कुटपिट नगरी आफ्ना सन्तान तरह लाग्दैनन् भन्ने सोच धेरैको हुन्छ । तर डर, धम्की, त्रास एवं शारीरिक सजायले बालबालिकालाई गलत कुरा सिकाउँछ । उनीहरूको मस्तिष्कको कार्यदक्षतामा ह्रास आउँछ । आफूभन्दा ठूलाबाट पिटिँदा बालबालिकाहरू निराश र असहाय महसुस गर्छन् । जसले उनीहरूलाई उदास वा आक्रामक बनाउन सक्छ । त्यसैले हामी उनीहरूले जुन काम जसरी गरून् भन्ने चाहन्छौं, त्यो कसरी गर्ने भनेर पहिले नै राम्रोसँग सिकाइदिनुपर्छ ।
पिटाइले बालबालिकालाई समस्या समाधान गर्न सिकाउँदैन, बरु उनीहरूलाई दु:खी मात्र बनाउँछ । सानो उमेरमा अनुभव गर्नुपरेको आत्मग्लानि वा लघुताभासको चोट तिनको जीवनभर कायम रहन सक्छ । यसैले आफूले उनीहरूलाई कस्तो भाषामा के भनिदै छ भन्ने कुरा पनि हेक्का राख्नुपर्छ । शब्द र भाषाले पनि पिटाइले जत्तिकै बालमस्तिष्कमा आघात पार्न सक्छ । उनीहरूले कुन कुरामा गल्ती गरे, कसरी गल्ती गरे भन्ने कुरा राम्रोसँग बुझाइदिनुपर्छ । घरमा पनि आवश्यक पर्ने सरसफाइ, सुरक्षाका उपाय, खाना खाने, पढ्ने, मनोरञ्जन गर्ने र सुत्ने नियमका कुरा पनि सुरुदेखि नै सिकाउनुपर्छ । पिटाइले बालबालिकालाई क्रुद्ध, आक्रामक र रिसाहा स्वभावको बनाउने मात्र होइन उनीहरूमा प्रतिशोधको भावना पनि जन्माइदिन सक्छ ।
शारीरिक सजायले बालबालिकालाई के सही हो र के गलत हो भन्ने छुट्याउन नसक्ने बनाइदिन्छ । त्यसकारण अञ्जानवश कुटपिटमा संलग्न बालबालिकालाई कुटेरै ठीक पार्नुपर्छ भन्ने कुराले कुनै अर्थ राख्दैन । यसका लागि केहीबेर उनीहरूसित नबसिदिने, आफैंलाई सम्हालेर बालबालिकाप्रतिको आफ्नो धारणा सकारात्मक बनाइदिने, उनीहरूबाट कस्तो व्यवहार चाहने हो त्यस्तै आफूले उनीहरूसित गर्ने तथा अभिभावकका कुरा नमाने के हुन्छ भन्ने कुरा उनीहरूलाई पहिले नै बुझाइदिने गर्नुपर्छ ।
बालबालिकालाई पिट्नु भनेको अरूलाई पिट्नु पनि राम्रै कुरा रहेछ भनेर उनीहरूलाई शिक्षा दिनु हो । बालबालिकाले ठूला व्यक्ति वा अभिभावकको सिको गर्छन् । त्यसैले पिटाइबाट उनीहरूको मस्तिष्कमा अरूलाई पिटे पनि हुनेरहेछ भन्ने धारणा विकास हुन्छ ।
पिटाइले बालबालिकाको भावनामा चोट पुर्याउँछ । यसले उनीहरूको पढाइमा असर त पार्छ नै, उनीहरू साथी बनाउन नसकेर र साथीहरूको माझ घुलमिल हुन नसकेर एक्लो महसुस गर्न थाल्छन् ।