Successfully Copied

उमेरले खोज्छ न्यानो

जाडो बढेसँगै हामीलाई आलस्य अनुभव हुन थाल्छ । छाला सुख्खा भई अचानक हाम्रो अनुहारमा दाग–धब्बा देखापर्छन् । पाचनतन्त्रमा समेत गडबडी हुनसक्छ । बढी उमेरकाले यो मौसममा अझ विशेष सावधानी अपनाउनुपर्ने हुन्छ ।

जाडो बढेसँगै हामीलाई आलस्य अनुभव हुन थाल्छ । छाला सुख्खा भई अचानक हाम्रो अनुहारमा दाग–धब्बा देखापर्छन् ।  पाचनतन्त्रमा समेत गडबडी हुनसक्छ । बढी उमेरकाले यो मौसममा अझ विशेष सावधानी अपनाउनुपर्ने हुन्छ । स्वास्थ्य, खानपान, आफूले प्रयोग गर्ने प्रसाधनलगायत लुगाफाटोमा उत्तिकै ध्यान दिनु जरुरी छ । ‘नारी’ मासिकको यो अंकमा उमेरले ५० वसन्त पार गरेका महिलाले जाडोयाममा आफ्नो स्वास्थ्य, सौन्दयर्, पहिरन लगायत समग्र व्यक्तित्वको हेरचाह र रेखदेख कसरी गर्ने भन्ने सामग्री पस्कने प्रयास गरेका छौं । विभिन्न क्षेत्रमा अब्बल रहेका उक्त उमेरका सेलिब्रेटीहरूले हामीसँग यस विषयमा अनुभव साटेका छन् । उनीहरूले जाडोयाममा आफूलाई न्यानो राख्न अपनाउने उपायहरू समेत सेयर गरेका छन् ।

चाँदनी जोशी

लैंगिक अधिकार तथा नीति विशेषज्ञ चाँदनी जोशी उमेरले ७४ वर्षकी भए पनि उनको अनुहारमा उही कान्ति छ जुन यौवनामा हुन्छ । सम्भावनालाई सदा सकारात्मक देख्ने सोच बोकेकी उनी यो उमेरमा पनि छरितो जीवनशैली बाँचिरहेकी छन् । फुर्तिलो शरीर, चम्किलो अनुहार तथा सकारात्मक सोचकी धनी चाँदनी उमेर बढेसँगै आउने समस्याहरू चाउरीपन, सेतो केश आदिलाई खुसीका साथ स्वीकार गर्दै त्यसैमा रमाउनुपर्ने धारणा व्यक्त गर्छिन् । भन्छिन्, ‘लेट्स म्याचुअर्ड विथ डिग्निटी एण्ड ग्रेस अर्थात् आत्मसम्मान, स्वाभिमान र गरिमाका साथ परिपक्व होऔं ।’ तातोपानी र सनवाथ जाडोयामका लागि उनका साथी हुन् । खानामा दाल, गेडागुडीको रस, सुप आदि खानेकुरा उनी बढी मात्रामा खान्छिन् । ‘घाम मेरो लागि प्यारो छ । यो चिसोमा त झन् म सिधैं अनुहारमा घामको किरण पर्ने गरी ताप्छु । मिटिङमै हुँदा पनि टोपी लगाउन छोड्दिन । यो मौसममा तातोपानी मेरो प्रिय पेय हो ।’ जाडोमा न्यानो हुने उपाय बताउँंदै चाँदनी भन्छिन्, ‘यो समय सुन्दरतामा भन्दा पनि स्वास्थ्यको बढी ख्याल राख्छु ।’ धेरै सौन्दर्य प्रसाधन प्रयोग नगर्ने उनी जाडोमा छालालाई नरम राख्न कोल्ड क्रिम र मोस्चराइजर लगाउँछिन् । बिहानको हल्का व्यायाम र योगले उनलाई दिनभर फुर्तिलो रहन सघाउँछ ।

