Successfully Copied

म देशका लागि के गर्न सक्छु ?

एक थुकी सुकी, सय थुकी नदी भनेझैं सबैले आ–आफ्नो स्थानबाट सकेको काम गरे देश विकास हुन्छ । आमनागरिकका हैसियतले आ–आफ्नो क्षेत्र, पेसा तथा कर्ममार्फत हामीले के गर्न सक्छौं आफ्नो मुलुकका लागि ? हामी जहाँ, जसरी र जस्तो स्थानमा छौं त्यहीँबाट त्यसरी नै आफू

एक थुकी सुकी, सय थुकी नदी भनेझैं सबैले आ–आफ्नो स्थानबाट सकेको काम गरे देश विकास हुन्छ । आमनागरिकका हैसियतले आ–आफ्नो क्षेत्र, पेसा तथा कर्ममार्फत हामीले के गर्न सक्छौं आफ्नो मुलुकका लागि ? हामी जहाँ, जसरी र जस्तो स्थानमा छौं त्यहीँबाट त्यसरी नै आफू सक्दो गर्न सकेको खण्डमा देशमा सभ्यता बढ्दै, भ्रष्टाचार घट्दै एवं लापरबाही तोडिँदै जान्छ ।

अञ्जु भट्टराई, संस्थापक–प्रिन्सिपल, अक्षरा स्कुल, काँडाघारी

शिक्षा क्षेत्रलाई एड्भान्स, व्यावहारिक एवं बालमैत्री बनाउन म सदा प्रयत्नरत रहन्छु । अर्को कुरा आफ्नो विद्यालयका आर्थिक रूपमा कमजोर विद्यार्थीलाई छात्रवृत्ति दिएर मुलुकका लागि सक्षम नागरिक बनाउँछु । एन्फा उपाध्यक्षको हैसियतले हरेक विद्यालयबाट अनिवार्य रूपमा विद्यार्थीलाई खेलकुदमा समावेश गराउनैपर्ने नियम बनाई मुलुकलाई नयाँ र अब्बल खेलाडी दिन भूमिका खेल्छु । निजी र सरकारी शिक्षा तथा शैक्षिक संस्थाहरूबीच समन्वयकारी भूमिका खेली शिक्षा क्षेत्रको खाडल र विभेद कम गर्न सहयोगी भूमिका निर्वाह गर्नसक्छु ।

पूनम क्षेत्री गौतम, निर्मातृ, डिजाइनर तथा अभिनेतृ

भर्खरै सम्पन्न न्यूयोर्क फेसन शोमा आफ्नो कला प्रस्तुत गरेर आएँ । मेरा डिजाइन विदेशीहरू (जसले नेपालको नाम पहिलो पटक सुनेका थिए) ले पनि मन पराए । हामीले देशलाई दिन सक्ने भनेको यही हो । हाम्रो सानो र एक्लो प्रयासले नेपालको नाम अन्तर्राष्ट्रिय स्तरमा चिनियो । अर्को कुरा चलचित्र निर्मातृका हैसियतले म महिला सशक्तीकरण, विकास र प्रगतिका लागि प्रेरित गर्ने खालका चलचित्र निर्माण गर्न सक्छु, जसले देश विकासमा आमूल परिवर्तनकारी भूमिका खेल्न सघाउँछ ।

सिर्जना श्रेष्ठ, निर्देशक, आयुष अस्पताल, नयाँबानेश्वर

नेपाल प्राकृतिक रूपमा अत्यन्तै धनी देश हो । यहाँ सुन–चाँदी, हीरा–मोती सबै छन् । यी सबैलाई प्रयोग गर्न सकेको खण्डमा देशलाई अवश्य उँभो लगाउन सकिन्छ । हाम्रो पुरानो पद्धति प्राकृतिक चिकित्सालाई मैले निजी क्षेत्रमार्फत स्थापित गरी थुप्रै बिरामी निको पारेकी छु । नेपालकै स्रोत –साधन एवं कच्चापदार्थको प्रयोग गरी ३ दर्जनभन्दा बढीलाई रोजगार दिइरहेकी छु । नसर्ने तथा जीवनशैलीसँग सम्बन्धित रोगको दीर्घकालीन उपचारका लागि राष्ट्रियस्तरबाटै पहल गरिरहेकी छु । नियमित कर तिर्नु, इमान्दारीपूर्वक काम गर्नु तथा नियम–कानुन पालना गर्नुलाई मैले आफ्नो कर्तव्य मान्दै आएकी छु ।

रुबिना क्षेत्री, कप्तान, महिला क्रिकेट टिम

हामी खेलाडीले देशका लागि गर्ने भनेको राष्ट्रको प्रतिनिधित्व गर्दै अब्बल प्रदर्शन गर्नु हो । खेलकुदमार्फत विदेशी भूमिमा नेपालको नाम उँचो बनाउने मेरो प्रयास सदैव जारी रहनेछ । खेलाडीले आफ्नो बल, बुद्धि, क्षमता र आँट मुलुककै लागि समर्पित गर्नुपर्ने हुन्छ । कतिपय अवस्थामा राष्ट्र तथा सामाजिक हितका लागि हामीले व्यावसायिक हुन मिल्दैन । त्यस्तो अवस्थामा हामी नि:स्वार्थ र निष्पक्ष रूपले खेल्छौं । जस्तोसुकै परिस्थितिमा पनि मैले रुबिना क्षेत्री भनेर होइन कि नेपाल र नेपाली भनेर आफूलाई प्रदर्शन गर्ने गरेकी छु । म राष्ट्रिय खेलाडी भनेर यो ट्यागको कुनै फाइदा पनि उठाउँदिन । म आफ्नो परिश्रममा विश्वास गर्छु ।

