Successfully Copied

इन्धन बचाउने उपाय

भारतीय नाकाबन्दी एवं लोडसेडिङ नेपालको जल्दोबल्दो समस्या बन्न पुग्यो । यो समस्यालाई हामी सर्वसाधारण वा भान्साको डाडु–पन्युका मालिक महिला दिदी–बहिनीहरूले निकै सुझबुझ एवं बुद्धिमत्ताका साथ समाधान गर्दै अघि बढ्नुपर्ने स्थिति उत्पन्न भयो ।

भारतीय नाकाबन्दी एवं लोडसेडिङ नेपालको जल्दोबल्दो समस्या बन्न पुग्यो । यो समस्यालाई हामी सर्वसाधारण वा भान्साको डाडु–पन्युका मालिक महिला दिदी–बहिनीहरूले निकै सुझबुझ एवं बुद्धिमत्ताका साथ समाधान गर्दै अघि बढ्नुपर्ने स्थिति उत्पन्न भयो । इन्डक्सन चुल्हो, हिटरजस्ता उपकरणको अत्यधिक प्रयोगलाई धान्न नसकेर ट्रान्सफर्मर पड्केर अनावश्यक दु:ख र आर्थिक हानि–नोक्सानी भएका उदाहरणले बिजुलीको महत्वलाई छर्लङ्ग पार्‍यो । अत: निम्न कुरामा ध्यान दिन सके खाना पकाउन खपत हुने इन्धनमा १० देखि १५ प्रतिशतसम्म बचत गर्न सकिन्छ ।

बिजुली बत्ती सकेसम्म कम बालौं, आफू नबस्ने कोठा वा भर्‍याङ आदिमा आवश्यकताबाहेक बत्ती नबालौं । आइरन, भ्याक्युम क्लिनर, बासिङ मेसिनजस्ता उपकरण सकेसम्म कम प्रयोग गरौं ।

जाडो मौसममा चिसो पानी पिउन नसकिने भएकाले घरमा थर्मस छ भने बिजुली बत्ती भएको समयमा थर्मसमा भरी हुने गरी पानी उमालेर राखौं । थर्मस नभए एउटा अलि ठूलो थर्मस किनेर राखौं र ग्यासमा जे पकाउनुपरे पनि त्यही तातोपानी मात्र प्रयोग गरौं ।

सकेसम्म सौर्य ऊर्जा प्रयोग गरौं । घरमा सोलार छ भने (इन्डक्सन चुलो बा हिटरमा समेत) खाना पकाउन सोलारको तातोपानी प्रयोग गरौं । सोलार छैन भने बिहान घाम लाग्नासाथ एक बाल्टिन पानी घाममा राखौं । घाम तातो हुन छोड्नासाथ भित्र लगेर आवश्यकताअनुसार कपडाले बेरेर चाँडै चिसो हुन नदिने उपाय अपनाआंै । कोक, फ्यान्टा आदिका चार–पाँचवटा बोतलमा पानी राखे चार–पाँच जनाको परिवारलाई खाना पकाउन र उमाल्न पर्याप्त हुन्छ । त्यसैगरी फ्रिजमा राखिएको खानेकुरा इन्डक्सनमा तताउनुपरे प्याकेट नै सोलारको तातोपानी वा उमालेर थर्मसमा राखिएको पानीमा केही समय तताएर मात्र बसाऔं ।

खाना तताउने काम सकेसम्म नगरौं । यसका लागि सम्भव भएसम्म परिवारका सबै सदस्यले एकैपटक खाना खाऔं, सम्भव नहुने अवस्थामा दाल, भात तथा तरकारी सबै हटकेसमा राखौं, जसले गर्दा तताउनुपर्ने अवस्था नआओस् । यदि हटकेस छैन भने पनि खाना पाक्नासाथ प्रेसरकुकर, राइसकुकरजस्ता खाना पकाइएका भाँडालाई सुतीका कपडाले राम्रोसँग बेरेर बाहिरबाट कार्टुन वा पत्रिकाले छोपेर बाहिरको चिसो पस्न नदिऊँ जसबाट खाना एकदेखि डेढ घन्टासम्म तातो रहन्छ ।

दाल, गेडागुडी बा रसिलो तरकारी प्रेसरकुकरमा पकाउँदा पाक्ने गरी थोरै मात्र पानी हाली पकाऔं, यसरी पकाउँदा एक सिट्ठी लाग्नासाथ सानो गरेर केही समय पकाऔं । उक्त दाल वा तरकारी खाने बेलामा उमालेर थर्मसमा राखिएको पानी हाली रस बनाऔं, जसले गर्दा खाने बेलामा तताउनुपर्ने आवश्यकता हुँदैन ।

दाल पकाउनुभन्दा १ देखि २ घन्टाअघि नै तातोपानीमा भिजाऔं र राइसकुकरमा लगभग १ मिनेट उमालौं र त्यसपछि प्रेसरकुकरमा खन्याई पकाऔं । खाना पकाउने भाँडाभन्दा बाहिर बलेको ग्यास खेर जाने भएकाले ग्यास बाल्दा भाँडोभन्दा बाहिर जान नदिऊँ । सानो परिवारलाई अचार बनाउन चाहिने आलु भात पकाउँदा राइसकुकरमा वा दालमा हालेर पकाउन सकिन्छ । प्रेसरकुकरमा तरकारी पकाउने हो भने पिसेको मसला राखेर मात्र पकाउन थालौं । पुरानो तथा हावा लिक हुने प्रेसरकुकर वा ग्यास चुल्होमा समस्या भए मर्मत नगरी प्रयोग नगरौं, यसबाट ग्यास खेर जान्छ ।

 Image