पुस महिनाको राशिफल
मेष : सोचेजस्तै सफलता पाउन काममा अलिक बढी खट्नुपर्नेछ । काम सकियो भन्ने बेलामा आकस्मिक बाधा आउँदा काममा समस्या हुनसक्छ । सकेसम्म महत्वपूर्ण कामलाई निर्धारित समयमै गर्दा ढुक्क भइनेछ ।
हरेक वर्ष आउने दसैं हुने–खानेहरूलाई त खुसी एवं उमङ्ग लिएर आउँछ तर हुँदा खानेहरूको घरमा भने ऋणको भारी बोकाएर जान्छ । हाम्रो समाजमा धेरै मेहनत गरेर पनि आफ्नो जीवन यापन गर्न कठिन अवस्थामा भएको एउटा वर्ग छ, अर्को वर्ग सामान्य आर्थिक अवस्थामा जीवन यापन गरिरहेको छ भने अर्को वर्ग अथाह सम्पत्तिसहित विलासी जीवन यापन गरिरहेको छ । यस्ता तीन वर्गका मानिस एउटै गाउँमा बसोबास गर्दै आएका छन् । जो आर्थिक रूपमा सम्पन्न हुन्छन् उनीहरूको दसैंको सपिङ मलमा हुन्छ । राता चिल्ला गाडीमा छोरी, श्रीमती एवं पछाडि कुकुरसमेत राखेर सपिङ मलमा रोजी–रोजी सबैका लागि लुगा वा जुत्ता मनपरे जति, जोरका जोर किनिन्छ । सामान्य वर्गका मानिसहरू नजिकैको बजारका राम्रा–राम्रा पसलमा छोराछोरीसहित सामान खरिद गर्न लर्को लागेको देखिन्छ भने हुँदा खानेहरू कुनै सहकारी वा समूहमा ऋणका लागि लाइनमा बसेका पाइन्छन् ।
ऋण पाउनेहरू नजिकैका हाट–बजारमा छोराछोरी एवं परिवारका सदस्यहरूका लागि सामान तथा खानेकुरा खरिद गर्छन् । यी तीनै वर्गको घरमा एकै दिन आएको दसैंको दृश्यले टीकाको केही घन्टाभित्रै सामाजिक सञ्जालको भित्ता रंगिन्छ । एकातिर चाँदीको ठूलो थालीभरि टीका–जमराले सजिएको कोठामा लगाइएको टीका अनि चौरासी व्यञ्जनले सजिएको टेबलको दृश्य देखिन्छ । अर्को सामान्य वर्गमा जमरा–टीकाले सजिएको र विभिन्न परिकारको तर सामान्य सुख–सयल देखिन्छ भने हुँदा खाने वर्गको परिवारमा बाँसको चित्राले बेरेका भित्तामा अखबारले टालेका तथा नयाँ तन्ना बिछ्याएको भुइँमा लामबद्ध लागेर स्टिलको थालीमा टीका, सालको पातले बुनेको टपरीमा राखिएको जमराले सजिएको कोठामा रातो टीका–जमरा देखिन्छ । छेउमा चुल्होमा एउटा भाँडामा भात र कराहीमा मासु पाक्छ । ऋण काढेर ल्याएको भए पनि त्यो घरका बालबच्चा एवं घरपरिवारको अनुहारमा देखिने एकदिनको खुसीले साँच्चै भावुक बनाउँछ ।
आज हाम्रो समाज मानवताको सेवामा तल्लीन भएर लागेको पाइन्छ । भूकम्प आउँदा सारा नेपाली एक जुट भयौं एकले अर्कालाई सहायता गर्न कोही पछाडि हटेनौं । बाढी–पहिरो आउँदा पनि विभिन्न संघसंस्थाको माध्यमबाट हामी सम्बन्धित ठाउँमा पुग्छौं वा हरेक सुख–दु:खमा सहयोग गर्छांै । हरेक वर्ष रक्तदान गर्छौं । हामी नेपालीको जस्तो कोमल ह्दय सायदै कसैको होला । हामीलाई रिस पनि छिटो उठ्छ भने दया पनि छिटो आउँछ । यस्तो कोमल ह्दय भएका हामी नेपाली कहिलेकाहीँ स–साना कुरा पनि गम्भीर हुन्छन् भन्ने हेक्का राख्दैनौं । हामीले त्यसमा ध्यान दिएका हुँदैनौं । हामीले धुमधामसँग दसैं मनाइरहँदा हाम्रै छिमेकी दसैं मनाउन ऋण नपाएर छटपटाइरहेका हुन सक्छन् । आइपर्दा सेवामा लाग्ने हाम्रो ध्यान यस्ता कुरामा नपुगिरहेको हुनसक्छ । एउटा भनाइ छ–जत्रो व्यवहार उत्रै खर्च । एउटा सामान्य जीवन यापन गरिरहेको घरमा भन्दा आर्थिक रूपले सम्पन्न परिवारमा बढी खर्च हुन्छ । आजको आडम्बरले ढाकेको हाम्रो समाजमा खर्च पनि आवश्यकताअनुसार हुन्छ भने कतै आफ्ना लागि र आवश्यकताभन्दा पनि समाज र आफन्तहरूलाई देखाउन पनि अलि बढी खर्च गर्ने चलन छ ।
हामीले जोरका जोर लुगा–जुत्ता खरिद गर्दा छिमेकीको परिवारमा एक जोरसम्म लुगा खरिद गर्न नसकेका हुन सक्छन् । यस्ता कुरामा ध्यान जान सक्यो र हामीले बाहिर गर्ने सेवाको भावना आफ्नै छिमेकमा जान सक्यो भने त्यो अवश्य उदाहरणीय हुनेछ ।
घरमा चौरासी व्यञ्जन पाकेका बेला छिमेकमा केही मीठो–मसिनो पाक्यो कि पाकेन भनेर चिन्तन गर्न सकियो भने हरेकको ओठमा खुसी देख्न सकिनेछ । हुने–खानेले मात्र होइन हुँदा खानेले पनि खुसीपूर्वक दसैं मनाउन पाउनुपर्छ । हरेक संकटमा साथ दिने छिमेकीसँग पर्व पनि एक भएर मनाउन सकौं । छिमेकीहरूसँगको सम्बन्ध बलियो बनाउन सके मात्र बाहिर गएर गरेको सेवाले आत्मसन्तोष दिनेछ । प्रोफेसर हेराल्ड के लास्कीको भनाइ छ–छिमेकमा कोही भोकै छ भने तिमीलाई एक्लै रोटी खाने अधिकार छैन । यही भनाइलाई आत्मसात् गर्दै यो वर्षको दसैंमा हामी सबैको छिमेकीको घरमा ऋणको दसैं होइन खुसीको दसैं आउन सकोस् । हामीले एकले अर्कालाई सहयोग गर्न सकौं भन्ने कामनाका साथ विजयादशमीको हार्दिक शुभकामना ।