘प्लस टु’ गरे । त्यसपछि उनले मुम्बईको ‘जय हिन्द कलेज’बाट मास मिडिया एड्भरटाइजिङमा स्नातक गरेका हुन् । उनले लन्डनको कोन्डे नास्ट कलेजबाट भोग सर्टिफिकेट कोर्स गरे । यही शिक्षाले उनलाई आफ्नो क्षेत्रमा अब्बल हुन सघायो ।
एलिन भण्डारी
ट्रान्सम्यान एक्टिभिस्ट
एलिन भण्डारी नेपालकै प्रथम ‘ट्रान्सम्यान’ हुन् । काठमाडौंमा एलिना नामकी बालिकाका रूपमा जन्मिएका उनी उमेरसँगै बढ्दै गएको स्तन र पाठेघर शल्यक्रिया गरी फाले । त्यसपछि दाह्री–जुँगा आउने हर्मोन बढाउने औषधि खान थाले । हाल उनी पूर्णरूपमा पुरुषको भेषमा हुन्छिन्, उनको स्वर पनि पुरुषको जस्तै छ । उनी भन्छन्, ‘युवतीका रूपमा जन्मिएँ, तन महिलाको तर मन पुरुषको, केटीहरूप्रतिको आकर्षण बढ्दै जान थाल्यो । भित्रभित्रै डर लाग्थ्यो, मनमा असाध्यै द्विविधा हुन्थ्यो । म किन अरु भन्दा फरक ? मेरो शरीर र मन एकै किन नभएको, भन्ने कुराले हरक्षण पिरोल्थ्यो ।’ बाल्यकालदेखि केटाको जस्तै हाउभाउ र पहिरन गर्ने एलिनले एकदिन लामो केश काटी टाउको मुडुलो बनाएर आए । घरका सबै तर्सिए । उनले दाइलाई भने, ‘तैंले मलाई सहयोग गर्नुपर्छ, म तेरी बहिनी होइन, मलाई भाइजस्तै व्यवहार गर्नू ।’ यसमा उनलाई दाइको सहयोग प्राप्त भयो । उनका बुवाले सधै भन्थे, ‘तँ किन यसरी बेरूपी भएर हिँड्छेस् ?’ बिस्तारै आमाबुवाले यो कुरा थाहा पाएपछि एकदिन आमाले नमीठो मानेर भनिन्, ,‘तैंले किन यसरी आफ्नो मन र शरीरलाई यत्ति धेरै दुःख दिएको ? आफ्नो खुसी गर्नू ।’ आमाको यो कुराले एलिनको मुटु छोयो । उनी भन्छन्, ‘अहिले बुवाआमा दुवै छोराका रूपमा स्वीकार गर्न पाउँदा खुसी हुनुहुन्छ । उहाँहरूको मप्रतिको मायाले यो सबै सम्भव भयो ।’
सन् २०१५ तिर एलिन समुदायसँग हटलाइनमा काम गर्थे । उनको काम यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायभित्रका अन्यौलता, उनीहरूलाई परेका समस्या, सामाजिक बहिष्करणमा परेका तथा एचआइभी प्रभावितहरूसँग संवाद र काउन्सिलिङ गर्नु थियो । उनी भन्छन्, ‘त्यतिबेला समुदायसँग त छँदैछ त्यसबाहेक महिला आयोग, मानवअधिकार आयोग, स्वास्थ्य सेवा आयोग र विभिन्न सरकारी निकायसँग हाम्रो समुदायबारे वकालत गर्ने काम गर्थें । यो कामले हाम्रो समुदायभित्र आत्मविश्वास बढायो भने समाजमा परिवर्तन ल्यायो ।’ यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायका मानिसहरूले बाल्यकालदेखि नै पारिवारिक तिरस्कार, सामाजिक हेय र विभेद भोग्नुपर्ने एलिन बताउँछन् । स्कुलमा यौनिक तथा लैङ्गिक अल्पसंख्यकमैत्री वातावरण कसरी सिर्जना गर्ने, यस्ता बालबालिकाका परिवार र अभिभावकहरूलाई कसरी सचेत र सजग गराउने, कसरी उनीहरूलाई यो विषय बुझाउने भन्ने नीति तथा कार्यक्रमको अवधारणा र कार्यान्वयनमा एलिनको मुख्य भूमिका छ । उनी भन्छन्, ‘काठमाडौं, बाँके र दैलेखका स्कुलहरूमा मेरै नेतृत्वमा