Successfully Copied

‘नेपालप्रति विश्वको ध्यानाकर्षण गर्न पहल गर्नेछु’

शिक्षा पहिलो जड हो । शिक्षाले नै आत्मनिर्भर र दृढ बनाउँछ ।

‘मिस नेपाल अर्थ–२०२२’ को उपाधि जितेकी ललितपुरकी डा. सरिशा श्रेष्ठ अब हुने ‘मिस अर्थ’मा नेपालको तर्फबाट प्रतिनिधित्व गर्ने भएकी छन् । ‘सेन्टमेरिज’ बाट स्कुलिङ, सेन्ट जेभियर्सबाट बायोलोजीमा प्लस टु र किस्ट मेडिकल कलेज एण्ड टिचिङ हस्पिटलबाट एमबीबीएस गरेकी उनी यसअघि पनि विभिन्न प्रतियोगीतामा सहभागी भइसकेकी छन् । उनले केही विज्ञापनमा समेत काम गरिसकेकी छन् । हाल सुमेरु अस्पतालमा कार्यरत सरिशा ‘मिस नेवा’, ‘नेपाल्स फेसन आइकन’, ‘मिस्टर एण्ड मिस रोट्रयाक्ट’ लगायतका प्रतियोगितामा विजयी भइसकेकी छन् । उनी भन्छिन्, ‘यस्ता प्रतियोगिताले व्यक्तित्व विकासमा सहयोग पुर्‍याएको महसुस भयो । ‘बिरामीको सेवासँगै सौन्दर्य प्रतियोगितामा समेत सहभागी हुँदा मेरो दिनचर्यामा नयाँपनका साथै जोश, जाँगर र उत्साह थपेको छ । केही नयाँ गर्ने ऊर्जा पलाएको छ,’ उनले भनिन्, ‘बाल्यकालदेखि नै पढाइमा मात्रै केन्द्रित अन्तर्मुखी स्वभावकी थिएँ । प्लस टु पढ्दा आफूलाई अरुसँग घुलमिल गराउनकै लागि भए पनि विभिन्न अतिरिक्त कृयाकलापमा सक्रिय हुन थालें । अनि क्रमशः खुल्दै जान थालें ।’ ‘रोट्रयाक्ट क्लब अफ किस्ट मेडिकल कलेज’ की पूर्व अध्यक्ष, ‘युथ लिडर फर ग्लोबल हेल्थ कोलाबरेसन’ की कार्यकारी सदस्य, ‘नेपाल मेडिकल एसोसियसन जुनियर डाक्टर कमिटी’ की कार्यसमिति सदस्य, ‘नेपाल क्यान्सर रिलिफ सोसाइटी’ की आजीवन सदस्यलगायतका सामाजिक संस्थामा रहेर काम गरिसकेकी सरिशाले व्यक्तित्व विकास र समाजसेवा एवं‘प्लेटफर्म’ उपयोग गर्नका लागि आफू ‘मिस नेपाल’ मा सहभागी भएको बताइन् । उनी भन्छिन्, ‘देशभित्रै बसेर त निकै समाजसेवा गरियो । अब नेपाललाई प्रतिनिधित्व गरेर संसारभर आफ्नो देश चिनाउने काम गर्नु मेरो लक्ष्य हो ।’ 

ॅमिस नेपाल अर्थ’ घोषणा हुनेबित्तिकैको व्यक्तिगत भावना र अनुभव सुनाइदिनुस् न ।

ताजका लागि भन्दा पनि समाज र देशका लागि केही गर्ने प्लेटफर्मका लागि ‘मिस नेपाल’मा सहभागी भएकी हुँ । मेरो नाम घोषणा हुने बित्तिकै मैले मेरा अभिभावक, मेरो नेपाल र नेपालीलाई सम्झिएकी थिएँ ।

‘मिस अर्थ’ को तयारी कसरी चलिरहेको छ ?

