Successfully Copied

जाडोमा तौल तथा खानपान व्यवस्थापन

तौल घटाउन र सन्तुलित राख्न ७० प्रतिशत डाइट र ३० प्रतिशत व्यायामले भूमिका खेल्छ । घरमा काम गर्दा, भर्‍याङ चढ्दा–ओर्लंदा पनि शरीरको कुन अङ्गमा स्ट्रेस दिनुपर्ने हो त्यही भागमा अलिकति सचेत भै बल पार्दा उक्त भागमा व्यायाम पुग्छ । त्यसबाहेक बिहान हल्का व्यायामपछि

जाडोमा तौल व्यवस्थापन कसरी गर्ने ?

तौल घटबढको प्रमुख कारण खानपान हो । जाडोमा यसै पनि बढी नै खाना रुच्छ । तौलका हिसाबले जे पनि खान हुन्छ तर थोरै मात्रामा । २–२ घन्टाको फरकमा दिनमा ६ पटकसम्म खान सकिन्छ । हामी लामो अन्तरालमा एकैपटक धेरै खान्छौं जुन तौल बढ्ने मात्र होइन रोगको समेत प्रमुख कारण बन्नपुग्छ ।

लामो अन्तरालमा एकैपटक धेरै खाँदा कस्ता समस्या सिर्जना हुन सक्छन् ?

यसरी खाँदा शरीर असहज हुने त छँदैछ । डायबिटिज तथा कोलेस्ट्रोल बढ्नेजस्ता स्वास्थ्य समस्या देखा पर्छन् । शरीरमा बोसो भरिएपछि श्वासप्रश्वासमा समस्या सिर्जना हुनेदेखि लिएर उच्चरक्तचापको सम्भावनासमेत वृद्धि हुन्छ ।

कस्तो खानपानले शरीर स्वस्थ एवं सन्तुलित रहन्छ ?

जे खाए पनि थोरै खाने । हामीलाई लाग्छ, आलु तरकारी हो तर होइन । आलु कार्बोहाइड्रेडको मूल स्रोत हो । भात र आलुमा केही फरक छैन । ब्राउन राइस वा ब्रेड, भेजिटेबल, फलफूल, सागपात, प्रशस्त पानी स्वास्थ्य एवं शारीरिक सन्तुलनका लागि उपयुक्त खानपान हुन् । फिजिकल फिटनेसका लागि एक मुठीजति भात, दुई वटा रोटी, औंला डुब्ने एक कचौरा दाल तथा ४ देखि ६ पिस काउली खानुपर्छ ।

शरीरको तौल घटाउन फ्याट–बर्न–पिल्स कत्तिको उपयुक्त हुन्छ, यसका साइड इफेक्ट्सहरू के–कस्ता छन् ?

यस्ता पिल्स खानै हुँदैन भन्ने होइन तर खाइसकेपछि के–कस्तो सावधानी अपनाउनुपर्छ भन्ने कुरामा सजग हुन जरुरी छ । यस्ता पिल्सको प्रयोगपछि प्रशस्त पानी, व्यायाम तथा सही डाइट आवश्यक हुन्छ । यसमा कहीँ–कतै चुकियो भने पिल्स पच्दैन र किड्नीमा गएर जम्मा हुन्छ जसले किड्नीलाई असर गर्छ ।

तौल घटाउन घर बसी–बसी गर्न सकिने उपाय के हुनसक्छन् ?

तौल घटाउन र सन्तुलित राख्न ७० प्रतिशत डाइट र ३० प्रतिशत व्यायामले भूमिका खेल्छ । घरमा काम गर्दा, भर्‍याङ चढ्दा–ओर्लंदा पनि शरीरको कुन अङ्गमा स्ट्रेस दिनुपर्ने हो त्यही भागमा अलिकति सचेत भै बल पार्दा उक्त भागमा व्यायाम पुग्छ । त्यसबाहेक बिहान हल्का व्यायामपछि जिरा वा कागती पानी पिउनुपर्छ । जाडो महिनामा तातोपानीमा मह हालेर पिउनु उत्तम हुन्छ । मुख्य कुरा त थोरै तर समय–समयमा खाने बानी बसाल्नुपर्छ ।

हेल्थ क्लब, जिम, फिटनेस सेन्टरको सेवा एकपटक सुरु गरेपछि निरन्तरता दिइरहनुपर्छ भनिन्छ, के यो सत्य हो ?

यस्ता स्थानमा आउने ७० प्रतिशत मानिस दुब्लाउनकै लागि आउँछन् भने बाँकी ३० प्रतिशतले यसलाई लाइफ स्टायल बनाइसकेका हुन्छन् । स्वस्थ जीवनका लागि व्यायाम अनिवार्य छ । चाहे त्यो फिटनेस सेन्टर धाएर होस् वा घरमै व्यायाम गरेर नै किन नहोस् ? एकपटक सुरु गरेपछि लगातार आइरहनुपर्छ भन्ने छैन । आफ्नो शारीरिक बनावट एक तहमा पुगिसकेपछि त्यसलाई खानपान र घरमै गरिने व्यायामद्वारा सन्तुलित राख्न सकिन्छ । नेपालीहरू फिटनेस सेन्टर धाएर बल्लतल्ल शरीर घटाउँछन् अनि छोडेपछि एकथाल भात खाएर सुत्छन्, एक्सरसाइज गर्न अल्छी गर्छन् अनि पुन: तौल बढ्न थाल्छ । शरीर स्वस्थ राख्न सही खानपान र व्यायामलाई जीवनको अभिन्न हिस्सा बनाउनु अत्यावश्यक छ ।

                                                 सञ्चालक तथा इस्ट्रक्टर

                                           फिट स्टप फिटनेस, लबिम मल

 Image