Successfully Copied

राजनीतिमा नयाँ पुस्ता

‘महिलालाई श्रीमान्, सासूकसैले पनि राजनीति गर, झोला बोक, म घरको काम गर्छु भन्दैनन्, त्यसकारण महिला आफैंले मेहनत गर्दै अगाडि बढ्नुपर्छ’

नेकपा (एमाले) को १० औं महाधिवेशनमा ईश्वरी घर्ती केन्द्रीय सदस्यमा छानिइन् । उमेरले ३२ वर्ष टेक्दै गर्दा रोल्पाबाट आदिवासी जनजाति महिला क्लस्टरमा उनी छानिएकी हुन् । यसलाई उनले अवसरसँगै चुनौतीका रूपमा लिएकी छन् । उनले भनिन्, ‘यो पदसँग जिम्मेवारी र चुनौती थपिएको छ, अगाडि कसरी बढ्ने भन्ने योजना बनाउँदै छु ।’ ०६२ सालतिर कक्षा १० मा पढ्दा उनले विद्यालयमा प्रारम्भिक एकाईको उपाध्यक्षको जिम्मेवारी सम्हाल्दै राजनीतिक यात्रा सुरु गरेकी हुन् । सशस्त्र द्वन्द्वकालमा माओवादी पार्टीले किल्ला गाडेको रोल्पामा अनेरास्ववियुको संगठन बिस्तार गर्दै अगाडि बढ्नु चानचुने कुरा थिएन । एमाले भएकै कारण कतिका घर जलाइए, कतिको हत्या भएको थियो । तर ईश्वरीको एमालेबाटै राजनीति गर्ने हिम्मत कहिल्यै टुटेन । एसएलसी उत्तीर्णपछि त उनको राजनीतिप्रतिको लगाव झनै बढ्यो । उच्च शिक्षाका लागि सदरमुकाम पुग्दा एमालेको विद्यार्थी संगठनको नामनिशाना नै थिएन । उनी पढाइसँगै संगठन बिस्तारमा समेत केन्द्रित भइन् । त्यहाँ संस्थापक अध्यक्ष भई कमिटी गठन गरिन् । उनले भनिन्, ‘सुरुमा पाँच जनामात्रै भयौं, त्यतिबेला अनेरास्ववियु भनेर खुलेर हिँड्न सक्ने अवस्था थिएन, यतिसम्म पनि भयो कि सदस्य नै भएन ।’ राजनीतिसँगै उनको रुचि पत्रकारितामा पनि रह्यो । उनले रेडियोमा काम गदै जाँदा रोल्पा प्रेस चौतारीको अध्यक्ष, पत्रकार महासंघको सचिव बन्न भ्याइन् । राजनीतिलाई पूर्णरूपमा अगाडि बढाउने सोचले पत्रकारितामा उनले बिट मारिन् । 

त्यसपछि उनी जिल्ला कमिटी सचिवालय सदस्य, महिला विभाग प्रमुख, महिला संघ जिल्ला अध्यक्ष, अञ्चल कमिटी सदस्य,प्रदेश सदस्य हुँदै केन्द्रीय सदस्यमा आइपुगेकी छन् । उनका अनुसार यतिका धेरै अवसर एक व्यक्तिले मात्रै पाउनु भनेको पहिलाको समयमा पूर्णकालीन राजनीतिमा महिलाहरूको संख्या कम हुनु हो । रोल्पाको सशस्त्र द्वन्द्व छिचोल्दै पार्टीको केन्द्र्रीय सदस्यमा आइपुग्दा आफू समावेशी र आरक्षणको मुद्दालाई जोड दिँदै अघि बढ्ने उनको योजना छ । राजनीतिक रूपमा परिवर्तन ल्याउन युवापुस्ताले पार्टीलाई सकारात्मक रूपमा झकझकाउँदै समावेशिता र आरक्षणको मुद्दालाई जोड दिए सफल हुने उनको भनाइ छ । ‘संविधानले सुनिश्चित गरेको समावेशीलाई कार्यान्वयनमा जोड दिँदै अघि बढ्न सके सफल हुन सकिन्छ’ उनले भनिन् । समावेशीसँगै आरक्षणको विषयमा युवापुस्ता चनाखो हुनुपर्नेमा उनको जोड छ । एक व्यक्तिले सधै आरक्षणको अपेक्षा गर्न नहुने उनको भनाइ छ । ईश्वरीले भनिन्, ‘चाहे सांसद बन्न होस् चाहे अन्य जुनसुकै पदमा लड्न यो व्यवस्था लागूगर्दा नयाँ पुस्ताले पनि अवसर पाउँछ ।’

