Successfully Copied

खाद्य सुरक्षाको सवाल

जब चाडबाड आउँछ, बजारमा खाद्यवस्तुको स्वच्छता नियमनको चासो पनि बढ्छ । आजकल खाद्यवस्तुको आपूर्तिमा अन्तर्राष्ट्रिय बजारमाथि बढी नै निर्भर हुने हुँदा खाद्यवस्तुको आयात–निर्यात निर्देशिका तर्जुमा हुनुपर्छ । यसमा राज्यको दायित्व महत्वपूर्ण हुन्छ, हुनुपर्छ ।

जब चाडबाड आउँछ, बजारमा खाद्यवस्तुको स्वच्छता नियमनको चासो पनि बढ्छ । आजकल खाद्यवस्तुको आपूर्तिमा अन्तर्राष्ट्रिय बजारमाथि बढी नै निर्भर हुने हुँदा खाद्यवस्तुको आयात–निर्यात निर्देशिका तर्जुमा हुनुपर्छ । यसमा राज्यको दायित्व महत्वपूर्ण हुन्छ, हुनुपर्छ । कहिलेकाहीँ आइपर्ने प्राकृतिक वा मानव सिर्जित आकस्मिक अवस्थामा त खाद्यवस्तुको आपूर्ति र स्वस्थताको कुरा झनै पेचिलो र समस्याग्रस्त बन्ने गर्छ ।

बजारमा अस्वाभाविक मूल्य वृद्धि र स्वस्थतामाथि खेलवाड हुन्छ । मूल्य वृद्धिको सन्दर्भमा यसै वर्षको फेब्रुअरीमा खाद्यान्नमा ६ दशमलव ९ प्रतिशतले भाउ बढेको पाइन्छ । त्यसमाथि पनि कोभिड–१९ का कारण खाद्यवस्तुको आपूर्ति, उपलब्धता र गुणस्तर सुनिश्चित गर्नुपर्ने चुनौती त छँदैछ । सामान्य अवस्थाको तुलनामा आकस्मिक परिस्थितिहरूमा खाद्यवस्तुको स्वस्थता र आपूर्तिको सवाल जटिल भएर आउँछ । कृषि तथा पशु विकास मन्त्रालय र विश्वखाद्य संगठनको तथ्यांकले पनि कोभिड–१९ जस्तो आकस्मिक संकटमा खाद्यवस्तुको उपलब्धता, आपूर्ति र खपतमा नकारात्मक असर परेको पुष्टि गरिसकेको छ । खासगरी, तरकारीमा बढी असर परेको देखिन्छ । यसैको परिणामस्वरूप मानिस तरकारीको पारिवारिक आपूर्तिका लागि सहरतिर पनि कौसीखेतीतर्फ आकर्षित भएका छन् । आ–आफ्ना घर–बगैंचालाई यस प्रायोजनका लागि अत्यधिक प्रयोग गर्न थालेका छन् । यसो गर्दा पारिवारिक पोषण सुरक्षामा टेवा पुगेको छ भने मौलिक ज्ञान, सीप र उपजको प्रयोगमा वृद्धि भई केहीले भए पनि स्वस्थकर तरकारी खान पाएका छन् । साथै लकडाउन र निषेधाज्ञाका कारण बजारमा सहज पहुँच नहुँदा घरपरिवारका सदस्य सबै संलग्न भई भान्सा व्यवस्थापन गर्दा स्वस्थ र सबैका स्वादअनुसारका तरकारीको छनोटमा पनि सहयोग पुगेकै छ ।

यसैगरी धेरै युवाको संलग्नतामा अनलाइन खाद्यवस्तुको आपूर्ति पनि फस्टाएको छ । यसरी युवाको संलग्नता, प्रविधिको सही सदुपयोग, सामाजिक सञ्जालमार्फत देशभित्रकै उपजहरूलाई देशका विभिन्न क्षेत्रमा पुर्‍याउन सफल हुन सक्नु सकारात्मक पक्ष हो । यसबाट सबैलाई स्थानीय, ताजा र सुपथ मूल्यमा खाद्यवस्तुहरू उपलब्ध हुनेछन् । यसले समग्रमा पारिवारिक स्वास्थ्यमा सकारात्मक प्रभाव पर्नुका साथै स्थानीय उपजहरूले पनि राम्रो चिनारी र बजार पाउन सक्छन् । यसरी सहजीकरण गर्दा आपूर्ति र अनुगमनको पाटो झनै सहज हुन सक्छ । साथै जातजातिअनुरूपका खाद्यवस्तुको प्रबर्द्धन गर्ने, सबैले घर–घरको फोहोर व्यवस्थापन गरी कौसी खेती गर्ने, घर/बगैंचाको वातावरणलाई स्वच्छ राख्ने, स्थानीय खाद्य बैंकको प्रबर्द्धन गर्ने, मौलिक ज्ञान–सीपमाथि गौण रहेको महिलाको भूमिकालाई उजागर गर्ने, युवाको चाहना र संलग्नतालाई बढावा दिने, समयमा आपूर्तिको सुनिश्चितता गर्ने कामलाई थप टेवा पुग्न सक्छ । यसले बजारबाट हुन सक्ने धेरै प्रकारका ठगीबाट केही हदसम्म भए पनि बच्न सकिन्छ । अतः विविध स्थानीय परिकारप्रतिको मोह बढाऔं, परिवार सबै संलग्न भएर सिकौं, पकाऔं र प्रेमिल वातावरणमा उपभोग गरौं । सबै मिलेर आ–आफ्नो भान्सालाई सुरक्षित राखौं । यो वर्षको विश्व खाद्य दिवसको नारा ‘सबै मिलेर उत्पादन गरौं, बढावा दिऔं र दिगो बनाऔं’ ले पनि माथि उल्लिखित कुरालाई थोरबहुत सार्थक रूप दिनमा सहयोग गर्न सक्ला ?

(लेखिका खाद्य सुरक्षा तथा लैंगिक विश्लेषक हुन् ।)

 Image