Successfully Copied

स्मार्ट इन्टेरियर ट्रिक्स

चाडपर्वमा आफ्नो घरको रूपरंगमा केही परिवर्तन गरी नयाँ देखाउने चाहना सबैजसो महिलामा हुन्छ ।

रश्मि चित्रकार, इन्टेरियर डिजाइनर

चाडपर्वमा आफ्नो घरको रूपरंगमा केही परिवर्तन गरी नयाँ देखाउने चाहना सबैजसो महिलामा हुन्छ । यद्यपि सम्पूर्ण घरको आन्तरिक सजावट गर्न सबैसँग समय नहुन सक्छ । त्यसैले मुख्यत: पाहुनाहरू आउने बैठक कोठा एवं डाइनिङमा ध्यान दिएर सजावट परिवर्तन गर्दा घरले नयाँ लुक्स प्राप्त गर्न सक्छ । केही कुरालाई नयाँ लुक्स दिएर वा ठाउँ परिवर्तन गरेर नयाँपन दिन सकिन्छ । घरमा भएका सबै सामग्रीलाई व्यवस्थित रूपमा राख्न सक्नु पनि एउटा कला हो । सीमित ठाउँमा पनि थुपै्र सामग्री सम्हालेर राख्न सके घर व्यवस्थित देखिन्छ । भित्तामा वाल पेपर लगाएर, कुसन कभरहरू फेरेर, सोफाको कभर परिवर्तन गरेर, सजावटका नयाँ वस्तुहरू राखेर तथा बत्तीहरू फेरेर पनि घरलाई नयाँ रूप दिन सकिन्छ । 

दसैंमा भित्ताको रंग परिवर्तन गरी नयाँ देखाउने रहर छ भने पूरै भित्ताका रंग नफेरी कोठाको एउटा मात्र वाल हाइलाइट हुने गरी वालपेपर लगाउन सकिन्छ । कोठामा प्रयोग हुने फेब्रिक, वाल कलर तथा फर्निचरहरूलाई ध्यानमा राखी म्याच हुने वालपेपर लगाउनु उपयुक्त हुन्छ । भित्तामा रंगमात्र प्रयोग नगरी कलाकारहरूबाट वाल पेन्ट गराई घरलाई न्यू लुक दिन सकिन्छ । भित्तामा फेमिली ट्री पेन्ट गराई पारिवारिक तस्बिरहरू ह्याङ गर्न सकिन्छ । त्यस्तै कार्टुन, बार्बी तथा फ्लावर प्रिन्टले बालबालिकाहरूको कोठालाई त्यत्तिकै आकर्षक बनाउँछ । वाल डेकोरका लागि काठको वेस्टबाट बनेका वालपेपर पनि प्रयोग गर्न सकिन्छ । यस्तो पर्वमा घरको बाहिरी भागभन्दा भित्री भागको सजावट एवं डिजाइनलाई प्राथमिकता दिनुपर्छ । 

जाडोको आगमनसँगै न्यानो कलरको कुनै थिममा कोठाका पर्दा फेर्न सकिन्छ । अहिले पर्दामा लेमिनेटेड कपडा (ब्ल्याक आउट कपडा) जुन घामजस्तो भए पनि फेड हुँदैन, ट्रिपल लेयर फेब्रिक फेसनमा छ । अहिले कटन फेब्रिकको पर्दा पनि धेरैले मन पराएका छन् । मरुन टेक्सर मार्बल, वुडन जे भए पनि यसमा म्याचिङ हुन्छ । घरलाई क्लासी वा रोयल लुक दिन गोल्ड तथा सिल्भर सेड्सको पर्दा छनोट गर्न सकिन्छ । यसमा हल्का वर्क गराउनु उपयुक्त हुन्छ । सिल्क, साटन, भेल्भेटजस्तै साइनी फेब्रिकका पर्दाले कोठालाई ट्रेडिसनल लुक दिन्छन् । भित्ताजस्तै पर्दाका लागि पनि कन्ट्रास्ट कलर छनोट गर्न सकिन्छ । पर्दाका लागि सिल्क, साटन वा कटन फेब्रिक छनोट गर्नुपर्छ । पर्दा परिवर्तन गर्न धेरै समय तथा खर्च पनि नलाग्ने तथा कोठा पनि नयाँ देखिने हुँदा पर्दालाई नयाँ राखी घरको इन्टेरियरलाई केही भिन्न लुक्स दिन सकिन्छ ।

