Successfully Copied

दसैंमा खानपान तथा पहिरन

दसैं भन्नासाथ सिर्जनाको मस्तिष्कमा होलिडे मुड, ठूलाबडाको आशीर्वाद, राम्रा पहिरन, मीठा परिकार, सरसफाइ, रमाइलो मौसम यस्तै कुरा आउँछन् । अरु समयमा सबैजना आ–आफ्नो काममा व्यस्त हुने भए पनि यतिबेला सबै कामलाई थाती राख्दै सबैजना भेटघाटमा रमाउँछन् ।

दसैं भन्नासाथ सिर्जनाको मस्तिष्कमा होलिडे मुड, ठूलाबडाको आशीर्वाद, राम्रा पहिरन, मीठा परिकार, सरसफाइ, रमाइलो मौसम यस्तै कुरा आउँछन् । अरु समयमा सबैजना आ–आफ्नो काममा व्यस्त हुने भए पनि यतिबेला सबै कामलाई थाती राख्दै सबैजना भेटघाटमा रमाउँछन् ।  

मालती थापा

दसैंको रौनकले सबैलाई छोएको छ । दसैं समष्टि रूपमा सांस्कृतिक, धार्मिक एवं सामाजिक एकताको प्रतीक हो । दसैंलाई व्यस्त जीवनबाट विश्राम लिने अवसरका रूपमा समेत लिइन्छ । त्यसैले त वन चाइनिज स्टिक फुड हाउसकी संचालिका मालती थापालाई दसैं असाध्यै मनपर्छ । दसैंलाई महत्वपूर्ण चाडका रूपमा लिन्छिन् उनी । दसैं भन्नासाथ पारिवारिक जमघट, दुर्गा भवानीको पूजा–आराधना, नयाँ पहिरन तथा मीठा–मीठा परिकारजस्ता कुरा उनको दिमागमा क्लिक हुन्छ ।

मालती दसैंको आगमनसँगै नयाँ पहिरनको खरिदमा गर्नमा व्यस्त हुन्छिन् । उनी आफ्ना छोरी तथा आफन्तहरूका लागि हरेक दसैंमा नयाँ पहिरन खरिद गर्छिन् । पहिरनसँगै म्याच हुने जुत्ता तथा ब्याग खरिद पनि उनको कार्यसूचीमा हुन्छ । दसैंमा नयाँ पहिरन लगाएर आफन्तकहाँ टीका तथा आशीर्वाद थाप्न जाँदा छुट्टै किसिमको एक्साइटमेन्ट हुने उनी बताउँछिन् । मालतीका अनुसार यो समयमा विभिन्न किसिमका नौला परिकार बनाएर खाने–ख्वाउने चलन छ । मालतीले बनाएको मम आफन्तहरूलाई मन पर्ने भएकाले यतिबेला उनी आफन्तहरूलाई मम नै ख्वाउँछिन् । दसैंमा बनाइने खल्पीको अचार तथा खसीको मासुको पक्कु उनलाई असाध्यै मनपर्छन् ।

ज्योति भट्टराई

मेट्रो काठमाडौं हस्पिटलकी इन्डोक्राइनोलोजिस्ट डा. ज्योति भट्टराई दसैंलाई मेलमिलापको चाड भन्न रुचाउँछिन् । अरु बेला सबै आ–आफ्नो काममा व्यस्त भए पनि यो समय भेटघाट गर्ने, खुलेर कुरा गर्ने, रमाइलो गर्ने अवसर हो । लामो बिदा हुने भएकाले सबैले यसको खुलेर मज्जा लिन्छन् । धेरैजसोले दसैंका लागि नयाँ पहिरन खरिद गर्छन् । आफ्ना छोरीहरूका लागि नयाँ पहिरन खरिद गर्ने उनको बानी छ । डा. भट्टराई दसैंमा नयाँ पहिरन खरिद नगरे पनि आफूसँग भएका नयाँ पहिरन नै लगाउँछिन् ।

दसैंमा लामो बिदा हुने भएकाले डा. भट्टराईले पनि परिवारका साथमा धेरैपटक गाउँको घर ह्याङ्जामा दसैं मनाएकी छिन् । त्यहाँको रमणीय वातावरण, धानबाली, हिमाल, पिङ आदि देख्दा उनको मन पुलकित हुन्छ । मासुको चाड दसैंमा शाकाहारी ज्योति साग, काउली, पनीर आदि तरकारी खान्छिन् । मासु काटेको दिन उनलाई घरमा बस्न मन लाग्दैन । त्यसैले उनी यतिबेला रमणीय स्थानको भ्रमणको मज्जा लिन्छिन् । उनी निस्फिक्री भएर खाने–ख्वाउने चाड दसैंमा आफ्नो स्वास्थ्यप्रति सजग हुन पनि सबैसँग आग्रह गर्छिन् । डा. भट्टराई भन्छिन्–घरमा आएका पाहुनालाई कोक, फेन्टाको साटो मोही, लस्सी आदि दिन सकिन्छ । आफ्नो गच्छेअनुसार तनावरहित भएर, खानपानमा ध्यान दिएर मनाए चाडपर्वको वास्तविक मज्जा लिन सकिने डा. ज्योतिको धारणा छ ।

