नेपालमा केन्द्रबाहिर रहेर पनि समाज र महिला विकासका लागि सशक्त भूमिका खेल्नेहरू प्रशस्त छन् । कतिपय कुराको पहुँचबाट टाढा रहे पनि उनीहरू आफ्नो कामलाई निरन्तरता दिने मात्र होइन अन्य महिलाको सशक्तीकरण एवं उन्नतिका लागि समेत प्रयासरत छन् । सशक्तीकरणको मुख्य पाटो मानिने आर्थिक क्षेत्रमा मोफसलका महिला अब्बल देखिन्छन् । उनीहरूका अनुसार आर्थिक सबलीकरण नै महिला सशक्तीकरणको सबैभन्दा ठूलो हतियार हो । आफ्नो कमाइमा बाँच्नु र श्रीमान्को आयमा परनिर्भर हुनुमा निक्कै भिन्नता छ । आर्थिक सशक्ततताले निर्णायक भूमिकामा खरो उत्रन सक्षम बनाउने हुँदा आजका महिलाहरू आफूलाई आर्थिक रूपमा सबल बनाउन कटिबद्ध देखिन्छन् । सानो व्यवसाय नै किन नहोस् उनीहरू आफ्नै खुट्टामा उभिन चाहन्छन्, आफ्नो निर्णय आफैं गर्न चाहन्छन् अनि व्यक्तिगत स्वतन्त्रता उपभोग गर्न चाहन्छन् ।
चितवन जिल्लाका केही प्रतिनिधि महिला यसको उदाहरणस्वरूप देखा परेका छन् । यहाँका कतिपय महिला फर्निचर व्यवसायदेखि लिएर होटल, डेरी प्रोडक्ट, बेकरी, पुस्तक व्यवसाय आदिमा संलग्न छन् । अहिले आफूमात्र होइन अन्य थुप्रै महिलालाई काम दिएर महिलाको आर्थिक सशक्तीकरणमा महत्वपूर्ण भूमिका निर्वाह गरिरहेका छन् ।
करिब ३ दशकदेखि पुस्तक व्यवसायमा सक्रिय रजनी मास्के चितवन जिल्लाकै एक सफल व्यवसायीमा दरिएकी छिन् । जिल्लामा मास्के पुस्तक पसल लोकप्रिय छ । सकेसम्म पुस्तक खोज्न आएका ग्राहक नफर्किऊन् भन्ने ध्येयले रजनीले पुस्तकको प्रकारमा पर्याप्त ध्यान पुर्याएकी छिन् । त्यति मात्र नभएर महिला एवं बालबालिकामा पढ्ने बानीको विकास गर्न उनी विभिन्न उत्प्रेरणामूलक कार्यक्रमहरू आयोजना गरिरहन्छिन् । पचासौं वर्ष पुरानो उनको पसल नयाँ पसलको तुलनामा कुनै कम छैन । रजनी पुस्तक चयन, डेलिभरी, नयाँ सामग्रीको खोजी, ग्राहकसँगको डिलिङ आदि सबै काम आफै गर्छिन् । व्यवसाय गर्दै जाँदा थुप्रै समस्या आए पनि ती समस्यालाई सहजै चिर्न सफल रजनी स्वव्यवसाय गर्न चाहने हरेक महिलाका लागि आदर्श हुन् ।
चितवन, पर्साकी निरु नहर्कीले कपडा व्यवसाय थालेको ६ वर्ष भयो । यसबीच उनले थुप्रै चुनौती सामना गर्नुपर्यो । विशेषत: मोफसलमा व्यवसाय गर्दा जे सामान लिन पनि केन्द्रमै पुग्नुपर्ने, तत्कालै फेसन परिवर्तन हुँदा ल्याएका सामानको स्टक बढ्ने, जिल्लाका क्रेतासँग क्रयशक्ति कमजोर हुने, ब्रान्डका विषयमा अनभिज्ञताजस्ता समस्याका कारण राजधानीबाहिर बसेर व्यवसाय गर्नु ठूलो चुनौती भएको उनको तर्क छ । व्यवसाय सुरु गर्दा दर्ता, कर, लेखा आदि प्रक्रियाका बारेमा जानकारी नहुँदा निरुलाई निकै अप्ठ्यारो भयो । ‘मेरो त पारिवारिक सहयोगका कारण सम्भव भयो ।’ निरु भन्छिन्–तर धेरै महिला आर्थिक कारणले काम गर्ने रुचि र चाहना हुँदाहुँदै पनि गर्न सकिरहेका छैनन् । सरकारले नै महिला व्यवसायीहरूका निम्ति कर्जा दिने व्यवस्था गरिदिए स्थिति केही सहज हुने थियो, महिला व्यवसायीहरू फस्टाउने थिए । कुनै पनि सामानको दररेट र नाफा सरकारले नै तोकिदिए अस्वस्थ प्रतिस्पर्धा हुने थिएन ।
