Successfully Copied

कुकुरलाई तालिम किन ?

मानिसको असल साथीका रूपमा परिचित कुकुरलाई राम्रो तालिम प्राप्त भयो भने तिनीहरू अनुशासित एवं बफादार हुन्छन् ।

के नाइन डग ट्रेनिङ एन्ड केयर

हिजोआज नेपालमा कुकुर पाल्नेहरू धेरै छन् । पहिले सुरक्षाका लागि पालिने कुकुर हिजोआज सोखका लागि पनि पालिन्छ । मानिसको असल साथीका रूपमा परिचित कुकुरलाई राम्रो तालिम प्राप्त भयो भने तिनीहरू अनुशासित एवं बफादार हुन्छन् । हामीकहाँ कतिपयले सोख तथा देखासिकीमा तालिम दिन खोजेको पाइन्छ तर देखासिकीमा सिकाउनु त्यति उपयुक्त हुँदैन । कुकुरलाई दक्ष प्रशिक्षककबाट आफूसमेत बसी तालिम दिलाउनुपर्छ । आज्ञाकारी तालिमपछि कुकुरलाई कतै बाहिर लानुपर्‍यो भने आफूलाई सजिलो हुन्छ । बस भन्नासाथ कुकुर चट्ट बसिदियो भने काम गर्न सजिलो हुन्छ ।

तालिमपछि कुकुर सरसफाइ गर्ने, हात तथा औंला हेर्ने, तल हेर भन्दा तल हेर्ने एवं सुत भन्नासाथ पल्टिने हुन्छ । कुकुरलाई नचल र हुन्न भन्ने कुरा सिकाउनु महत्वपूर्ण छ । यसो गर्दा कुकुरको सरसफाइ गर्न तथा डाक्टरले इन्जेक्सन दिने बेला निकै सजिलो हुन्छ । 

घरको कुुकुरलाई तालिम दिने बेला आफू पनि ऊ सँगै बस्नुपर्छ जसले गर्दा प्रशिक्षकले कुकुरलाई सिकाएको भाषा तथा हाउभाउ आफूलाई पनि थाहा हुन्छ । मालिकले सिकेपछि कुकुरलाई पुन: घरमा सिकाउन सकिन्छ । प्रशिक्षणका क्रममा आफू अनुपस्थित हुँदा कुकुरले देखाउने हाउभाउ र भाषा थाहा नभै अझ अप्ठ्यारो स्थिति सिर्जना हुनसक्छ । मानिसको जस्तै कुकुरको पनि स्वभाव फरक–फरक हुन्छ । 

तालिम दिने क्रममा आफ्नो कुकुर कस्तो छ चिन्नुपर्छ । खेल्ने, डराउने, बदमास कस्तो छ आनीबानी तथा चालचलन थाहा पाएपछि बिस्तारै तालिम दिन थाल्नुपर्छ । सुरुमा कुकुरलाई बाहिर लगेर आफूसँग हिँड्न सिकाउनुपर्छ । त्यसबाट उसले बाहिरको वातावरण देख्छ जस्तै : हेल्मेट लगाएको व्यक्ति, छाता ओढेको, भारी बोकेको, गाडी, गाडीको आवाज आदिसँग उसलाई परिचित गराउनुपर्छ । पहिले गेटमा राखी त्यसपछि बिस्तारै–बिस्तारै बाहिर लानुपर्छ । एकैपटक बाहिर लाँदा कुकुर आत्तिनसक्छ । 

कुकुरलाई बस्न सिकाएपछि उपचार गर्न सहज हुन्छ । त्यस्तै कुकुरका लागि आवश्यक कुरा हुन्न भन्ने कुरा बुझाउनु पनि हो । कुकुरले कुनै कुरा बिगार्‍यो, फोहोर खायो भने चोरऔंला देखाई कडा स्वरमा नो अथवा हुन्न भनेपछि उसले त्यो काम रोक्छ । कसैलाई झम्टन जाँदा पनि यो कुरा उपयुक्त हुन्छ । कुकुरलाई पिट्नु हुँदैन, स्वरले नै नियन्त्रण गर्नुपर्छ । जसरी बालबालिकाहरूलाई खेलाई–खेलाई लेखपढ गर्न सिकाइन्छ त्यसरी नै कुकुरलाई खेलाई–खेलाई प्रेमपूर्वक तालिम दिनुपर्छ ।

याद गर्नुपर्ने कुरा के हो भने कुकुर हामीसँग डराउने होइन कि हामीलाई आदर–सम्मान गर्ने हुनुपर्छ । बस, उठ, सुत, नचल, हुन्न यी ५ वटा कुरा सिक्यो भने कुुकुर तालिम प्राप्त हो भन्न सकिन्छ । त्यसैले कुकुरलाई तालिम दिन लाँदा आफू पनि तालिममा बसेर प्रशिक्षकले दिएको कुरा बुझेर घरमा पनि सिकाउनुपर्छ । आफ्नो कुकुरलाई कसरी के–के सिकाउने, कस्तो बनाउने भन्ने कुरा आफैमा भर पर्छ । 

 (कुकुर प्रशिक्षक प्रविन बज्राचार्यसँग गरिएको कुराकानी )

तस्विरहरु: नवराज वाग्ले​

 Image