कागती
भान्सा सफा राख्न लेमन ट्रिटमेन्ट राम्रो विकल्प हो । यसले भान्सा छिट्टै सफा हुनुका साथै मन्द–मन्द वासना पनि आउँछ । किचन क्याबिनेटका लागि आधा कप तातोपानीमा बराबर मात्रामा कागतीको रस मिसाएर सफाइ गर्ने ।
बेकिङ सोडा
किचन स्लेबमा जमेको फोहोर सफा गर्न मनतातो पानीमा बेकिङ सोडा मिसाएर स्लेबमा छर्कने र १० मिनेटपछि स्क्रबको सहायताले सफा गर्ने । यसबाट स्लेब चम्कन्छ ।
बोरेक्स
बोरेक्सले कम समयमै भान्सालाई चम्काउँछ । यसका लागि १ कप बोरेक्समा एक चौथाइ कागतीको रस मिसाएर पेस्ट बनाउने । त्यसपछि उक्त पेस्टले प्लेटफर्म, स्लेब, फर्स आदि सफा गर्ने ।
पत्रपत्रिका
पुराना पत्रपत्रिका पढिसकेपछि बेच्ने चलन छ । पत्रपत्रिकाले धेरै काम दिन्छन् । पत्रपत्रिकाले भान्साका सिसा तथा सिसाका भाँडा सफा गर्न सकिन्छ ।
आलु
आलु जुन तरकारीसँग पनि मिल्छ । खानका लागि मात्र होइन सफाइका लागि पनि आलु प्रयोग गर्न सकिन्छ । भान्सामा भएको फोहोर लागेको चीजलाई आलुको सहायताले सजिलै सफा गर्न सकिन्छ । यसका लागि आलुलाई स्लाइस आकारमा काट्ने र फोहोर भएको सामानमा रगड्ने । यसले सजिलै फोहोर सफा गर्छ । आफूले फलामको पुरानो कराही, तरकारी काट्ने चक्कु आदिमा लागेको फोहोर पनि सजिलै हटाउँछ ।
इमली
इमली (तित्री) सफाइका लागि पनि प्रयोग गर्न सकिन्छ । चाँदी, पित्तल एवं तामाका भाँडा तथा अन्य उपकरणलाई इमलीको गुदीले सफा गर्न सकिन्छ ।
चाइनिज भिनेगर
हिजोआज खानामा चाइनिज भिनेगर प्रयोग गरिन्छ । यसले खानाको स्वाद बढाउनुका साथै भान्सा पनि चम्किलो बनाउँछ । एक चौथाइ भिनेगर तथा १ कप पानी माइक्रोवेब प्रुफ बाउलमा भरेर ५ मिनेट हाइमाइक्रो गर्ने । भिनेगर तथा पानीको वाफले माइक्रोवेबबाट आएको दुर्गन्ध कम हुन्छ हुन्छ भने दाग–धब्बा पनि नरम हुन्छ । भिनेगर तथा पानीको मिश्रण चिसो भए पनि कपडा तथा स्पन्ज डुबाएर माइक्रोवेबको सरफेस, डोर तथा बाँकी भाग सफा गर्न सकिन्छ ।
टुथपेस्ट
बिहान–बेलुकी दाँत सफा गर्ने टुथपेस्ट भान्साको सफाइमा पनि काम आउँछ । भान्साको भित्ता सफा गर्न टुथपेस्ट प्रयोग गर्न सकिन्छ । चिसो कपडामा टुथपेस्ट लगाएर भित्ता रगड्ने । यसो गर्दा भान्सको भान्साको पर्खाल (भित्ता) मा लागेको दाग सफा हुन्छ ।
नुन
नुनले खानाको स्वाद बढाउनुका साथै सफाइको काम पनि गर्छ । घरमा भएको फलामको भाँडा जस्तो तावा, कराही धेरै प्रयोगमा आउँछन् । नुन यस्ता भाँडाका लागि उपयोगी हुन्छ । नुनमा तातोपानी मिसाएर पेस्ट तयार गर्ने । फलामको भाँडामा लागेको दागमा रगड्ने । भान्साको फर्स सफा गर्न पानीमा नुन हालेर पुछ्ने । यसले भान्सा सफा हुनुका साथै घरमा सकारात्मक ऊर्जा आउँछ ।
हाइड्रोजन पेरोक्साइड
भान्साको प्लेटफर्म तथा टाइल्स सफा गर्न हाइड्रोजन प्याराक्साइड प्रयोग गर्न सकिन्छ । सबैभन्दा पहिले फर्स प्लेटफर्ममा हाइड्रोजन प्याराक्साइडको केही थोपा छर्कने र सफा कपडाले पुछ्ने । यसले कडाभन्दा कडा दाग पनि सजिलै हट्छ ।
टिप्स
- मिक्स्चरको धार तेजिलो बनाउन महिनाको एकपटक नुन हालेर चलाउने ।
- कागती काट्नुअघि केही समयका लागि तातोपानीमा राख्ने । यसो गर्दा कागतीबाट पर्याप्त रस निस्कन्छ ।
- नुडल्स उमालेपछि चिसो पानी मिसाउने, यसले नुडल्स आपसमा टाँसिदैन ।
- किचन प्लेटफर्ममा कुनै टाँसिने कुरा पोखिए त्यसमाथि ब्लिच राखेर थोरै समयपछि ब्रसको सहायताले सफा गर्ने ।
- खुर्सानीको डिब्बामा थोरै हिङ हाले खुर्सानी लामो समयसम्म बिग्रदैन ।
- काटेको स्याउमा कागतीको केही थोपा हाले स्याउ कालो हुँदैन ।
- डिनर गरेपछि राति नै भाँडा सफा गर्नुपर्छ । बिहान गर्छु भनेर नछोड्ने । यसो गर्दा अनेकौं रोगबाट जोगिन सकिन्छ ।
- चिनीको डिब्बामा ६–७ वटा ल्वाङ राख्दा कमिला लाग्न पाउँदैन ।
- लसुन काट्नुअघि हल्का तातो बनाउँदा लसुनको बोक्रा निकाल्न सजिलो हुन्छ ।
- खानामा आलुको पराँठा बनाउने हो भने आलुको मिश्रणमा थोरै कसुरी मेथी मिसाउने, यसले पराँठाको स्वाद बढाउँछ ।
क्विक टिप्स
- डढेका भाँडा सफा गर्न त्यसमा साबुन पानी तथा बेकिङ सोडा मिसाएर रातभर छोड्ने । बिहान भाँडा धुने । दाग पूर्णरूपमा निस्कन्छ ।
- डस्टबिनको गन्धबाट जोगिन त्यसमा कागतीको बोक्रा राख्ने ।