‘ब्युटी फर अ कज’ का लागि वातावरणीय विषयमै केन्द्रित हुनुपर्ने भएकाले ‘इको प्रोजेक्ट’को योजनामा छु । यसका लागि ब्रिटिस एम्बेसी, इसिमोडलगायत सरोकारवाला संस्थासँग कुरा हुँदैछ । त्यो सँगै वाक, स्टेज प्रस्तुतीकरण र फिटनेसको कुरामा पनि केन्द्रित भइरहेकी छु ।

अन्तर्राष्ट्रिय मञ्चमा नेपाललाई कसरी चिनाउने योजनामा हुनुहुन्छ ?

हामीकहाँ सगरमाथाबाहेक अन्य थुप्रै प्राकृतिक सौन्दर्य, बायो–डाइभर्सिटीलगायत सुन्दर हिमालहरू छन् । त्यो सँगसँगै पछिल्लो समय उत्तिकै वातावरणीय समस्या निम्तिरहेको पनि छ । नेपालको सौन्दर्य र यसलाई जोगाउन अन्तर्राष्ट्रिय ध्यानाकर्षण कसरी गराउने भन्नेमा मेरो पहल हुनेछ ।

महिला सशक्त हुन शिक्षा, आत्मनिर्भरता र इच्छा शक्तिमध्ये कुन महत्वपूर्ण लाग्छ ?

शिक्षा पहिलो जड हो । शिक्षाले नै आत्मनिर्भर र दृढ बनाउँछ ।

आफूले प्राप्त गरेको यो प्लेटफर्मलाई कसरी उपयोग गर्नुहुन्छ ?

नेपालमा मात्रै नभएर पछिल्लो समय विश्वभर ‘ग्लोवल वार्मिङ’ र ‘क्लाइमेट चेन्ज’ का कुराहरू उठिरहेका छन्, जसले प्रकृति र वातावरणलाई निकै असर पारिरहेको अवस्था छ । म पहिलेदेखि सामाजिक क्षेत्रमा काम गरिसकेकीले ‘इको प्रोजेक्ट’ मार्फत वातावरणीय समस्या समाधानका लागि के गर्न सकिन्छ भन्ने कुरामा केन्द्रित हुनेछु ।

नेपालको प्राकृतिक सुन्दरता, यहाँका हिमाल, पहाड, संस्कृति निकै गौरवशाली छन्, विश्वसामु यसको प्रचार–प्रसार अझै पर्याप्त रूपमा हुन सकेको छैन, यसका लागि तपाईंको तर्फबाट के–कस्तो पहल र भूमिका हुनेछ ?

नेपाल प्राकृतिक सौन्दर्य, कला र संस्कृतिले भरिपूर्ण देश हो । मुलुकमा पर्यटन जति फस्टायो त्यत्ति नै विश्वव्यापी रूपमा यो सन्देश फैलिन्छ । हिमाल, पहाड र प्रकृति हेर्न सहज यातायात सुविधाको चुनौती पनि हामीकहाँ छ । तसर्थ राजनीतिक स्थिरता र पूर्वाधार निर्माण हाम्रा लागि मूल विषय हुन् । यी सबै विषयलाई समेटेर वकालत गर्ने, पूर्वाधार निर्माणमा सहयोग गर्नुका साथै अन्तर्राष्ट्रिय रूपमा हामीसँग भएका प्राकृतिक सुन्दरतालाई सक्दो प्रचार–प्रसार गर्नेमा मेरो प्रतिबद्धता छ ।

युवालाई के भन्न चाहनुहुन्छ ?

कहिल्यै हार नमानौं भन्न चाहन्छु । राजनीतिक अस्थिरता र बेरोजगारीका कारण बिदेसिन बाध्य युवालाई पनि पछिल्लो समयमा हरेक क्षेत्रमा अगाडि आइरहेका युवालाई हेरेर उनीहरूलाई प्रेरणा ठानी मुलुकका लागि केही गरौं भन्ने मेरो अनुरोध छ ।

 Image