कांग्रेस नेतृ स्वर्गीय मंगलादेवी सिंहको स्मृतिमा छात्रावास बन्ने भएको छ । भारतीय दूतावासको सहयोगमा राजधानीको डिल्लीबजारस्थित पद्मकन्या उच्च माध्यमिक विद्यालय हातामा ‘मंगलादेवी सिंह कन्या छात्रावास भवन’ बन्न लागेको हो । कांग्रेस नेता प्रकाशमान सिंह तथा नेपालका लागि भारतीय राजदूत रञ्जित रायले गत महिना भवनको संयुक्त रूपमा शिलान्यास गरे ।
दुर्गम क्षेत्रबाट राजधानी पढ्न आउने दलित, आदिवासी, जनजाति, उपेक्षित, उत्पीडित तथा सहरी क्षेत्रकै कमजोर आर्थिक अवस्था भएका परिवारका छात्राका निम्ति छात्रावासको व्यवस्था गर्न लागिएको हो । उक्त विद्यालय करिब १३ रोपनी क्षेत्रफलमा फैलिएको छ । विद्यालयको पछाडिको भागमा चार तल्ले सुविधा सम्पन्न आवासीय भवन निर्माणका लागि ३ करोड ७० लाख रुपैयाँ खर्च हुनेछ । यो छात्रावास करिब १ सय जना क्षमताको हुनेछ भने १५ महिनाभित्र यसको निर्माण सम्पन्न गरिने बताइएको छ ।