बन्दना राणा

काठमाडौंको चिसो मौसमलाई प्रिय ठान्ने अधिकारकर्मी वन्दना राणा कामको सिलसिलामा बाहेक जाडो छल्नकै लागि भनेर आजसम्म काठमाडौं नछोडेको बताउँछिन् । उनी भन्छिन्, ‘काठमाडौंमा जाडोमा धेरै चिसो भए पनि घाम भने लागिरहन्छ । घमाइला दिन हुने भएकाले मलाई यो समय उल्लासमय लाग्छ ।’ ५५ को उमेरमा पनि उनको सुन्दरतामा कुनै कमी देखिँदैन । बिहान दैनिक रूपमा गर्ने योग–ध्यानले आफूमा दिनभरि फुर्ती जागेको उनी बताउँछिन् । निश्चित समयका लागि उनी बिहानको घाम ताप्छिन्, धेरै समय घाममा बस्दा अल्छी भइने हो कि भन्ने कुरामा सजग छिन् । वन्दनालाई खुट्टामा असाध्यै चिसो लाग्ने हुँदा सधै मोजा लगाइरहन्छिन् । जाडोको पहिरनमा उनी म्याचिङ गरी पस्मिना सल छुटाउँदिनन् । हल्का र तातो हुने भएकाले पस्मिना उपयुक्त रहेको उनको भनाइ छ । जाडोमा उनी हल्का खाना खाने बताउँछिन् । सुप, फलफूल, हरिया सागसब्जी उनको रोजाइमा पर्छन् । छाला र केशको हेरचाहमा उनी सधै सजग रहन्छिन् । उनले यी दुई सुख्खा हुन नदिन बेला–बेलामा हेयर मसाज र फेसियल गराउँछिन् । वन्दना भन्छिन्, ‘उमेर बढ्दै जाँदा हाम्रो शरीरलाई कतिपय अतिरिक्त कुराको आवश्यकता पनि सँगै बढ्दै जान्छ त्यसका लागि एक्स्ट्रा–केयर जरुरी छ । हामी महिलाले आफ्नो स्वास्थ्य र सौन्दर्यका लागि पनि समय छुट्याउनुपर्छ । आन्तरिक सौन्दर्य कायम राख्न सकियो भने बाहिरी त्यसै खुल्छ ।’