जनचेतनामूलक कार्यक्रम सम्पन्न भयो, यसले सकारात्मक परिणाम ल्यायो । तर सुरुवाती दिनमा काठमाडौंका नाम चलेका विद्यालयबाट पनि हामी अस्वीकृत भएका थियौं । सहजै स्वीकार गरेका परिवारलाई एकैठाउँमा ल्याएर ‘रेन्बो ग्रुप’ बनाएका छौं, जसले ‘पियर टु पियर’ परामर्श दिन्छन् । यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायका मूल कार्यक्रम गाईजात्रा, गौरव यात्रामा ती परिवार वा अभिभावकलाई रोल मोडलका रूपमा प्रस्तुत गरिन्छ । यौनिक तथा लैङ्गिक अल्पसंख्यक भन्नेबित्तिकै तेस्रो लिंगी महिलाको विषय मात्रै हाइलाइट भएको र यसले अन्यलाई छायामा पारेको उनलाई अनुभूति हुन्छ । बालिका भएर जन्मिएका तर फरक मन बोकेका ट्रान्सम्यानहरू लैङ्गिक पहिचानको हिसाबले फरक हुँदा झन् दोहोरो–तेहेरो मारमा पर्ने उनको बुझाइ छ । ‘कतिपय बालिकालाई करेक्टिभ रेप (यौनको स्वाद थाहा नपाएर केटाजस्ती भएकी, एकपटक यौन कार्य गरेपछि केटी हुन्छे भनेर परिवारले नै केटा खोजेर यौनसम्बन्ध गराइदिने) घटनादेखि प्रसूतिसम्बन्धी विविध समस्याका कारण मजस्ता कयौं ट्रान्सम्यानहरू दैनिक मर्दै बाँच्न विवश छन्,’ उनी भन्छन्, ‘मूल कुरा त हामीलाई समान मानवका रूपमा व्यवहार गर्नुपर्यो । हरेक ठाउँमा हामीले मात्रै विभेद भोग्नुपर्ने किन ? जागिर खान जाँदा आफूसँग सीप र दक्षता नै भएपनि कतै काम दिइँदैन किन ? सरकार र समाजले सोच्नुपर्ने होइन ?’
पिरु राना
गायक, संगीतकार, गीतकार
दर्जन गीतमा संगीत भरिसकेका पिरु रानाका १० वटा भन्दा बढी गीत युट्युबमार्फत रिलिज भइसकेका छन् । आफूले गाएका सबै गीत उनी आफैंले लेखेका हुन् । उनको ‘शब्द’ र ‘लुकामारी’ गीत निकै लोकप्रिय भयो । इन्डी, पप, हिपहप गाउने उनका गीतमा यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायका आवाज गुञ्जिएका हुन्छन् । बालिकाका रूपमा जन्मिएका उनी पछिल्लो समय हेर्दा पुरुषजस्तै देखिए पनि आफूलाई ‘नन–बायोनरी (गैर–द्वयसांख्यिक) को परिचय दिन्छन् । यो भनेको न पुरुष, न महिला अर्थात् उनी आफूलाई महिला वा पुरुष कुनै पनि नभएर छुट्टै लिंगी भएको बताउँछन् । हालसम्म उनले लन्डनमा सम्पन्न ‘मिस युके नेपाल २०१२’, नेपालको ‘वुमन इट कन्सर्ट’, ‘ब्लु डायमण्ड सोसाइटी’को गाईजात्रा तथा गौरव यात्रा लगायतका ठूला इभेन्टमा प्रस्तुति दिइसकेका छन् ।
पिरुलाई सात कक्षामा पढ्दा केटी मन पर्न थाले । साथीहरू उनलाई ब्वायफ्रेन्ड नबनाउने ? भनेर जिस्क्याउँथे तर उनको मन केटाप्रति पटक्कै जाँदैनथ्यो । उनी छोरासरह हुर्किएका थिए । लुगाफाटो, हाउभाउ कटाक्ष, कपाल र बान्की सबै केटाकै हुन्थ्यो । परिवारले सोचेका थिए, उमेर बढ्दै जाँदा परिवर्तन आउला भनेर तर त्यसो भएन । स्कुल र कलेजमा उनलाई छक्का भन्न थालियो यो स्टेजमा उनले थुप्रै हिंसा र मानसिक यातना सहनुपर्यो । उनी ‘प्लस टु’ पछि उच्च शिक्षाका