Successfully Copied

गर्मीमा घरपालुवाको स्याहार कसरी गर्ने ?

गर्मीमा हामीले घरपालुवालाई हप्तै पिच्छे नुहाइदिने गर्छौं, यो कार्य ठिक होइन । घरपालुवालाई महिनामा एक वा दुई पटकभन्दा बढी नुहाइदिनु हुँदैन । यस्ता जनावरहरुलाई छोटो समयको अन्तरमा नुहाईदिदाँ छालामा विभिन्न किसिमका समस्या आउने गर्छ ।

गर्मी मौसमको सुरुवात सँगै घरपालुवाको स्याहार गर्ने शैलीमा परिवर्तन गरेर विशेष ध्यान पुर्‍याउनु पर्ने हुन्छ । गर्मी मौसममा घरपालुवालाई विभिन्न किसिमका स्वास्थ्य समस्या देखिने सम्भावना बढी हुनाले स्याहारमा ध्यान दिनुपर्ने हुन्छ ।

गर्मी तथा वर्षात्मा घर पालुवालाई छाला सम्बन्धी विभिन्न समस्या हुन्छ । यस्ता जनावरलाई किर्ना र उपियाँ पर्ने सम्भावना बढी हुन्छ । किर्ना र उपियाँका कारण ज्यान समेत जाने रोगहरु लाग्ने संभावना हुन्छ । प्राय: घरपालुवाहरु धेरै गर्मी सहन नसक्ने हुनाले गर्मीमा घरपालुवाको लागि विशेष हेरचाहको आवश्यकता हुन्छ ।

गर्मीमा हामीले घरपालुवालाई हप्तै पिच्छे नुहाइदिने गर्छौं, यो कार्य ठिक होइन । घरपालुवालाई महिनामा एक वा दुई पटकभन्दा बढी नुहाइदिनु हुँदैन । यस्ता जनावरहरुलाई छोटो समयको अन्तरमा नुहाईदिदाँ छालामा विभिन्न किसिमका समस्या आउने गर्छ । अर्को कुरा घरपालुवालाई नुहाउनका लागि यिनीहरुका लागि बनाएको साबुन तथा सेम्पु मात्र प्रयोग गर्नु पर्छ ।

गर्मीले हुने समस्या :

गर्मीमा सबभन्दा ठुलो समस्या मध्ये एक हो किर्ना र उपियाँको समस्या । किर्ना र उपियाँले ठूलो समस्याहरु निम्त्याउन सक्ने भएकाले गर्मी सुरु हुनु अगाडि नै पशु चिकित्सकको सल्लाहमा यसको रोकथाम तर्फ लाग्नु उचित हुन्छ ।

हिट स्ट्रोक :

अत्यधिक गर्मीले घरपालुवाको शरीरको तापक्रम बढेर श्वास लिन समस्या हुने गर्छ । यस्ता समस्याले तिनिहरु मुर्छा समेत पर्छन् । यसबाट घरपालुवाको ज्यान समेत जान सक्छ । तसर्थ यसबाट बच्न घरपालुवालाई चर्को घाममा राख्नु हुँदैन । रोकी राखेको गाडी भित्र धेरै बेर राख्नु हुँदैन । हावाको आवत जावत हुने ठाउँमा राख्नु पर्छ । दिनभर सफा शीतल पानीको व्यवस्था गर्नुपर्छ ।

कपाल झर्ने  समस्या :

घरपालुवाको कपाल खास गरी गर्मी महिनामा अत्यधिक झर्ने गर्छ । तसर्थ गर्मी मौसममा घरपालुवाको कपाल फुस्रो हुने, सुक्खा हुने गर्छ । कपाल झर्ने समस्याबाट मुक्ति पाउनका लागि घरपालुवालाई पौष्टिक खानेकुरा दिनुपर्छ । कपाल नझर्नका लागि खानाका साथ ओमेगा–६ ओमेगा–३ तथा अन्य भिटामिनहरु चिकित्सकको सल्लाह बमोजिम दिनु पर्छ ।

– गर्मीमा घरपालुवालाई बिहान बेलुका मात्र डुलाउन लैजाने गर्नुपर्छ । अत्याधिक गर्मीमा शारीरिक अभ्यास गराउनु हुदैंन ।

– सफा खानेपानीको व्यवस्थापन गर्ने ।

– किर्ना र उपियाँको रोकथाम गर्ने ।

– शीतल स्थानमा मात्र राख्ने ।

– सफा तथा ताजा खाना मात्र दिने ।

यस्ता सावधानी अपनाए आफ्नो घरपालुवालाई गर्मीको प्रकोपबाट जोगाउन सकिन्छ ।

(डा. यादव एड्भान्स पेट हस्पिटल एन्ड रिसर्च सेन्टर विशालनगरका प्रमुख हुनुहुन्छ ।)

 Image