आत्मविश्वासी सोफिया
सानैदेखि हक्की र साहसी सोफिया भुजेल सन् २०२२ की ‘मिस युनिभर्स नेपाल’ विजेता हुन् । आगामी जनवरी १४ मा अमेरिकाको न्यू ओर्लिन्समा हुने ‘मिस युनिभर्स’ मा उनी नेपालको तर्फबाट प्रतिनिधित्व गर्दैछिन् ।

पहिलेजस्ता फूलबारी वा ठूल्ठूला कौसी भएका घर अहिले निकै कम छन् । तैपनि बगैंचा एवं पुष्पप्रेमीहरू सानो ठाउँलाई उपयोग गरी प्राकृतिक, सुन्दर तथा हरियो वातावरण कसरी कायम गर्ने भनेर लागिपरेका छन् । त्यसैले हिजोआज गमलामा बोटबिरुवा लगाउने चलन बढ्दो छ । समय र मेहनत धेरै नलाग्ने, चाहेअनुसारका बोटबिरुवा आफूले चाहेको ठाउँमा हुर्काउन सकिने, प्रयोगमा नआएका अप्ठ्यारा ठाउँ तथा कुनाकाप्चा प्रयोगमा ल्याउन सकिने आदि कारणले गर्दा गमलामा फूल रोप्ने प्रचलन बढ्दै गएको हो ।
थोरै जमिन भएका वा जमिन नै नभएका, सानो बजेट हुने अनि फुर्सद नहुने पुष्पप्रेमीहरूका लागि पनि उत्तिकै उपयोगी छ गमला । गमलामा फूल रोपेर पनि आफ्नो इच्छा पूरा गर्न सकिन्छ । चिसो मौसममा गेट, कोठा तथा बरन्डामा गमला नै ढाक्ने गरी ढकमक्क फुलेका फूल हुन् वा न्यानो मौसममा बोटका पातै ढाक्ने गरी फुलेका फूलहरू नै किन नहुन् ? गमलामा रोपिएका यस्ता बोटबिरुवाले उक्त स्थानको शोभा बढाउनुका साथै वातावरण नै रमणीय बनाउँछन् ।
कलरफूल गमला
बजारमा बोटबिरुवा हुर्काउने आकर्षक रंगका, विभिन्न आकार–प्रकारका, साना–ठूला, हलुका, गुणस्तरीय, सस्ता, महँगा आदि विभिन्न किसिमका गमला उपलब्ध छन् । सामान्यत: माटो र प्लास्टिकका गमला प्रयोग गरिने भए पनि काठ, ढुंगा, बाँस, सिमेन्ट आदिबाट तयार पारिएका गमला पनि उत्तिकै प्रचलित छन् ।
सिमेन्टका गमला
सिमेन्टका गमला टिकाउ हुनुका साथै केही महँगा पनि हुन्छन् । प्राय: गमला बोटबिरुवा रोपेपछि राखिने स्थानलाई ध्यानमा राखेर निर्माण गरिएका हुन्छन् । उक्त स्थानको प्रतिकूल वातावरण (घाम, पानी, तातो, चिसो, वर्षा, हिउँ आदिले सजिलै बिगार्न तथा फुटाउन नसक्ने) मा पनि केहीनहुने तथा वातावरणीय अवस्था विचार गरी प्रयोग गरिने गमलालाई सामान्य हेरविचारबाटै लामो समयसम्म टिकाउन सकिन्छ ।
कलात्मक गमला
बिरुवा रोपेपछि राख्ने ठाउँ, रोप्ने बिरुवाको प्रकार आदि विचार गरी उपयुक्त किसिमका गमला खरिद गर्नुपर्छ । फूलबिरुवा लगाउन वा फूलबारीलाई आकर्षक देखाउन रंगीन, ठूला र महँगा गमला नै खरिद गर्नुपर्छ भन्ने छैन । आफ्नो घरमा उपलब्ध हुने रित्ता टिन, काठ तथा माटाका भाँडाहरू पनि प्रयोग गरी एउटा छुट्टै कला सिर्जना गर्न सकिन्छ । बोटबिरुवा रोप्न घरमै उपलब्ध भाँडा वा किनिएका गमला जे प्रयोग गरे पनि ती गमलालाई विभिन्न आकारमा काटेर रंगरोगन गरी कार्टुनहरू बनाएर, विभिन्न बोतल, भाँडाहरूमा बुट्टा कुँदेर पनि कला सिर्जना गर्न सकिन्छ ।
हेरचाहको बढी आवश्यकता
कम माटो, पानीलगायत अन्य पौष्टिक तत्वहरूसमेत कम उपलब्ध हुने हुँदा बगैंचामा हुर्काइने बोटबिरुवाको तुलनामा गमलामा हुर्काइएका बोटबिरुवालाई अलि बढी हेरचाहको आवश्यकता पर्छ । कम माटोका कारण गमलामा हुर्काइएका बोटबिरुवा प्राय: पानी छिट्टै सुकेर माटो छिट्टै सुख्खा हुने, मल पनि छिट्टै रित्तिने हुनाले पानी र मलको प्रयोगमा विशेष ध्यान पुर्याउनुपर्छ । जरा गहिरो जाने र अग्लो हुने तथा फैलिने, पातला र लामा एवं चुच्चा पात हुने किसिमका बोटबिरुवालाई बढी हेरचाह गरी हुर्काउनुपर्छ र पानीको आवश्यकता पनि बढी नै पर्छ । यस्ता बोटबिरुवालाई कसिलो तथा हल्का चिम्ट्याइलो माटो
भरिएको गहिरो गमलामा रोप्नुपर्छ ।
गमलाको सही छनोट आफूले चाहेअनुरूपका बिरुवा उमार्न गमलाको आकार उपयुक्त छ कि छैन ध्यान पुर्याउनुपर्छ । बोटबिरुवाका किसिममा व्यापक विविधता छ । केही बोटबिरुवा गहिरो जरा गाडिने र अग्लो तथा फराकिलो हुने खालका हुन्छन् भने केही अति कम जरा गाड्ने र साना तथा तेर्सो बढ्ने किसिमका हुन्छन् । बोटबिरुवाका विभिन्न प्रकृति विचार गरी गमलाको गहिराइ, फराकिलोपन, गोलाइ र आकार–प्रकार निर्धारण गर्नुपर्छ ।
यसका अतिरिक्त गमलामा हुर्काइने बोटबिरुवा साँघुरो ठाउँका कारण आवश्यकताभन्दा कमै हुर्किएका पाइन्छन् । लहरे, अग्ला, ठूला र मझौला आकारका बोटबिरुवाका लागि गहिरा र बाक्ला भित्ता भएका गमला प्रयोग गर्नु उपयुक्त हुन्छ । जरा गहिरो नजाने, कम पानी र खुकुलो माटो रुचाउने, माटोमा तेर्सो बढ्ने र बाक्ला पात भएका बोटबिरुवाका लागि होचा, थेप्चा तथा फराकिला र पातलो भित्ता भएका गमला प्रयोग गर्नुपर्छ ।