पूर्वी चितवन कुमरोजकी ४४ वर्षीया खिलकुमारी सिलवाल होटल व्यवसायमा संलग्न छिन् । उनी आफू आर्थिक रूपमा स्वतन्त्र भएको अनुभव सुनाउँछिन् । ख्यालख्यालमै सुरु गरिएको उनको होटलले राम्रो व्यापार गरिरहेको छ । व्यवसायमा लाग्नुअघि कृषि तथा समाजसेवामा आबद्ध सिलवाल उतिबेला सधैं पैसाको अभाव हुने बताउँछिन् । उनले आफ्नै सीपको बलमा होटल खोलेपछि पैसाको अभाव भएको छैन । उनले थुप्रै महिलालाई जागिर पनि दिइरहेकी छिन् । सानो पुँजीबाट सुरु भएको यो व्यवसाय अहिले ५० लाख पुँजीको भएको छ । सिलवाल भन्छिन्–आफ्नै सीप तथा मेहनत खर्चिएर मासिक रूपमा ३० देखि ४० हजार रुपैंयाँ नाफा गर्ने गरेकी छु । यही बचतबाट उत्प्रेरित भएर विभिन्न बैंकमा खाता खोलेकी छु । होटल व्यवसायीले सबैभन्दा ध्यान पुर्याउनुपर्ने कुरा भनेको भण्डारण हो । हाम्रो जस्तो मुलुक जहाँ जतिबेला जे पनि हुनसक्छ । आवश्यक हरेक सामग्रीको भण्डारण गर्ने हुनाले बन्द, हड्तालमा पनि मेरो होटल सामान्य समयमा झैं सञ्चालन भैरहन्छ ।
पूर्णिमा श्रेष्ठ व्यवसायी मात्र होइनन् चितवन जिल्लामै नाम चलेकी समाजसेवी पनि हुन् । नेपाल जेसिजलगायतका विभिन्न सामाजिक संघसंस्थासँग आबद्ध पूर्णिमा विशेषत: महिलाहरूको सीप एवं क्षमता अभिवृद्धिका तालिम आयोजना एवं सञ्चालन गर्ने काममा व्यस्त रहन्छिन् । श्रेष्ठ भन्छिन्–महिलाहरूमा सीप सिक्ने र तुरुन्तै टिपिहाल्ने क्षमता हुन्छ । समय पाउनेबित्तिकै उनीहरू त्यसलाई लागू गरिहाल्न चाहन्छन् । यद्यपि यो घरमा मात्र सीमित हुनु हँुदैन । उचित अवसरको अभावका कारण मोफसलका महिलाहरूको सीप खेर गैरहेको छ तसर्थ सरकारले विभिन्न किसिमका अवसर सिर्जना गरिदिनुपर्छ । यसो गर्दा उद्यमशीलतामा महिलाको सहभागिता दोब्बर हुँदै जान्छ ।
संघसंस्थाको आर्थिक सहयोग, बैंकको ऋण प्रवाहमा सहजता तथा व्यवस्थापन तालिम उपलब्ध हुने हो भने महिलाहरू पनि सन्तोषजनक रूपमा व्यवसायमा आउने थिए ।
बक्समा
उद्योग वाणिज्य संघ–चितवन र ईजी पिपुल काठमाडौंको संयुक्त आयोजनामा गत महिना चितवनमा महिला उद्यमी तथा व्यवसायीहरूको वृहत् भेला सम्पन्न भयो । संघको सभाहलमा सम्पन्न उक्त भेलामा बोल्दै प्रमुख अतिथि नेपाल उद्योग वाणिज्य महासंघकी कार्यसमिति सदस्य कमला श्रेष्ठले पहिलेको तुलनामा अहिले महिलाहरू आय आर्जनमा सक्रिय भैरहेको कुरा बताइन् । यद्यपि अझै पनि सन्तोष गर्ने अवस्था नरहेको उनको तर्क थियो । महासंघकी महिला उद्यमी समितिकी सभापति समेत रहेकी श्रेष्ठले महिलाहरूको केही गरौं भन्ने प्रयासमाथि सधैं शंका भैरहने अवस्थालाई आगामी दिनमा अनिवार्य रूपमा अन्त्य गर्नु आवश्यक भएको बताइन् ।
उक्त भेलामा चितवन, मकवानपुर तथा नवलपरासीका करिब दुई सय महिला सहभागी थिए । हरेक सहभागीले आफूले व्यवसाय गर्दा भोग्नुपरेका समस्या, संघर्ष तथा आफ्नो सफलताको अनुभव सुनाएका थिए ।