Successfully Copied

निर्भीक नारीको दोस्रो संस्करण

कान्तिपुर पब्लिकेसन्सको सह–प्रकाशन नारी मासिकले आयोजना गरेको कार्यक्रम ‘निर्भीक नारी’ को दोस्रो संस्करण सम्पन्न भएको छ ।

कान्तिपुर पब्लिकेसन्सको सह–प्रकाशन नारी मासिकले आयोजना गरेको कार्यक्रम ‘निर्भीक नारी’ को दोस्रो संस्करण सम्पन्न भएको छ । कार्यक्रममा विभिन्न क्षेत्रका प्रतिनिधिहरूले नारी निर्भीक हुनका लागि के–कस्ता चुनौती भोग्नुपरेको छ ? चुनौती झेल्दै कसरी सफलता चुमेका छन् ? भन्ने कुरामा चर्चा गरिएको थियो । ‘घरः सोच र शिक्षाको शृङ्खला’, ‘आर्थिक आत्मनिर्भरता र महिला’, ‘विविधता, समानता र समावेशिता’ र ‘कथाः चुनौतीदेखि सफलता’ सम्म गरी कार्यक्रममा चारवटा सत्र थिए ।

कार्यक्रमकी प्रमुख वक्ता संविधान सभा सदस्य तथा केन्द्रीय कार्यसमिति आरजु राणा देउवा रहेकी थिइन् । उनले अझै पनि महिलाहरूलाई समाजले हेर्ने दृष्टिकोण परिवर्तन नभएको बताइन् ।

कार्यक्रमअन्तर्गतको पहिलो सत्रमा ‘घरः सोच र शिक्षाको शृङ्खला’ रहेको थियो । यस सत्रमा सहजकर्ताका रूपमा नारी मासिककी लक्ष्मी भण्डारी रहेकी थिइन् भने वक्तामा चिकित्सा मनोविद् विजय ज्ञवाली, युनाइटेड ट्रेड सिन्डिकेटकी प्रबन्ध निर्देशक रितु सिंह वैद्य, नेपाल महिला संघकी सल्लाहकार सिर्जना सिंह र युनिग्लोब स्कुलकी प्रधानाध्यापक वाणी राणा रहेका थिए । छलफलमा शिक्षाको सुरुवात घरबाटै हुनुपर्छ भन्ने कुरामा जोड दिइएको थियो । घर र समाजमा देखिने कुराले मानिसको व्यक्तिगत र सामाजिक जीवनलाई प्रत्यक्ष प्रभाव पार्ने बताउँदै वक्ताहरूले यसका लागि ‘माइन्ड सेट’ परिवर्तन गर्नुपर्ने बताए । 

‘आर्थिक आत्मनिर्भरता र महिला’ कार्यक्रमको दोस्रो सत्र रहेको थियो । यो सत्रको सहजकर्ताको भूमिका कान्तिपुर दैनिककी आर्थिक पत्रकार सजना बरालले निभाएकी थिइन् भने वक्ताका रूपमा एपेक्स कलेजकी प्रधानाध्यापक दुर्गा रिजाल, नेपाली लगानी मञ्च, लगानीकर्ता ग्रेस रौनियार, सिटिजन लाइफ इन्स्योरेन्सकी एजेन्सी म्यानेजर कमला थापा, क्याट कुइन काठमाडौं र पोखरा राइनोजकी प्रबन्ध निर्देशक कोहिनुर सिंह अग्रवाल र सेञ्चुरी ग्रुप अफ कम्पनिजकी प्रबन्ध निर्देशक शोभना दुगड रहेका थिए । सत्रमा वक्ताहरूले महिला आत्मनिर्भर बन्नका लागि नाम र दाम दुवै आवश्यक रहेको कुरा उठाए । त्यस्तै सोचमा परिवर्तन नआए प्रविधि र औपचारिक शिक्षामा जति परिवर्तन आए पनि सुधार हुन नसक्ने वक्ताहरूले बताए । 

तेस्रो सत्र ‘विविधता, समानता र समावेशिता’ मा प्रमुख वक्ताका रूपमा आजियाटाकी प्रमुख जन अधिकारी नोर्लिदा आजमी रहेकी थिइन् । उनले भिडियो सन्देशमार्फत महिलाहरूको सशक्तीकरणका लागि विविधतासँगै समावेशिताको महत्व रहेको बताइन् । समावेशिताले महिलाको विकासका लागि अवसर र पहुँच समेट्ने उनको भनाइ थियो । सहजकर्ताका रूपमा पूर्वमिस नेपाल सुगरिका केसी थिइन् भने वक्ताका रूपमा माननीय सहरी विकास मन्त्री रामकुमारी झाँक्री, होन्डा कार स्याकार ट्रेडिङ कम्पनीकी प्रबन्ध निर्देशक सिर्जना ज्योति, ब्लाइन्ड रक्सकी सृष्टि केसी, एनसेल आजियाटा लिमिटेडका प्रमुख मानव संसाधन तथा प्रशासनिक अधिकारी युवराज श्रीवास्तव रहेका थिए । वक्ताहरूले अवसर पाएका महिलाहरूले अवसरलाई सही सदुपयोगमा जोड दिनुपर्ने बताए । त्यस्तै, नेपालमा सञ्चालन भएको व्यवसाय महिलामैत्री नभएर सबैका लागि समान हुने किसिमले निर्माण भइरहको पनि बताए । पछिल्लो समय सबै क्षेत्रमा महिलाहरूको उपस्थिति बढ्दै गएको बताए । 