राजनीतिसँगै उनी दुई छोरीकी आमाको भूमिकासमेत निर्वाह गर्दै आएकी छन् । सँगै उनले स्नातकोत्तरको पढाइ पनि अगाडि बढाइरहेकी छन् । घरपरिवार सम्हाल्दै राजनीतिमा अघि बढेकी महिलामा इच्छाशक्ति भए सहज व्यवस्थापन गर्न सकिने उनको भनाइ छ । ‘महिलालाई श्रीमान्, सासूकसैले पनि राजनीति गर, झोला बोक, म घरको काम गर्छु भन्दैनन्, त्यसकारण महिला आफैंले मेहनत गर्दै अगाडि बढ्नुपर्छ’ उनले भनिन् ।

राजनीतिमा युवा सहभागिताको विषय बारम्बार उठिरहेको छ । जिम्मेवारीको विषयमा उमेरलाई पनि मुख्य कारण बनाइन्छ । उमेरकै कारण नेपाली कांग्रेसबाट महाधिवेशन प्रतिनिधि बन्न सोलुखुम्बुकी २१ वर्षीया पूजा फुयाँललाई निकै संघर्ष गर्नुपर्‍यो । उनले भनिन्, ‘उमेर कम भएकै कारणले धेरैले प्रतिनिधिमा उठ्ने बेला नभएको भन्ने गरेका थिए । ‘यसका लागि मैले घरबाटै संघर्ष गर्नुपर्‍यो’ उनले भनिन् । महाधिवेशन प्रतिनिधि चुनावमा उनले प्रतिद्वन्द्वीकै बराबर मत पाइन् । त्यसपछि चिठ्ठाबाट उनी प्रतिनिधिमा विजयी भइन् । यसका लागि भाग्यले पनि साथ दिएको उनी ठान्छिन् । महाधिवेशन प्रतिनिधिको जिम्मेवारी पाएसँगै उनले यसलाई चुनौतीका रूपमा लिएकी छन् । उनले भनिन्, ‘सानो उमेरमा पाएको जिम्मेवारीले साँच्चिकै जिम्मेवारी थपिदिएको छ ।’ 

यसो त राजनीतिको जिम्मेवारी उनले विद्यालय तहबाटै सिकेकी हुन् । उनी कक्षा ९ मा पढ्दै गर्दा इकाई सभापति बनिन् । त्यहीँबाटै उनी आफ्नो राजनीतिक यात्रा सुरु भएको बताउँछिन् । त्यसपछि उनी सानोठिमी क्याम्पसमा स्ववियु सभापतिमा निर्वाचित हुँदै नेविसंघ जिल्ला कोषाध्यक्षमा पनि प्रवेश गरिन् । विद्यालय र क्याम्पस हुँदै पार्टीमा राजनीति फैलिँदै जानुमा उनको परिवारको राजनीतिक माहोल र समाजसेवा गर्ने रहर हो । उनका हजुरबुवा पूर्व गाउँविकास समितिका अध्यक्ष अहिले पनि राजनीति र समाजसेवामा सक्रिय छन् । बुवा भने शिक्षक संघका अध्यक्ष हुन् । राजनीतिक परिवारको पथ पछ्याउँदै उनी पनि अघि बढिरहेकी छन् । उनले भनिन्, ‘राजनीतिमार्फत नै समाजसेवामा सहज हुन्छ भनेर पनि राजनीतिमा आकर्षण बढेको हो’ । पूजाजस्तै नेपाली कांग्रेसमा अन्य युवाहरूको आकर्षण बढ्दै गएको छ । युवाहरूको आकर्षण बढ्दै जानु सकारात्मक पक्ष रहेको उनले बुझेकी छन् । ‘युवाहरूको समूहले पार्टीलाई सकारात्मक रूपमा अगाडि बढाउन सक्छ’ उनले भनिन्, ‘अहिलेको राजनीतिक अवस्थालाई संस्थागत गर्न र प्रणाली बदल्न पनि अबको युवापुस्ता जागरुक हुनुपर्छ’ ।

