कर्णालीका डाक्टर
सुर्खेतको गाउँटोल र छेउछाउका डाँडाकाँडा डुल्दै डा. नवराज केसीको बाल्यकाल बित्यो । बालरोग विशेषज्ञ भएपनि उनी अहिले महिलाका डाक्टर हुन् ।

समाज र यसका मान्यताहरू तीव्र गतिमा बदलिरहेका छन् । हिजो जुन कुरा वा घटना असामान्य र असम्भव थिए, आज ती कुरा सामान्य र सम्भव भएका छन् । अन्तरजातीय विवाह यस्तै श्रेणीको एउटा घटना हो, जसलाई केही समय अघिसम्म यस्तो पनि हुन्छ भनेर आश्चर्य व्यक्त गरिन्थ्यो । आज सहरी क्षेत्रका हरेक चौथो घरमा बिजातीय बुहारी भित्रिन थालेका छन् । बिजातीय बुहारी भित्रिनुको प्रमुख कारण युवतीहरू घरबाट निस्कनु पनि हो । उनीहरू युवकहरूसँग एउटै सीटमा बसेर स्कुल–कलेज पढ्न थालेका छन् । एउटा अफिसमा एउटै पदमा एउटै तलब खाएर उनीहरूसँग प्रतिस्पर्धा गरिरहेका छन् । उनीहरूको व्यक्तित्व पुरुषको जत्तिकै अग्लिँदै जान थालेको छ । टेलिफोन, इमेल, इन्टरनेट आदिका कारण को नारी वा को पुरुष वा के जात–थर भन्ने कुरा गौण हुन थालेको छ । कतिपय अवस्थामा मित्रता भएको महिनौं बितिसक्दा पनि आफ्नो मित्र उपाध्याय बाहुन हो कि जैसी वा क्षेत्री छुट्टिन सकेको हुँदैन । जात र धर्मको निर्णयविना नै प्रेम सुरु भैसकेको हुन्छ । समयको गतिसँगै हाम्रो समाजका मान्यता एवं हाम्रा सोचहरूमा परिवर्तन आउन सकेको छैन ।
"जात र धर्मको निर्णयविना नै प्रेम सुरु हुन्छ ।"
अशिक्षित र गाउँघरका कुरा छाडिदिऊँ, सहर–बजारका पढे–लेखेका मानिसहरू पनि छोराले बिजातीय बुहारीसँग प्रेम गर्यो वा विवाह गर्यो भने असन्तुष्ट हुन्छन् । कतिपयले त छोराका लागि घरको बाटो नै बन्द गरिदिएका छन् । यदि आफ्नी छोरी तल्लो जातसँग गइन् भने उनलाई घर बोलाउने, ज्वाइँ स्वीकार गर्ने काम हुँदैन । यसले छोराछोरीलाई दु:खी त बनाउँछ नै आमाबुबाको बुढेसकालको जीवन पनि सुखमय हुँदैन ।
विशेष गरी आमबुबाले छोरा वा छोरीले यस प्रकारको काम गरिहाले पनि त्यसलाई सामान्य रूपमा लिन सक्नुपर्छ ।