Successfully Copied

एसएलसीपछिको उकालोमा ...

एसएलसीको प्रमाण–पत्र हातमा बोकेर अब जिन्दगीको यात्रामा कतातिर बढ्ने भनेर भौंतारिरहेका विद्यार्थीहरूलाई देख्दा मलाई मेरी हजुरआमाले स्कुल जानुअघि उसबेला सुनाएको कथा याद आइरहेको छ । उहाँ राजकुमार–राजकुमारीको कथा

    एसएलसीको प्रमाण–पत्र हातमा बोकेर अब जिन्दगीको यात्रामा कतातिर बढ्ने भनेर भौंतारिरहेका विद्यार्थीहरूलाई देख्दा मलाई मेरी हजुरआमाले स्कुल जानुअघि उसबेला सुनाएको कथा याद आइरहेको छ । उहाँ राजकुमार–राजकुमारीको कथा सुनाउनुहुन्थ्यो । मेरो आफ्नो जीवनमा पनि कुनै दिन कुनै राजकुमार आउने बताउनुहुन्थ्यो । मैले पनि त्यसलाई जीवनकै पाटोको रुपमा बुझ्न थाले । जिद्दी स्वभावकी थिएँ, घरमा आफुले चाहेको कुनै कुरा नपाउँदा झगडा गर्थें । फकाउँदै हजुरआमा भन्नुहुन्थ्यो – ‘तेरो राजकुमारले तंैले मागेको सबै कुरा पूरा गरिदिन्छ ।’ म त्यसैमा खुसी हुन्थें र चुप लाग्थें । यस्ता कथा र यस्तै सपना अनि आश्वासन म जस्ता थुप्रै छोराछोरीलाई थुप्रै आमा, हजुरआमाले सुनाउनुहुन्थ्यो होला र अझै पनि त्यस्तो चलन थोरबहुत छँदै छ ।

    राजकुमारको सपनाको अर्थ विवाहसँग मात्र सम्वन्धित थिएन । डाक्टर, इन्जिनियर बन्ने, ठूलो घर गाडी र सुखसुविधाको जीवन हुने जस्ता ठूल्ठूला आश्वासनले गर्दा ममा आफूभन्दा सयांै कोस टाढा रहेको आकाश मात्र हेर्ने बानी बस्यो । आफूसँगै रहेको जमीन हेर्ने कोसिस गरिन । दिनदिनै ठूली हुँदै थिएँ । मेरा सपनाहरू पनि मसँगै बढे । मैले नानाथरी सपना सजाएँ े तर सपना एउटा बाटोमा लाग्यो म अर्कै बाटोमा अल्मलिएँ । डाक्टर, इन्जिनियर बन्नेतिर नभै मेरो चाहनाले मलाई अर्कै बाटोमा डोहोर्‍यायो । म त्यसमै खुसी पनि रहें । एकदिन मेरो जीवनमा मसँग नाता गाँस्न कोही आइपुग्यो । तर सपनाको राजकुमार झैं सेतो घोडा या कालो हात्तीमा नभई एउटा सामान्य गाडीमा दुई थुङ्गा फूल सजाएर आयो । मलाई देखाइएको सपना भिन्न थियो तर मैले जे पाएँ त्यो मेरो लागि स्वर्ग थियो । म उसको घरमा पुगें, त्यहाँ न आलिशान बंगला थियो न त हजुरआमाको कथामा झैं महल । तर पनि मैले त्यहाँ प्रेम र खुसी पाएँ । आज मलाई लाग्छ डाक्टर इन्जिनियर या नर्स भएकी भए मैले आज पाएको भन्दा बढी सुख सुविधा पाउँथें होला वा अहिले पाएजति खुसी नपाउन पनि त सक्थें । किनकी खुसी त ठूलो ओहोदाको आनन्दमा मात्रै लुकेको हुँदैन ।

    मजस्ता थुप्रै छोराछोरीहरूले हजुरआमा, आमा र बुबाहरूले देखाउनुभएका अनेकन सपना समय, योग्यता र परिस्थितिले पूरा नभई सपनाभन्दा भिन्दै जीवन जिउन बाध्य हुनुपर्छ । त्यसलाई बुझ्न नसकेर कतिपयले ठूलो चोटको अनुभूति गरेका हुन सक्छन् । के छोराछोरीले डाक्टर इन्जिनियर बन्नु मात्रै जिन्दगीको सफलता हो र ? एउटा असल शिक्षक बन्नुको सपना  गलत हो ? एउटा सामान्य दोकानदार, सामान्य तहको कर्मचारी वा मेहेनती किसान उसको जीवनको राजकुमार वा राजकुमारी बन्न सक्दैन र ? त्यही सामान्य तह नै उसको असामान्य खुसीको माध्यम बन्न सक्दैन र ?

    समयको चक्र घुमिरहँदो रहेछ । कसैकी छोरी आज म कसैकी आमा पनि भैसकेकी छु । घरमा ६ वर्षीया सानी छोरी छिन् तर म उनलाई मेरो जीवनमा लादिएका जस्तै सपना लाद्न चाहन्न । डाक्टर, इन्जिनियर या चर्चामा रहेका कुनै ठूला सपना देखाउँदिन म । म उनलाई एउटा असल नागरिक बनाउने कोसिस गरिरहेकी छु । उनलाई राम्रो शिक्षासँगै राम्रो संस्कार दिने कोसिस गरिरहेकी छु । मलाई लाग्छ, छोराछोरीलाई सानैदेखि जीवनमा सुखीभन्दा कसरी खुसी हुने भन्ने कुरा सिकाउन जरुरी छ । सुखका लागि ठूला घर, बिल्डिङ्ग, चौरासी व्यञ्जन, गाडी एवं ठूला पदका कुरा आउलान् तर खुसीको लागि एक साँझको रोटी, प्रेम र मुस्कान काफी हुन्छ ।

    भर्खरै एसएलसी पास गरेका विद्यार्थीहरू यहाँ पढ्ने कि त्यहाँ, यो पढ्ने कि त्यो, यसो बन्ने कि उसो भनेर कुदिरहेका छन् । यस्तो बेला विद्यार्थीसँगै अभिभावकहरूका पनि आकांक्षा र सपनामा पखेटा लागेका छन् । अनि छोराछोरी विशिष्ट श्रेणीमा उत्तीर्ण भएका छन् भने त झनै तैंले डाक्टर नै बन्नुपर्छ भनेर दबाब दिइरहेका हुन सक्छन् तर उसको रुचि त्यो या यो भन्दा भिन्न पनि हुन सक्छ । पढ्नेको चाहना एउटा, पढाउनेले राजकुमार–राजकुमारी बनाउने या दिलाउने सपना दिमागमा भरेर कलेज पठाएपछि सपना र क्षमतावीचको तालमेल कसरी हुन सक्ला ?

[email protected]

 Image