डा. तुमला शाह

सुखी परिवार क्लिनिककी बाँझोपन विशेषज्ञ डा. तुमला शाह (६२ वर्षीया) अन्य मौसमको तुलनामा जाडोमा निक्कै सजग हुन्छिन् । ‘उमेरमा पार्टीमा ओपन लुगा लगाएर हिँड्दा पनि केहीजस्तो लाग्दैनथ्यो । उमेर ढल्किँदै जाँदा त्यसो गर्न सकिँदो रहेनछ । अहिले आफू सुहाउँदो फेसन गर्छु,’ उमेरका ती दिन सम्झिँदै तुमला भन्छिन्, ‘रसिया पढ्दा उमेर थियो, हिउँमा मोजा नै नलगाई दौडिन्थें, आइसक्रिम खान्थें तर अहिले त्यसो गरिहाल्न सकिँदैन । पछिल्लो समयको कोरोना महामारीमा त झन चिसोबाट जोगिनुपर्छ । अहिले जतिसक्दो पहिरन र खानपान अनि व्यायामले शरीर तताउँछु ।’ जाडोमा उनी सुप, सागपात तथा सन्तुलित आहारमा बढी ध्यान दिन्छिन् भने भात अत्यन्तै कम खान्छिन् । स्याउ खान कहिल्यै नछुटाउने उनी जाडोमा सुन्तला बढी खान्छिन् । जाडोमा शुद्ध घिउ उनको फेबरेट हो । दश वर्षको उमेरदेखि योग गर्न थालेकी तुमला अहिले पनि निरन्तर योग गरिरहेकी छन् । शिवखेराको ‘यु क्यान विन’ मा लेखेको पंक्ति सम्झिँदै उनले भनिन्, ‘सफल र असफल व्यक्तिको इच्छा एउटै किसिमको हुन्छ जस्तो कि बिहान सबेरै उठ्न मन लाग्दैन तर सफल व्यक्ति उठ्छ, असफल व्यक्ति उठ्दैन ।’ राति जति अबेरसम्म काम गरे पनि बिहान सबेरै उठेर २० मिनेट योग, २० मिनेट ट्रेडमिल र १५ मिनेट ध्यान गर्ने उनी यसले मानसिक र शारीरिक रूपमा फिट राख्छ भन्नेमा विश्वास गर्छिन् । पहिला १८ घण्टा ड्युटीमा खट्ने तुमला अहिले कामको चापलाई अलि घटाएको बताउँछिन् । ५० कटेपछि सबैभन्दा बढी स्वास्थ्यमा ध्यान दिनुपर्ने हुनाले अहिले उनी ‘नोभा–वुमन मल्टी भिटामिन’ तथा क्याल्सियम खाने गरेकी छन् । आफूलाई न्यानो राख्ने उपायबारे उनले भनिन्, ‘न्यानो लुगा लगाउँछु । जाडो भयो भन्दैमा चार/पाँचवटा खापेर लगाउनु हुँदैन । यसोगर्दा स्वास्थ्यमा अर्को समस्या आउन सक्छ । एउटै थर्माकोटले न्यानो दिन्छ धेरै लुगा लगाउनै पर्दैन ।’ उमेर ढल्किँदै जाँदा हाइहिल लगाउन नहुने उनको तर्क छ । महिनावारी सुकेपछि महिलाको हड्डी कमजोर (अस्टियोपोरोसिस) हुँंदै जाने हुनाले हाइहिल नलगाउन सुझाउँंदै तुमला भन्छिन्, ‘यो उमेरमा हरेक कुरा सहज खालका हुनुपर्छ चाहे जुत्ता हुन् वा अन्य पहिरन ।’ कोरोना र छाला अनि चिसोबाट टाढा रहनका लागि उनले दिनहुँ बाफ लिने गरेकी छन् । हरेक बिहान नुहाएपछि मोस्चराइजर प्रयोग गर्ने तुमला पहिला हरेक महिना फेसियल गर्थिन् तर अहिले हरेक साँझ क्लिन्जिङ गरी कोल्ड क्रिम लगाएर सुत्ने गर्छिन् । खानपान र मेडिटेसन तथा योगले छालामा चमक ल्याउने उनी बताउँछिन् । जाडोमा हेयर केयरका लागि साताको दुई पटक आयल मसाज, स्याम्पु कन्डिसनर लगाउने गरेकी उनी उमेर ढल्किँदै गएका महिलालाई जाडोको सुझाव दिँदै भन्छिन्, ‘५० कटेका महिलाले जाडोमा विशेषतः खानपानमै ध्यान दिनु जरुरी छ किनभने हाम्रो स्वास्थ्य खानपानसँग जोडिएको हुन्छ । एकैपटक धेरै खानु राम्रो हुँदैन । मोटाउने कुराभन्दा पनि सागसब्जी, फलफूल, माछा, चिकेन खाँदा राम्रो हुन्छ । सुपमा बढी जोड दिए शरीरका लागि राम्रो हुन्छ । व्यायाम निरन्तर गर्नु जरुरी छ ।’

लिली थापा

मानव अधिकारका लागि एकल महिला समूहकी संस्थापक लिली थापा (५४ वर्ष) प्रायः जाडोयाममा काठमाडौंमै हुन्छिन् । ‘ती दिनहरूमा मेरो घरको कौसीमा हिउँ पर्थ्यो’ विगतका चिसा दिनहरूको याद गर्दै लिली भन्छिन्, ‘जतिबेला काठमाडौंमै हिटिङ सिस्टम थिएन, हामी सिरकको न्यानोमा गुटमुटिएर जाडो छल्ने गर्थ्यौं ।’ अहिले घरहरूमा हिटिङ सिस्टमको सुविधा छ । त्यसैले उनी अहिले रुम हिटर एसी प्रयोग गर्न थालेकी छन् । उमेर वृद्धिसँगै बढी न्यानोको आवश्यकता महसुस हुने उनको अनुभव छ । भन्छिन्, ‘अहिलेका मधुरा दिनमा म आफूलाई न्यानो राख्न हातले बुनेका ऊनीका पहिरन लगाउँछु । यो समयमा मैले लगाउने मोजा, पञ्जा, स्वेटरदेखि सबै ऊनीका हुन्छन् ।’ उनी दैनिक प्रशस्त कालो चिया पिउँछिन् । जाडोमा शरीरलाई तातो राख्न उनी दाउराको चुल्होमा पकाएको क्वाँटी र गुन्द्रुकको झोल प्रशस्त मात्रामा खान्छिन् । कौसीमै दाउरे चुल्हो बनाएकी उनी त्यहीँ पकाएर घाम ताप्दै खाना खाने बताउँछिन् । सौन्दर्य प्रसाधनमा त्यति ब्रान्ड कन्सस नभए पनि उनी जाडोमा छालालाई सुख्खा हुन नदिन कोल्ड क्रिम र प्रशस्त मोस्चराइजर प्रयोग गर्ने बताउँछिन् ।