कार्यक्रमको अन्तिम सत्र ‘कथाः चुनौतीदेखि सफलता’ मा प्रमुख वक्ताका रूपमा सर्वोच्च अदालतकी न्यायाधीश सपना मल्ल प्रधानले आफ्ना चुनौतीदेखि सफलतासम्मका कथा सुनाइन् । सहजकर्तामा कान्तिपुर टेलिभिजनका पत्रकार रूपेश श्रेष्ठ रहेका थिए भने वक्ताहरूमा दराज नेपालकी प्रबन्ध निर्देशक आँचल कुँवर, पर्वतारोही तथा प्रथम महिला पर्वतारोहण प्रशिक्षक पासाङ ल्हामु शेर्पा, आईईसी ग्रुपकी प्रबन्ध निर्देशक शैलजा अधिकारी र तिलगंगा संस्थानकी प्रमुख कार्यकारी अधिकृत डा. रीता गुरुङ रहेका थिए । उक्त सत्रमा वक्ताहरूले महिलाहरूका लागि ठूलो चुनौती भनेको घरबाट बाहिर निस्कनु बताए । त्यस्तै, अगाडि बढ्ने क्रममा चुनौती आए त्यसलाई सामना गर्न सकारात्मक रूपमा लिनुपर्ने बताए । 

नारी मासिककी सम्पादक उपासना घिमिरेले कार्यक्रममा स्वागत गर्दै महिलाहरूले विभिन्न क्षेत्रमा सफलता हासिल गरिरहेका छन् । यसलाई उपलब्धिमा मात्र सीमित गरिनु हुँदैन । आ–आफ्नो क्षेत्रमा भएका महिला तथा भावी पुस्तालाई अघि बढ्न प्रेरणा दिनुका साथै सफलताका लागि त्यस्तै किसिमको वातावरण तय गरिदिनुपर्ने बताइन् । उनले आगामी दिनमा यस्तै कार्यक्रममार्फत महिलाहरूलाई प्रोत्साहन दिँदै अघि बढ्ने जानकारी गराइन् । साथै कान्तिपुर पब्लिकेसन्सका एजीएम महेश स्वाँरले कार्यक्रममा सहभागी तथा सहयोग पुर्‍याउने सबैलाई धन्यवाद दिँदै महिलाहरू उच्च स्थानमा पुग्न सफल भएको उदाहरण दिएर कार्यक्रमको समापन गरे । 

 

समानताका लागि लैंगिक विभेद हुनुहुँदैन  

– आरजु राणा देउवा

संविधान सभा सदस्य तथा केन्द्र्रीय कार्यसमिति सदस्य, नेपाली कांग्रेस

समाज परिवर्तन हुँदै गए पनि महिलालाई हेर्ने दृष्टिकोणमा परिवर्तन आएको छैन । लैंगिक समानता ल्याउनका लागि छोराछोरीको पढाइ–लेखाइ एवं हुर्काइमा विभेद हुनुहुँदैन । पढाइ–लेखाइ एवं हुर्काइमा समानता भए धेरै कुरामा सुधार गर्न सकिन्छ । मेरो पढाइ–लेखाइ एवं हुर्काइमा दाजुभाइसरह व्यवहार पाएँ । तर पनि मलाई निडर हुनुपर्छ भन्ने लागिरह्यो । त्यसकारण म राजनीतिमा आएँ । महिला निडर हुनका लागि देशको विकास भएको हेर्न चाहनुहुन्छ भने सबै महिला राजनीतिमा आउनुपर्छ ।

 

समाज र कानुनसँग सँगै हिँड्ने वातावरण बनाउनुपर्छ ।

सपना मल्ल प्रधान 

न्यायाधीश, सर्वोच्च अदालत

महिलाहरूका लागि पहिलेदेखि कानुन विभेदपूर्ण थियो । २००९ को नागरिकता ऐन, नेपालीले तिब्बेतियन महिलासँग विवाह गरी छोरा जन्मिए नेपाली हुने, छोरी जन्मिए भोटिनी हुने प्रचलन थियो । कानुन निर्माणमा महिलाको जीवनचक्रको फरक अनुभूति र फरक आवश्यकताको सम्बोधन थिएन । महिलाका लागि कानुन पुरुषले, त्यो पनि पितृसत्तात्मक मापदण्डमा बनाएका थिए । परिणाम महिला हरेक अधिकारबाट वञ्चित थिए । महिला कानुन र विकास मञ्चको सन् २००० को अध्ययनले २४ कानुनको ११८ दफा, विभेदपूर्ण पहिचान गरेको थियो । अहिलेसम्म आइपुग्दा बहुसंख्यक कानुन परिवर्तन भइसकेको तर कानुन बन्नु मात्र पर्याप्त नहुने रहेछ । कानुनलाई ठीक ठाउँमा राख्नुपर्ने रहेछ । छोरीको सम्पत्तिको अधिकार कतिजनाले उपयोग गर्न सकेका छन् ? त्यसैले समाज र कानुनसँग सँगै हिँड्ने वातावरण बनाउनुपर्छ । हामी सबै कानुन कार्यान्वयनका लागि आवश्यक संरचना, बजेट, सकारात्मक सोच एवं उदार मनका साथ अघि बढ्नुपर्छ ।

 

 Image