Successfully Copied

ब्रिजेट बनिन् : टिकटक स्टार

सामाजिक सञ्जालका नकारात्मक पक्ष मात्रै हुँदैनन्, सकारात्मक पक्ष पनि छन् । सञ्जालमा सकारात्मक पक्षलाई पछ्याउनेहरूको जीवन परिवर्तन भएका उदाहरणहरू प्रशस्तै भेटिन्छन् । तिनीहरूका फ्लोअर्स पनि लाखौंमा हुन्छन् । तिनैमध्येकी एक हुन् अस्ट्रेलियाकी २५ वर्षीया युवती ब्रिजेट च्यान्ट । उनी ‘टिकटक’ स्टार बनेकी छन् ।

अस्ट्रेलियाकी २५ वर्षीया ब्रिजेट च्यान्ट बाल्यकालमा ध्यानकेन्द्रित गर्न नसक्ने रोग (एडीडी) ले ग्रसित थिइन् । यो रोगका कारण दैनिक जीवनमा उनले थुप्रै समस्यासँग जुध्नुपर्‍यो । समस्यालाई न्यूनीकरण गर्ने उपायहरू उनले सिकिन् । पहिले पेन्टिङ, गायन र सुगासँगको संवादमा रुचाउने उनी पछिल्लो समय सामाजिक सञ्जाल ‘टिकटक’ मा भिडियो बनाएर सेयर गर्नमा आफूलाई व्यस्त राख्छिन् । ‘टिकटक’ मा शालीनता साथ प्रस्तुत हुन्छिन्, आफू र आफ्ना फ्लोअर्सलाई मनोरञ्जन प्रदान गर्छिन् ।

सामाजिक सञ्जालका नकारात्मक पक्ष मात्रै हुँदैनन्, सकारात्मक पक्ष पनि छन् । सञ्जालमा सकारात्मक पक्षलाई पछ्याउनेहरूको जीवन परिवर्तन भएका उदाहरणहरू प्रशस्तै भेटिन्छन् । तिनीहरूका फ्लोअर्स पनि लाखौंमा हुन्छन् । तिनैमध्येकी एक हुन् अस्ट्रेलियाकी २५ वर्षीया युवती ब्रिजेट च्यान्ट । उनी ‘टिकटक’ स्टार बनेकी छन् । धेरैले उनको भिडियोलाई माया गर्छन् । अन्यको जस्तो अश्लील भिडियो बनाएर उनी आफ्नो भ्युअर्स वा फ्लोअर्स बढाउँदिनन्, शालीनताका साथ प्रस्तुति दिन्छिन् । उनी आफ्ना प्रस्तुतिहरूमा सुगालाई साथमा राख्छिन् । ब्रिजेट र सुगाको जोडी गजबले जमेकै कारण ‘टिकटक’ मा उनका ४२ लाख फ्लोअर्स पुगेको ‘डेलीमेल’ ले जनाएको छ ।

अस्ट्रेलियाको दोस्रो ठूलो राज्य अक्विन्सल्यान्डस्थित टुउम्बामा ब्रिजेटको जन्म भएको हो । उनी १० वर्षकै छँदा ध्यान केन्द्रित गर्न नसक्ने ‘एटेन्सन डिफिसिट डिसअडर (एडीडी)’ रोगले ग्रसित भएको पत्ता लागेको थियो । रोगका कारण उनलाई दैनिक कार्य गर्न अत्यन्तै कठिन हुन्थ्यो । यसो त त्यो क्रम अझै रोकिएको छैन, तर केही कम भने भएकै छ । उनले जसोतसो विद्यालय शिक्षा हासिल गरिन् । तर, जब उनी १८ वर्ष पूरा गरी पढाइका लागि विश्वविद्यालय छिरिन्, त्यहाँ उनले धेरै कठिनाइको सामना गर्नुपर्‍यो । कहिलेकाहीँ उनी धेरै चिन्तित हुन्थिन् । तर, चिन्ता गर्नु समस्या समाधानको उपाय नभएको निस्कर्षमा पुग्दै त्यसलाई नियन्त्रण गर्ने विधि उनले सिकिन् । पेन्टिङ र गीत गाउनुलाई आफ्नो रुचि बनाइन् ।