सल्मा जोशी

योगा इन्स्ट्रक्टर तथा युवा दृष्टि समाजकी अध्यक्ष सल्मा जोशी (५७ वर्ष) जाडो मन पराउँछिन् । काठमाडौंमा जन्मिएर हुर्किएकीले आफूलाई चिसो मौसम नै मनपर्ने बताउँछिन् । उनी भन्छिन्, ‘चिसोको एलर्जी थियो । तर अहिले गर्मी ठाउँ धरान बस्न थालेपछि ठीक छ ।’ स्वास्थ्य नै धन हो भन्ने सल्मा जाडोमा सौन्दर्य एवं लुगाफाटोभन्दा पनि स्वास्थ्यमा सजग हुनुपर्ने बताउँछिन् । उनी योग शिक्षिका भएकीले अहिले पनि बिहान ४ बजे उठेर नुहाइधुवाइ गरी योग सिकाउन पुग्छिन् । महिलाले आफूलाई फिट राख्नुपर्ने आवश्यकता बढ्दै गएको बताउँंदै उनी भन्छिन्, ‘खानपानमा हल्का र झोलिलो पदार्थ खाने गर्छु । स्वस्थ ब्रेकफास्ट, लञ्च र डिनर खान्छु ।’ उनी ‘हट लेमन विथ हनी’ नियमित पिउँछिन् । चियामा लेमनग्रास, एलोभेरा राखेर पिउन मन पराउँछिन् । कोरोना महामारीयता उनी दैनिक रूपमा काँढापानी पिउने गरेकी छन् । उनी फिट हुन बाक्लो लुगा लगाएर आफ्नो शरीर सुहाउँदो ड्रेसअप गर्छिन् । स्किन केयरका लागि उनी प्राकृतिक जडीबुटी प्रयोग गर्छिन् । उनले घरैमा भएको घिउकुमारी वा मेवाको फेसप्याक एवं एभोकाडोमा मह राखेर फेसप्याक लगाउँछिन् । राति सुत्नुअघि फापरको पिठो, बेसनको पिठो एवं गहुँको आटामा दूध मिसाएर मुख धोएपछि बदामको तेल लगाउँछिन् । ‘पहिले उमेर छँदा स्वास्थ्य एवं सौन्दर्यमा त्यत्ति केयर नगरे पनि सकिन्थ्यो अब उमेर बढ्न थालेपछि त निक्कै सावधानी अपनाउनु पर्दो रहेछ’ उनले भनिन्, ‘अलिकति खानपानमा तलमाथि पर्नासाथ बिरामी भइन्छ । पहिरन टम्म लगाइएन भने चिसोले समातेर शरीर दुख्न थाल्छ ।’ स्वस्थ शरीरका लागि राति सुत्नुअघि सानो एक कप दूधमा थोरै बेसार मिसाएर पिउँदा निक्कै राम्रो हुने सल्मा बताउँछिन् । उनका अनुसार यो उमेरमा ६ घण्टा सुत्नु अनिवार्य छ । उमेर ढल्किँदै गएपछि आहारविहार, प्रत्याहार राम्रो हुनुपर्छ भन्ने उनको अनुभवले बताउँछ ।