नेकपा (एकीकृत समाजवादी) धनकुटा जिल्ला कमिटी सचिवालय सदस्य सावित्री घिमिरेले युवाहरू प्रणाली बदल्न भन्दा पनि केही आशा लिएर पार्टीमा आबद्ध हुने बताइन् । पछिल्लो समय युवाहरूमा बेरोजगारी बढ्दै गएकाले राजनीतिमा लाग्दा केही हुन्छ कि भनेर आशा बोकेर आउने गरेको उनको बुझाइ छ । उनले भनिन्, ‘अहिलेका युवाहरूले चाहे जागिर खान होस् वा अन्य केहीका लागि पार्टी चाहिन्छ भनेर बुझ्न थालेका छन् । त्यसैले पार्टीमा युवाहरूको संख्या बढ्दै गएको हो ।’ २४ वर्षीया सावित्री नयाँ पार्टीमा गएको धेरै भएको छैन । नेकपा एमालेबाट दल फुटेपछि उनी अनेरास्वियुको केन्द्रीय सचिवबाट जिम्मेवारी त्यागेर नयाँ पार्टीमा आबद्ध भएकी हुन् । पुरानो पार्टीमा संविधानको मर्म मिचेर व्यक्ति हावी भएका कारणले नयाँ पार्टीमा आबद्ध भएको उनले बताइन् । ‘नेकपा एमालेमा संविधानको मर्म मिचेर व्यक्ति हावी हुने गलत परम्पराले पार्टी छोड्न बाध्य भइयो’उनले भनिन् । राजनीतिमा भएको विकृति र विसंगतिलाई हटाउँदै संगठन बिस्तार आफ्नो उद्देश्य रहेको उनले बताइन् । पछिल्लो समय राजनीतिलाई धेरैले कमाइ खाने ठाउँ बनाएकोमा उनको चित्त दुखाइ छ । ‘यो विकृतिलाई अबको युवापुस्ताले जरैबाट हटाउँदै जानुपर्छ ’ उनले भनिन् । 

 

