लुना भट्टराई, महिलावादी अभियन्ता
एकल कालापत्थरको यात्रा कस्तो रह्यो ?
एभरेस्ट आधार शिविर, कालापत्थर, चोला पास र गोक्योको एकल यात्रा गरें । गाह्रो होलाजस्तो लागेको थियो, एक्लै हुँदा नर्भस थिएँ, पछि हिँड्दै जाँदा रोमाञ्चक बन्यो । चौधौं दिनमा घर आइपुगें ।
तपाईंलाई केले यो यात्राप्रति प्रेरित गर्यो ?
महिलालाई एक्लै यात्रा गर्न प्रेरित गर्ने संस्था ‘सोलो ट्राभलर नेपाल’ मा मैले पनि निवेदन दिएकी थिएँ । तर, म मापदण्डमा पर्न सकिन । फेसबुक क्याम्पेनिङलगायतका थुप्रै क्रियाकलाप गरिसकेकी थिएँ, यसले ममा सोलो ट्राभलको आत्मविश्वास बढिसकेको थियो । अर्को कुरा, आफैंलाई एक्स्प्लोर गर्ने माध्यम बन्न सक्छ भन्ने सोचेर यो यात्रा गरें ।
यात्रा कत्तिको खर्चिलो छ ?
मैले नित्तान्त आवश्यक सामानमा बाहेक अन्यमा फजुल खर्च गरिन । हवाई टिकट र पोटरबाहेक दैनिक दुई हजारको हाराहारीमा खर्च भयो ।
एक्लो यात्रा डर लागेन ? के–कस्ता चुनौती झेल्नुपर्यो ?
अफिसियल कामका सिलसिलामा म एक्लै बाहिर जाने गरेकै हो । डेढ वर्ष म्यानमारमा एक्लै बसेर काम गरें । त्यति डर लागेन । शारीरिक थकानबाहेक अन्य चुनौती महसुस गरिन मैले । माया, प्रेम, किनमेलमा छूट पाइयो बरु ।
यात्राको मूल उद्देश्य के थियो ?
उद्देश्यभन्दा पनि म चालीस वर्ष पुग्नुअघि केही काम गरौं जसले अन्य महिलालाई पनि प्रेरणा देओस् भन्ने थियो । त्यही नै मेरो उद्देश्य हो ।
सगरमाथा रुटबारे केही जानकारी दिनुहोस् न ?
लुक्लामा हवाई ल्यान्ड भएपछि म करिब चार घण्टा हिँडेर फाक्दिन पुगें । त्यो दिन त्यहीँ बास बसें । भोलिपल्ट आठ घण्टा हिँडेर नाम्चे पुगें । हाइक लाग्छ भनेर एक्लामाटाइज गर्न त्यो दिन त्यहीँ बसें । भोलिपल्ट नजिकको डाँडामा हाइकिङ जाने रहेछन् सँगसँगै म खुम्जुङ भ्याली पनि पुगें । त्यसपछि त्याङ्बोचे र अर्को दिन दिङ्बोचे हुँदै लबोचेमा बसियो । गोरखसेपमा खाना खाएर दुई घण्टामा बेस क्याम्प पुगियो । बाटामा भेटिनेहरू फरासिला र मिलनसार थिए ।
सगरमाथा बेसक्याम्प यात्रामा देखिएका के कुरा बाहिर ल्याउन जरुरी ठान्नुहुन्छ ?
खुम्बु पासाङ गाउँपालिकाका जनप्रतिनिधिहरूले गरेका काम बाहिर ल्याउन मन लाग्यो । गाउँपालिकाकी कार्यकारी अध्यक्ष कम उमेरकी महिला हुनुहुँदो रहेछ । अर्को एकजना ४० वर्षीय पुरुष वडाध्यक्ष हुनुहुँदो रहेछ । ती जनप्रतिनिधि र हरेक निकायमा नेतृत्व गरिरहेका महिलाको कथा बाहिर ल्याउन मन लाग्यो ।
तपाईंले त्यहाँ मौसम तथा जलवायु परिवर्तन र ग्लोबल वार्मिङको कुनै असर देख्नुभयो ?
हिमालमा मनग्य हिउँ छैन, भएको पनि पग्लिरहेको छ । बालीनालीमा प्रत्यक्ष असर परिरहेको छ ।
यसले महिलामा पार्ने असरबारे केही भन्नुहुन्छ ?
महिलालाई धेरै नै असर पारेको छ । त्यहाँका महिला, पानीलगायत गाईवस्तुको चरन र घाँसपातका साथै खेतीपातीमा समेत असर पारेको छ । त्यसमा बढी महिला नै जोडिएका छन् ।
एउटी महिला साहसी हुनका लागि आवश्यक तीन कुरा के–के हुन् ?
आफैंप्रतिको आत्मविश्वास, पारिवारिक सहयोग र इच्छाशक्ति ।
तपाईंको यो यात्रामार्फत दिन खोजेको सन्देश के हो ?
यात्राले धेरै कुरा सिकाउँछ भन्न चाहन्छु । महिलामाथिको विश्वास र उनीहरूप्रतिको स्वतन्त्रतामा प्रश्न नउठाऔं । छोरीमाथि विश्वास मात्रै गरौं अन्य कुरा उनीहरूले आफैं गर्न सक्छन् ।