मनीषा अधिकारी

योग तथा फिटनेस प्रशिक्षक

चिसो मौसममा हाम्रा मांसपेशीहरू संकुचित हुन्छन् । वयस्क महिलाको तुलनामा ५० वर्ष नाघिसकेकाहरूलाई चिसोले अझ बढी प्रभाव पार्दछ । जसका कारण रुघाखोकी लाग्ने, हाडजोर्नीसम्बन्धी समस्या, ढाड–कम्मर दुख्ने, निमोनिया तथा दमको समस्या, फोक्सो तथा मुटुसम्बन्धी समस्या देखापर्छन् । त्यसैले चिसो मौसममा स्वास्थ्यका लागि बढी मात्रामा शरीरको तापक्रम बढाउने खालको योग अभ्यास गर्नुपर्ने हुन्छ । वृक्षासन, मत्स्यासन, उत्तानासन, पर्वतासन, सेतु बन्धासन, त्रिकोणासन, सलम्व सेतु बन्धासन, सलम्व बद्ध कोणासन, वक्रासन र उष्ट्रासनलगायतका आसनहरू कसैको सहयोगबिना घरमै गर्न सकिन्छ । योगाभ्यासले हाम्रो शरीरको ऊर्जा बढ्छ । यी आसनहरूले हाम्रो इन्टरकोस्टल मांसपेशीहरू खोल्न र फैलाउन मद्दत गर्दछन् । त्यस्तै, श्वासप्रश्वास प्रणालीका लागि पनि योग धेरै लाभदायक छ । यसले फोक्सोको प्रकोष्ठलाई सक्रिय बनाउँछ । शरीरमा रक्तसंचार राम्रो गर्न मद्दत गर्छ । हाम्रो रगत र लिम्फफ्युइड्सले स्वाभाविक रूपमा आफ्नो शरीरलाई उपचार गर्न सहयोग गर्दछ ।

सुलोचना श्रेष्ठ, सौन्दर्यविद्

छालाले नै चिसोतातो थाहा पाउने भएकाले यो महत्वपूर्ण हुन्छ । छालाको तीन तह हुन्छ ः इपिडर्मिक, डर्मिक र हाइपोडर्मिक । हाम्रो छाला चिसोसँगै सुख्खा हुन थाल्छ । उमेर ढल्केको छालालाई अझ विशेष केयरको आवश्यकता पर्छ । यसका लागि प्रशस्त मात्रामा पानी पिउनुका साथै मोस्चराइजरको पनि प्रयोग गर्नुपर्छ । यो समयमा छाला संवेदनशील हुन्छ । माइल्ड क्लिन्जरले हरेक दिन छाला सफा गर्नुपर्छ । यसले छालाको पिएच ब्यालेन्स गर्न मद्दत पुग्छ । अनुहार धोएपछि टोनर र त्यसपछि मोस्चराइजर लगाउनुपर्छ । ५० वर्षपछिको छालालाई सातामा एकपटक स्क्रब गरेर मसाज क्रिमले राम्ररी मसाज गरी मोस्चराइजर क्रिम लगाउँदा राम्रो हुन्छ । महिनामा एकपटक फेसियल गराउनुपर्छ । केशको स्याहारका लागि नुहाउनुअघि तेल मसाज गरेर गुणस्तरीय स्याम्पुले केश धुनुपर्छ । राम्रो खालको कन्डिसनर प्रयोग गर्नुपर्छ । तातो वा मनतातो पानीले केश नुहाउनु हुँदैन । घाम ताप्दा केशलाई रुमालले छोप्नुपर्छ । यसो गर्दा घामको विकिरण केशमा परेर केश बिग्रन दिँदैन ।