सन् २०१८ मा ब्रिजेटले भारतीय रिंगनेक सुगा ल्याउने निर्णय गरिन् । उक्त सुगाको नाम उनले हेमलेट राखिन् । हेमलेटले ब्रिजेटका लागि एउटा ‘थेरापिस्ट’ झैं कार्य गर्‍यो । सुगासँग बस्दा उनी हलुका महसुस गर्छिन् । ब्रिजेटले आफ्नो अनुभव साट्दै भनेकी छन्, ‘मेरा कठिन समयमा हेमलेटले मसँग एउटा मानिसको जस्तै संवाद गर्थ्यो । ऊ मेरा लागि साथी र सहयोगी दुवै थियो ।’

बिज्रेटका अनुसार हेमलेटले आफूसँग कुराकानी गर्न थालेको प्रसंग एकदमै रोचक छ । ‘२०१८ मै विस्तारै–विस्तारै हामीबीच घनिष्टता बढ्दै गयो । हेमलेटले सात महिनाको उमेरबाटै मेरो आवाज नक्कल गर्न थाल्यो । उसले पहिलो पटक सिटी नक्कल गरेको थियो’ ब्रिजेटले भनिन् । समय बित्दै गयो । एक दिन ब्रिजेटले हेमलेटलाई सोधिन्, ‘ह्वाट आर यु डुइङ (तिमी के गरिरहेका छौ ?’ केही दिनपछि हेमलेटले फरक शैली अपनाउँदै भनेछ, ‘हेल्लो, ह्वाट डुइङ (के गरिरहेकी छौ ?’ यति मात्रै होइन, उसले ‘किसेस’, ‘गुडमर्निङ’, ‘हु ?’ ‘गुड वोय’, ‘ह्वाट ?’, ‘ह्वाइ ?’ भन्न र मिक्स हाँसो निकाल्न सिकिसकेको छ । ब्रिजेट चराहरूलाई ‘धेरै बुद्धिमान्’ प्रजातिका रूपमा वर्णन गर्छिन् ।

यसो त बाल्यकालमा ब्रिजेटसँग ‘सिनेमन’ नामको एउटा पाल्तु ककटाइल चरा पनि थियो, जसले उनलाई ध्यान केन्द्रित गर्न सहयोग गर्थ्यो । आमाबुवाले जन्मदिनको अवसरमा उनलाई उक्त चरा उपहार दिएका थिए । तर, जब उनी २० वर्षकी भइन्, १० वर्षको उनको सुन्दर त्यो चरा घरपालुवा बिरालोको आक्रमणमा परी मर्‍यो । त्यसलगत्तै उनले अर्को चराको चाहना राखेकी थिइन् । त्यही चाहनाअनुरूप उनले सुगा भित्र्याएकी हुन् । उनी ककटाइल चराजस्तै अवस्था आउन नदिन हेमलेटलाई सुरक्षित राखेकी छन् । हेमलेटलाई राखिएका ठाउँका सबै ढोका सधै बन्द राख्छिन् । उनको घरमा रहेका दुई कुकुरलाई भित्र प्रवेश गर्न दिन्नन् ।

उनी ‘टिकटक’ मा प्रवेश गर्ने प्रसंग पनि रोचकै छ । सन् २०२० मा कोभिड ब्रिजेटका लागि कोशेढुंगा नै साबित भयो । कोभिड महामारीका कारण विश्व नै ठप्प थियो । मानिस आ–आफ्ना घरमा बन्द थिए । ‘लक डाउन’ ले धेरैको दैनिकी प्रभावित बनेको थियो । त्यसैबेला उनले ‘टिकटक’ भिडियो बनाउन थालिन् । आफ्ना भिडियोहरूमा हेमलेटलाई पनि सहभागी गराउन थालिन् । दुवैको जोडी हिट हुन पुग्यो । धेरै मानिसले हेमलेट र ब्रिजेटको भिडियो औधी रुचाउन थाले । फलस्वरूप ब्रिजेटको फ्लोअर्सको संख्या बढेर ४२ लाख पुग्यो । हेमलेट र ब्रिजेट दुवै संलग्न रहेको एउटा भिडियोमा १ सय ४ मिलियन भ्युज छ ।

सुगा उनको घरपालुवा चरा मात्र रहेन अब उनलाई लोकप्रियताको शिखरमा पुर्‍याउने माध्यम पनि बनेको छ । उनी सुगालाई साथी भनेर सम्बोधन गर्छिन् । सुगासहितको भिडियो बनाउँदा तत्कालै उनको ‘भ्युज’ लाखमा पुग्छ । उनको टिकटक पेज ‘च्यान्टिबी ९७’ रहेको छ ।

(एजेन्सीको सहयोगमा) 

 Image