०७४ मा विवेकशील साझा पार्टी खुलेसँगै रामेछापकी २८ वर्षीया लक्ष्मी घिमिरे पार्टीमा आबद्ध भइन् । आफू अपाङ्ग भएका कारणले अपाङ्गतामैत्री वातावरण खोज्दै उनी पार्टी प्रवेश गरेको बताइन् । संस्थापन कालमा पार्टीको साधारण सदस्य हुँदै पार्टीको युवा संगठनको सचिवालय सदस्य र पार्टीको केन्द्रीय सदस्य तथा केन्द्रीय सदस्यता विभाग प्रमुखको जिम्मेवारी सम्हाल्दै आएकी छन् । स्नातकोत्तर अध्ययनरत उनले पढाइ र राजनीतिलाई सँगसँगै अघि बढाइरहेकी छन् । पार्टीमा अगाडि बढ्नका लागि उनलाई परिवारमा कुनै रोकटोक छैन । अपाङ्गहरूको आवाजलाई सम्बोधन गर्ने पार्टीको नीति भएकाले आफू पार्टीमा सम्लग्न भएको जनाइन् । सहभागितामूलक लोकतन्त्र, समन्वयात्मक बजार कल्याणकारी राज्य साझा पार्टीका मुख्य एजेन्डा आफूलाई आकर्षक लागेको उनले बताइन् । पछिल्लो समय राजनीतिमा होस् वा अन्य क्षेत्रमा अगाडि बढ्नका लागि थुप्रै चुनौती छन् । उनले तिनै चुनौतीहरूलाईचिर्दै भोलिको पुस्तालाई सहज वातावरण बनाउन अघि बढिरहेको बताइन् । अहिले अपाङ्गहरूका लागि सरकार अभिभावक बन्न नसकेकोमा उनलाई निकै दुःख लागेको छ । उनले भनिन्, ‘अहिले हामीले थुप्रै संघर्ष र चुनौती झेलेका छौं। त्यसैले भोलिको पुस्तालाई सहज होस् भनेर अहिलेको पुस्ता राजनीतिमा सक्रिय भएको छ ।’ नीति–नियम बनाई कार्यान्वयन गर्नका लागि राजनीतिबाटै सम्भव भएको कुरा उनले बुझेकी छन् । त्यसैले हरेक कुराको परिवर्तनका लागि राजनीतिलाई अंगाल्न आवश्यक रहेको उनले बताइन् । 

नेपालको संविधानले प्रत्येक स्थानीय तहमा प्रमुख र उपप्रमुखमध्ये एक जना महिला अनिवार्य गरेको छ । यो व्यवस्थाले स्थानीय तहसँगै राजनीतिमा महिलाको संख्या बढ्दै गएको छ । जनता समाजवादी पार्टीकी सलमा खातुन ३१ वर्षमै उपमेयर बनिन् । उपमेयरको जिम्मेवारी सम्हाल्न आइपुग्नुको पछाडि उनको पार्टीमा १५ वर्षको संघर्ष छ । उनको राजनीतिमा संघर्ष विद्यार्थीदेखि नै सुरु भएको हो । ०६२ देखि उनी युवा संघमा थिइन् । मुस्लिम समुदायकी उनी जसरी घुम्टो उघार्दै अघि बढिन्, त्यसरी नै उनलाई पार्टीले पनि जिम्मेवारी दिँदै गयो । उपमेयरसँगै उनी युवासंघ सचिवालय सदस्य र पार्टीकी जिल्ला कमिटी सदस्य पनि हुन् । उनले राज्यले मधेस र मधेसीसँग समान व्यवहार गर्नुपर्ने आवाज उठाउँदै आएकी छन् । सलमाले भनिन्, ‘मधेसलाई राज्यले उपेक्षा गरेकै कारण मधेस र मधेसीहरू धेरै पछाडि परेका हुन्, हामीले आवाज उठाउँदा मधेसका केही मागको सम्बोधन भएको छ ।’ मधेसमा जारी बालविवाह, दाइजो प्रथाजस्ता कुरीतिविरुद्ध पनि उनले आवाज उठाउँदै आएकी छन् । उनी अहिले नीति–नियम बनाउने ठाउँमा आइपुगेकी छन् । यस्ता कुरीतिहरूलाई हटाउन स्थानीय तहमार्फत अग्रसर छिन् । युवा त्यसमा पनि नेतृत्वमा पुगेकी उनलाई अब भने वैचारिक आन्दोलन हुनुपर्ने बताइन् । उनले भनिन्, ‘राजनीतिमा अबको आन्दोलन वैचारिक हुनुपर्छ, युवाहरू नयाँ ढंगले अगाडि बढ्नुपर्छ’ उपमेयरको नेतृत्वमा भए पनि उनले धेरै चुनौती झेलिरहेको बताइन् । ‘महिला भएकै कारण काममा धेरै असहज हुने गरेको छ’ उनले आफ्नो अनुभव साटिन् । राजनीतिमा महिलाहरूको उपस्थिति बढ्दै गएपनि महिलामैत्री वातावरण भने अझै बन्न नसकेको उनले बताइन् ।

 Image