लागि लण्डन पुगे । ‘त्यहाँ पुगेपछि छुट्टै संसारमा प्रवेश गरेको महसुस भयो । यो संसारमा मजस्ता अरू पनि थुप्रै मानिस रहेछन् भन्ने लाग्यो । साथीहरूसँगको उठबसले ममा दह्रो आत्मविश्वास पैदा गरायो । अनि उतैबाट घरमा फोन गरेर बहिनीलाई आफ्नाबारे सबै कुरा बताएँ । आज म हुनुमा बहिनीको ठूलो साथ र सहयोग छ’ आफूप्रति परिवारको प्रतिकृयाबारे उनी भन्छन्, ‘यो त छोरा भएर जन्मिनुपर्ने कसरी छोरीको रूपमा जन्मिई भन्नेहरू परिवारभित्र र आफन्तमा धेरै थिए । परिवारको साथ पाए पनि विद्यालय र समाजभित्र भने विभेद, हिंसा, तिरस्कार बेहोर्नुपर्यो । त्यतिबेला सुत्नुअघि डाँको छोडेर रुनु मेरो दैनिकी बनेको थियो । एकातिर आफूमा मनदेखि अर्कै फिलिङ्स छ, म के हुँ, को हुँ भन्नेमै द्विविधा छ, अर्कातर्फ सबैको हेलाहोचो र तिरस्कार । दोहोरो हिंसामा आफूलाई सन्तुलन गर्नै गाह्रो भएको थियो ।’
लन्डनमा प्राप्त गरेको शिक्षा र अनुभवले उनलाई बलियो बनाइसकेको थियो । आफू जे हुँ त्यही भएर आफ्नै देशमा बाँच्छु, यो समुदायका लागि केही गर्छु भन्ने दृढता उनको मनमा पलाउन थाल्यो । फलस्वरूप उनी नेपाल फर्किए । सन् २०१० मा ‘सताएर फकाउने बानी’ बोलको गीतमा उनले स्वर दिए । त्यो गीत सर्वाधिक हिट भएर मिलियन बढी भ्युज पायो तर त्यसमा स्वर उनको व्यक्तित्वसँग नमिलेको भन्दै अर्की केटीलाई राखेर भिडियो बनाइयो । पिरुलाई बाइकट गरियो । यसको झट्का नराम्ररी लाग्यो । उनी भन्छन्, ‘जे भएपनि स्वर र मेहनत त मेरै हो । मैले जिएक्स सोललाई विश्वास गरेर काम गरें तर मलाई यसरी फालियो कि गीत–संगीतप्रति भरोसा नै लाग्न छाडिसकेको थियो । तर बिस्तारै आफूलाई मनाउँदै गएँ र पुनः संगीतमै काम गर्न थालें ।’ पछिल्लो समय उनी विभिन्न विज्ञापन र क्यापियनहरूको जिंगलका लागि शब्द लेख्ने र कम्पोज गर्ने काम गर्छन् । यसबाट उनलाई राम्रै आम्दानी पनि भइरहेको छ । त्यसबाहेक उनी लाबिम मलमा गिग गर्छन् । गीत गाउने र कन्सर्टमा प्रस्तुति दिने काम पनि भ्याइरहेका छन् । यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायबारे स्कुल तहदेखि नै शिक्षा दिनुपर्ने उनको धारणा छ किनभने अहिले पनि बालबालिकालाई लिङ्ग कति प्रकारका हुन्छन् भनेर सोध्यो भने दुई प्रकारका भन्छन् ।
पहिलेको तुलनामा आफूजस्ता व्यक्तिहरूका लागि स्थिति केही सहज बनेपनि अधिकार पाइनसकेको उनी बताउँछन् । भन्छन्–‘यसका लागि सरकारी तहबाटै बलियो नीति र कानुन बन्नुपर्छ । अझैसम्म यौनिक तथा लैङ्गिक अल्पसंख्यक जति सबैले यौन पेसा गर्छन् भन्ने माइन्ड–सेट छ । यसलाई चिर्न हाम्रो समुदायका साथीहरूले आफूमा सीप विकास गर्दै योग्यता, क्षमता र दक्षता बढाउनु आवश्यक छ भने सरकारले सोही आधारमा कामको आरक्षण गरिदिने वा कुनै व्यवस्था ल्याइदिनुपर्छ । अहिले समुदायभित्रका साथीहरू आफ्नै बलबुँताले काम गरेर खाइरहेका छन् ।’