Successfully Copied

महिलाको भूमिकामा पुरुष

श्रीमान्को साथ पाए महिलाले गर्भावस्थामा तथा प्रसवपछिको समयमा हुने चुनौतीको सामना सहजै गर्न सक्छन् ।

श्रीमान्को साथ पाए महिलाले गर्भावस्थामा तथा प्रसवपछिको समयमा हुने चुनौतीको सामना सहजै गर्न सक्छन् । एक शोधअनुसार त्यस्ता आमाहरूको गर्भावस्था एवं सुत्केरीपछिको समय बढी सुखद् हुन्छ जसका श्रीमान्ले उनीहरूलाई भावनात्मक रूपमा सहयोग पुर्‍याउँछन् । केयरिङ श्रीमान् एवं प्यारो बाबु कसरी बन्न सकिन्छ भन्ने कुरा हरेक पुरुषले जानिराख्नु आवश्यक छ । त्यसपछि महिलाहरूलाई गर्भ रहेका बेला तथा सुत्केरी भएपछि आइपर्ने समस्याहरूको सामना गर्न निकै सजिलो हुन्छ ।

गर्भावस्थामा

समझदार श्रीमान्ले गर्भावस्थामा महिलाहरूले कस्ता प्रकारका परिवर्तनको सामना गर्नुपर्छ त्यसको जानकारी लिनुपर्छ । यस्तो परिवर्तन शारीरिक, मानसिक, भावनात्मक एवं हार्मोनको तहमा हुन्छ । यस्तो बेला श्रीमतीको मनस्थिति बुझेर सहयोग गर्नु आवश्यक छ ।

भूमिकामा परिवर्तन

घरेलु भूमिकामा थोरै परिवर्तन गर्नुपर्छ । गर्भावस्थाको नौ महिने अवधिले महिलालाई शारीरिक रूपमा थकाउने मात्र होइन भावनात्मक रूपले पनि अस्थिर तुल्याउँछ । यस्तो अवस्थामा श्रीमतीलाई खुसी राख्नु अत्यावश्यक छ । गर्भावस्थाको अन्तिम महिनामा उठ्न, बस्न तथा निहुरिन अप्ठ्यारो हुन थाल्छ । त्यस्तो अवस्थामा श्रीमान्ले भावनात्मक सहयोगका साथै व्यवहारिक सहयोग पनि दिने हो भने श्रीमती असाध्यै खुसी हुन्छिन् । भान्सा, घरेलु कामकाज एवं सरसफाइमा सहयोग गरियो भने श्रीमतीको स्वास्थ्यका साथै मनका लागि पनि राम्रो हुन्छ ।

कुरा सुन्ने र प्रशंसा गर्ने

गर्भावस्थाको प्रारम्भिक चरणमा बेचैनी, घबराहट एवं झिँजो लाग्ने समस्याले सताउन सक्छ भने अतार्किक एवं निरर्थक विचार उत्पन्न हुनसक्छ । महिलाहरू केही डराउनुका साथै सशंकित एवं कुण्ठित हुनसक्छन् । यस्तो अवस्थामा श्रीमतीको भावना बुझेर निरर्थक कुरा पनि ध्यानपूर्वक सुनिदिनु, उनको प्रयासको प्रशंसा गर्नु तथा हरेक स्थितिमा सहयोग गर्नु श्रीमान्को कर्तव्य हुन्छ । यस्तो अवस्थामा धेरैजसो श्रीमान् श्रीमतीको कुरै नसुनी शान्त बन, धैर्य गर, सबै ठीक हुन्छ, चिन्ता नगर भनेर पन्छिन खोज्छन् तर त्यसो गर्नु ठीक हुँदैन । यस्तो अवस्थामा श्रीमतीको कुरा ध्यानपूर्वक सुन्नुपर्छ तब मात्र उनको विश्वास जित्न सकिन्छ ।

जानकारी एवं सल्लाह

श्रीमती गर्भवती भएपछि श्रीमान्ले गर्भावस्थाका समस्याहरूका बारेमा जानकारी राख्नुपर्छ । यसका लागि भर्खरै बाबु बनेका साथी छन् भने उनीहरूसँग सल्लाह लिन सकिन्छ । इन्टरनेटमा खोजेर, पुस्तक, पत्रपत्रिका आदि हेरेर एवं आफ्नो चिनचानका पाका महिलाहरूसँग सोधेर जानकारी बटुल्न सकिन्छ । केयरिङ श्रीमान्लाई गर्भावस्थाका विभिन्न चरणमा श्रीमतीले के–कस्तो महसुस गर्छिन् भन्ने कुरा थाहा हुनुपर्छ । त्यसैगरी चित्सिकसँग सम्पर्कमा रहने तथा श्रीमतीलाई नियमित परीक्षणका लागि लाने काम पनि श्रीमान्ले नै गर्नुपर्छ ।

 Image