पीताम्बर सिग्देल

नेचर खबर अनलाइनका सम्पादक पीताम्बर सिग्देललाई दसैं भन्नासाथ बाँसको लिङ्गोमा बाबियोको डोरीले बनाइएको लिङ्गे पिङ दिमागमा क्लिक हुन्छ । सिग्देल भन्छन्–‘बाल्यकालमा नयाँ लुगा लगाएर पिङ मच्चाउनुको मज्जा नै बेग्लै हुन्थ्यो ।’ पिङ खेल्ने क्रममा धेरैपटक लडेको पनि स्मरण गर्छन् उनी । पूर्वी पहाडको ताप्लेजुङमा बाल्यकाल बिताएका पीताम्बर दसैंमा नयाँ पहिरन लगाएर आफन्तकहाँ टीका लगाउन गएको सम्झना पनि मानसपटलमा ताजै भएको बताउँछन् । उनी यसरी टीका लगाएर फर्कदा बाटोमा लाग्ने मेलामा मिसिएर धान नाच नाच्थे । अहिले कामको व्यस्तता तथा सहरी जीवनका कारण दसैंको पुरानो स्वादमा केही परिवर्तन आए पनि नौरथा लागेपछि छुट्टै रोमाञ्चकता पैदा हुने उनी बताउँछन् । आफन्तहरूसँग भेटघाट हुने दसैंमा उनलाई नयाँ पहिरन लगाउनुपर्छ भन्ने नलागे पनि दसैंका दिन दराजमा भएका नयाँ पहिरन खोजी–खोजी लगाउन मन लाग्छ ।

पछिल्ला केही वर्षको दसैं विभिन्न कारणले टीका लगाउन नपाए पनि दसैंको रोमाञ्चक पल भने सेलिब्रेट गर्दै आएका छन् सिग्देलले । टीका नलगाए पनि हरेक दसैंमा खसी काट्ने, साथीभाइ एवं आफन्त जम्मा भएर खानपान र रमाइलो गर्ने क्रम धेरै दिनसम्म चल्ने उनले बताए । दसैंका बेला मासुका विभिन्न परिकार बनाएर खान–ख्वाउन मन पर्छ, उनलाई । यो वर्ष घरमा पनि टीका नभएकाले परिवारसँगै सुन्दर ठाउँ घुमेर त्यहाँको सांस्कृतिक पक्षको मज्जा लिने तयारीमा रहेको सिग्देलले बताए ।

सिर्जना राणा

जोन्ता क्लब अफ काठमाडौंकी अध्यक्ष सिर्जना राणा दसैंलाई आत्मीयता वृद्धि गर्ने तथा आफन्तहरूको महत्व महसुस गराउने चाड भन्न रुचाउँछिन् । दसैं भन्नासाथ उनको मस्तिष्कमा होलिडे मुड, ठूलाबडाको आशीर्वाद, राम्रा पहिरन, मीठा परिकार, सरसफाइ, रमाइलो मौसम यस्तै कुरा आउँछन् । अरु समयमा सबैजना आ–आफ्नो काममा व्यस्त हुने भए पनि यतिबेला सबै कामलाई थाती राख्दै सबैजना भेटघाटमा रमाउँछन् । दसैंमा उनी देवीका मन्दिरहरू पुग्छिन् । उनलाई पकाउनमा त्यति रुचि नलागे पनि मासुका विभिन्न परिकार खान मन लाग्छ । दसैंमा निस्फिक्री भएर स्वास्थ्यको ख्यालै नगरी खानेकुरा खाने राणा मासुका साथै विभिन्न किसिमका मिठाईंमा समेत उत्तिकै जोड दिन्छिन् ।

बाल्यकालमा दसैंमा नयाँ पहिरन लगाउनुपर्छ भनिँदै आएकाले उनी अहिले पनि त्यही कुरा लागू गर्छिन् । दसैं भनेर नयाँ पहिरन नै खरिद नगरे पनि त्यो दिन पहिलेदेखि नै भएका नयाँ पहिरन लगाएर टीका थाप्न जान्छिन्, उनी । सबै जना ज्येष्ठ सदस्यको घरमा भेला भएर टीका लगाउने चलनका सम्बन्धमा जानकारी दिँदै राणा भन्छिन्– ‘यसो गर्दा सबैको घर–घरमा पुगिरहनु पर्दैन भने समयको समेत बचत हुन्छ ।’

 

 Image