भारती अधिकारी पोषणविद्

चिसो मौसममा यसै पनि खानपानमा सजगता अपनाइएन भने विभिन्न स्वास्थ्य समस्या देखा पर्न सक्छन् । अझ उमेर पुगेकाहरूले त खानेकुरामा विशेष ध्यान पुर्‍याउनु जरुरी छ । चिसोयाममा यो उमेरका व्यक्तिहरूले बढी मात्रामा भिटामिन ‘बी’, भिटामिन ‘सी’, कार्बोहाइड्रेड, पोटासियम, क्याल्सियम र मिनरल्स तथा फाइबरयुक्त खानेकुरा मात्रा मिलाएर खानुपर्छ । जसले शरीरलाई डिहाइड्रेड हुन बचाउनुका साथै पाचनशक्तिलाई पनि सन्तुलनमा राख्छ । यी तत्व हरिया सागपात, फलफूल, बेसार, दालचिनी, अदुवा आदिमा पाइन्छन् । ५० वर्ष कटेकाहरूले जाडोमा शरीरलाई न्यानो हुने झोलिलो पदार्थ बढी उपभोग गर्नुपर्छ भने पिउनका लागि तातोपानी नै उत्तम हुन्छ ।

अनुषा दाहाल, फेसन डिजाइनर

जाडोमा उमेर पुगेका महिलाहरूले ऊनीका कुर्तीमा प्यान्ट स्टाइलको पहिरन लगाउँदा आकर्षक देखिन्छ । कोट स्टाइलको लङ आउटरले पनि उनीहरूको व्यक्तित्वलाई पर्फेक्ट देखाउँछ । यसमाथिबाट कलर म्याचिङ गरेर वा ब्राइट कलरको पस्मिना ओढ्दा अझ एलिगेन्ट देखिन्छ । यस्ता महिलाका लागि फेब्रिक भने न्याना खालका हुनुपर्छ । जस्तै–कटराइज, ऊलन, लिनेन, पस्मिना, फर, भल्भेट आदि । जाडोयाममा ५० वर्ष कटेका महिलालाई पार्टीमा जानुपरे भेल्भेटको ब्लाउजमा साडी र त्यसमा बाहिरबाट ऊनीको लामो कोट अनि साथमा ऊनी वा पस्मिनाको सल ओढ्दा फरक लुक्स देखिन्छ । क्याजुअल वेयरमा महिलाले बटमवाला ऊलन टप्समा तलबाट बाक्लो ट्राउजर लगाउँदा न्यानोका साथै स्टाइलिस्ट देखिन्छ ।

डा. विभूति शाही प्रसूति तथा स्त्री रोग विशेषज्ञ

उमेर बढ्दै जाँदा महिलामा विभिन्न खालका स्वास्थ्य समस्या देखापर्न थाल्छन् । यीमध्ये मेनापज तथा पाठेघरको समस्या पनि मुख्य हुन् । मेनापजपछि महिलामा स्तन क्यान्सर हुने सम्भावना पनि उत्तिकै रहन्छ । त्यति मात्र होइन यो उमेरमा पुगेपछि रक्तचापको जाँच, कोलस्टेरोल स्क्रिनिङ, मेमोग्राम, कोलोन क्यान्सर स्क्रिनिङ गराउनु जरुरी छ । साथै बेलाबेलामा पाठेघरको जाँच गराउनुपर्छ । रोगबाट बच्नका लागि सन्तुलित आहारविहार, व्यायाम र समय–समयमा उपयुक्त क्याल्सियम र भिटामिन सप्लिमेन्ट लिन सकिन्छ । वार्षिक रूपमा म्यामोग्राम गर्नैपर्छ । सम्पूर्ण शारीरिक जाँच वार्षिक रूपमा एकपटक गर्नैपर्ने हुन्छ । ३५ देखि ४५ वर्षको उमेरलाई प्रि–मेनापज र ४५ देखि ५२ सम्मलाई मेनापज भनिन्छ । प्रि–मेनापज भन्नाले महिनावारी रोकिनका लागि हर्मोनको असन्तुलन हुनु र मेनापज भइसकेका तथा हुन लागेकाहरूलाई जाडोमा पनि गर्मी हुनसक्छ । यिनीहरूले भटमासबाट उत्पादित खानेकुरा बढी खाँदा राम्रो हुन्छ । बढी नै समस्या देखिन लागे तुरुन्त चिकित्सकसँग परामर्श लिनुपर्छ ।

 Image