पर्दाजस्तै बढी खर्च नगरे पनि घरलाई नयाँ लुक दिन कुसन कभर परिवर्तन गरिरहनुपर्छ । दसैंजस्तो स्पेशल अवसरका लागि कटनको साटो सिल्क, भेल्भेट, टिस्यु, ओर्गेन्जा आदि फेब्रिक छनोट गर्न सकिन्छ । लिभिङ रुममा मिरर वर्क, ब्रोकेड वा सिक्वेन्ड कुसन कभर प्रयोग गर्नुपर्छ । यो मौसमका लागि मरुन, गोल्डेन, कोला ब्राउन कलरको कुसन कभर फेसनमा हुन्छ । सोफा मरुन छ भने कन्ट्रास्ट सोफा पर्पल ब्लु कुसन उपयुक्त हुन्छ । कसैकसैलाई आफ्नो मार्बल फ्लोरिङ मोनोटोनस लाग्नसक्छ यसको विकल्पका रूपमा चाडपर्वको मौकामा फ्लोरिङ नै परिवर्तन गर्न सकिन्छ । अहिले फ्लोरिङमा वुडन सेड नै धेरैको रोजाइमा छ । त्यसमा पनि क्यालियो वुडनजस्तो देखिने हेभी टाट फ्लोरिङ इन्टेरियरको पहिलो च्वाइस हुँदैछ ।

कार्पेटमा धूलो बढी टाँसिने र सफा गर्न पनि गार्‍हो हुने हुँदा राम्रो, स्मार्ट र सजिलोका लागि पार्केटिङसँगै त्यस्तै देखिने लेमिनेटेड, टाटहरूले फ्लोरिङ गर्न सकिन्छ । अहिले बजारमा उपलब्ध कलरफुल रग्स वा फ्लावर सेपको कार्पेट तथा ह्यान्डमेड गलैंचा लिभिङ एरिया, बेडको साइडमा राख्दा पनि कोठा आकर्षक देखिन्छ । त्यसमा पनि चाडपर्वको मौकामा लबी तथा बाटोमा डिजाइनर कार्पेटहरू राखेर सुन्दर तथा न्यानो बनाउन सकिन्छ । यसले घरको इन्टेरियरलाई बेग्लै लुक्सका साथ क्लासी पनि देखाउँछ । 

सोफा पुराना छन् भने त्यसलाई सेकेन्ड ह्यान्डमा बेचेर अहिले चलेको कर्नर वा एल आकारका सोफाहरू ल्याउन सकिन्छ । सोफा मात्र चेञ्ज गर्दा पनि कोठाको लुक्समा परिवर्तन आउँछ । यसरी व्यस्त जीवनशैलीबीच केही समय र थोरै खर्चले मात्र पनि आफ्नो घरको इन्टेरियरलाई पूरै चेञ्ज गरी न्यू लुक्समा ढाल्न सकिन्छ ।

फर्निचरमा पनि ग्लास प्रयोग गरेर नयाँपन दिन सकिन्छ । लिविङ रुममा राखिने टेबल तथा डाइनिङ टेबलमा अहिले ग्लासको प्रयोग बढेको छ । लिविङ रुममा ग्लास सेल्फ बनाएर त्यसमा कलाकृति सजाउन सकिन्छ । ग्लासको बुक सेल्फ पनि सुन्दर हुन्छ र त्यसबाट डेकोर पनि राम्रो देखिन्छ । ग्लासलाई काठका साथ मात्र प्रयोग गर्नुपर्छ भन्ने छैन । ग्लास स्टोनका पिलर्स वा टेबलमुनि लगाइएको स्टोनमा पनि सुन्दर देखिन्छ । ग्लासका फर्निचरले घरको इन्टेरियरलाई भिन्न बनाउँछ ।

केही नयाँ चेञ्ज गर्न सकिएन भने ताजा फूल लबी तथा बैठकका टेबलहरूमा राख्न सकिन्छ । डिजाइनर फूलदानीमा ताजा तथा डेकोरेटिभ फूल सजाएर पनि घरलाई नयाँ लुक्स दिन सकिन्छ ।

बैठक कोठालाई नयाँपन दिन समय छ भने बैठक कोठाको रंग फेर्न सकिन्छ । रंग छनोट गर्दा लाइट र डार्कको कम्बिनेसनमा ध्यान पुर्‍याउनुपर्छ । रंग लगाउने समय कम भए भित्तामा वालपेपर लगाएर पनि नयाँपन झल्काउन सकिन्छ । कार्पेटलाई पनि थिमसँग मिल्दो किसिमले ओछ्याउन सकिन्छ । फर्निचरलाई धेरैजना अट्ने गरी पुन:संयोजन गर्न सकिन्छ । अतिथिको ध्यानाकर्षण गर्न ढाकाका कपडा, हस्तकला, माटाका मूर्ति तथा फ्लोरिङ क्यान्डललाई तामाको आरीमा पानी एवं फूलका साथ सजाउँदा घर निकै सुन्दर देखिन्छ ।

 Image