योगिता थापा, अन्तर्राष्ट्रिय मोडल

म अन्तर्राष्ट्रिय र्‍याम्पमा व्यक्तिगत तवरले होइन मुलुकको प्रतिनिधित्व गर्दै आफ्नो कला प्रस्तुत गर्छु । म नेपाली भनेर बढी चिनिन्छु । अन्तर्राष्ट्रिय शोहरूमा आफूलाई प्रस्तुत गर्दा सकेसम्म नेपाली वेशभूषा झल्कने पोशाक मेरो प्राथमिकतामा पर्छन् । त्यति मात्र होइन आफ्नो देश, यहाँको कला–संस्कृति एवं प्राकृतिक दृश्यका बारेमा बोलेर मैले देशका लागि योगदान दिने प्रयास गरिरहेकी छु । विदेशको आफ्नो सम्पूर्ण कमाइ नेपाल भित्र्याइरहेकी छु । हामीहरूले यसरी नै आ–आफ्नो तह र तप्काबाट थोरै मात्र भए पनि राष्ट्रको हित हुने काम गर्दै गयौं भने नेपाल क्रमश: समृद्ध हुँदै जान्छ ।

रीना प्रधान, मेकअप आर्टिस्ट, द फिनिसिङ टच ब्युटी टेक्नोलोजी

सौन्दर्यका क्षेत्रमा लामो समय काम गरेको नाताले म यो क्षेत्रमा नेपाली कलालाई अझ प्रोत्साहित गर्ने प्रयासमा छु । आफ्नो निजी प्रयासद्वारा कतिपयलाई रोजगारी दिइरहेकी छु । आफ्नो टोल–छिमेकको वातावरण संरक्षण एवं प्रबद्र्धनमा पनि भूमिका निर्वाह गरिरहेकी छु । सौन्दर्यलाई स्वास्थ्यसँग जोडेर हेर्दा धेरै महिलालाई यसमा सजग एवं सचेत बनाउने कुरामा पनि म निरन्तर क्रियाशील छु । महिलालाई यस विषयमा तालिम दिई स्वरोजगार एवं आत्मनिर्भर बनाउने काममा पनि लागिरहेकी छु । राज्यलाई तिर्नुपर्ने कर तथा राज्यद्वारा जारी नियम–कानुन पालना गर्न म पछि पर्दिन ।

लीला मानन्धर, युरोपियन सदनसम्म पुग्ने प्रथम नेपाली महिला

आँट र संघर्षलाई निरन्तरता दिएको खण्डमा नेपाली महिला पनि संसारका जुनसुकै स्थानमा पुगेर राष्ट्रको नाम उँचो राख्न सक्छन् भन्ने उदाहरण बन्न सक्नु पनि नेपालकै लागि गौरवको विषय हो । अर्को कुरा अन्तर्राष्ट्रिय स्तरमा राजनीति गर्ने व्यक्तिको हैसियतले त्यहाँसम्म नेपाली महिलाहरूलाई पुर्‍याउन मेरो निरन्तर प्रयास रहनेछ । विदेशी सीप, स्रोत तथा ज्ञान नेपाल भित्र्याउन म सक्रिय रूपले लागेकी छु जुन देशका लागि फलदायी साबित हुनेछ ।

मिलु थापा, सञ्चालक, भिएलसीसी फिटनेस, ब्युटी एण्ड स्पा मेट्रो पार्क, उत्तरढोका लाजिम्पाट

महिलालाई उद्यमशीलतामा लगाउने मेरो प्रयास निरन्तर जारी छ जुन मैले आफ्नो देश र नेपाली महिलाहरूका लागि गरिरहेकी छु । घरमै बसेर गर्न सकिने कामदेखि अन्य व्यवसाय जसले महिलालाई आर्थिक रूपमा सशक्त बनाउँछ को प्रबद्र्धन एवं विकासमा मेरो सक्रियता नै मैले देशका लागि आफ्नो क्षमताले दिन सकेको केही चीज हो । जे गरेकी छु आफ्नो परिश्रमद्वारा आयआर्जन गरिरहेकी छु र इमान्दारीपूर्वक राजस्व तिरिरहेकी छु । म झुक्किएर पनि बिनालाइसेन्स हिँड्दिन र सडक नियम पालना गर्छु । बाटोमा जथाभावी फोहोर पनि फाल्दिन ।

शर्मिला सुब्बा, मार्केटिङ अफिसर, नेपाल इकारात इन्जिनियरिङ कम्पनी

एक जिम्मेवार तथा व्यावसायिक नागरिकका हैसियतले म इमान्दारीपूर्वक कर बुझाउँछु । राष्ट्र हितका लागि जारी ऐन–कानुन सधै पालना गरिरहेकी छु । मुलुकको शान्ति र विकासमा बाधा पुर्‍याउने कार्य एवं गतिविधिको विरोध गर्छु र अरूलाई पनि त्यसमा सहभागी हुनबाट रोक्छु । जीवन निर्वाहका लागि सधै कानुनले वर्जित नगरेका काम मात्र गर्छु । आफूले सक्ने स्तरबाट मुलुकको सकारात्मक विकास एवं न्यायका लागि आवाज उठाइरहन्छु ।

 Image